१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o७:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कोशीमा चार महिनापछि मिल्यो मन्त्रालयको भागबन्डा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:४१:oo

कांग्रेस पाँच, माओवादी तीन र एकीकृत समाजवादीलाई एक मन्त्रालय, जसपा तत्काल सरकारमा नजाने

सरकार परिवर्तनको अखडा बनेको कोशीमा सरकार गठनको चार महिनापछि सत्तागठबन्धनमा भागबन्डा मिलेको छ । २७ असोजमा मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले सहमतिसँगै सरकार विस्तारको तयारी थालेका छन् । ‘अब चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ, एक्सरसाइज गरिरहेको छु,’ मुख्यमन्त्री कार्कीले भने ।

नौ मन्त्रालय रहेको कोशीमा कांग्रेसले मुख्यमन्त्रीसहित पाँच, माओवादीले तीन र एकीकृत समाजवादीले एक मन्त्रालय पाउने भएका छन् । हाल कांग्रेसबाट मुख्यमन्त्रीसहित दुई तथा माओवादी र एकीकृत समाजवादीबाट एक–एक मन्त्री छन् । अझै पाँच मन्त्रालय मुख्यमन्त्रीले नै सम्हालिरहेका छन् ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापाका अनुसार अब कांग्रेसले तीन र माओवादीले दुईजना मन्त्री सरकारमा पठाउनुपर्नेछ । एक सांसद रहेको जसपा भने तत्काल सरकारमा नजाने थापाले बताए । ‘अहिलेलाई भागबन्डा टुंगियो, जसपा सरकारमा जाने भएमा त्यहीअनुसार हुन्छ,’ उनले भने, ‘हामी पार्टीको आन्तरिक तयारीमा छौँ । कसलाई कुन मन्त्रालयमा पठाउने छलफल गर्दै छौँ । केही दिनभित्र सरकारले पूर्णता पाउँछ ।’

प्रदेशको नामांकनमा पहिचानको मुद्दा नसमेटिएकाले जसपा तत्काल सरकारमा नजाने जसपाका प्रदेश अध्यक्ष दीपक याक्खाले बताए । ‘प्रदेशको नामको विषयलाई लिएर जनता आन्दोलनमा छन् । पहिचानको मुद्दा समेटिएको छैन । मुख्यमन्त्रीसँग छलफल गर्दा पनि पहिचानको मुद्दा समेटिने विश्वासको वातावरण बनेको छैन,’ उनले भने, ‘यो प्रदेशको अस्थिर राजनीतिले सरकारमा गएर जनताको पक्षमा काम गर्ने अवस्था पनि छैन । तसर्थ अहिले जसपा सरकारमा जाँदैन ।’

गठबन्धनले मंगलबार नै सरकार विस्तारको तयारी गरेको थियो । तर, कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । ‘भागबन्डा टुंगिएको छ । अब मुख्यमन्त्रीज्यूले सरकार विस्तार गर्नुहुन्छ,’ आङ्बोले भने । 

सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले केही प्राविधिक कुराले सरकार विस्तार हुन नसकेको बताए । उनले केही दिनभित्र नै सरकारले पूर्णता पाउने बताए । २७ असोजमा एमालेको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । उनीसँगै कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर मगर मन्त्री बनेका थिए । तर, १७ कात्तिकमा नियुक्त भएका माओवादीका गणेश उप्रेती र कमलप्रसाद जबेगूलाई मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री कार्कीले गठबन्धन दलबाट माओवादी र एकीकृत समाजवादीलाई भित्र्याएपछि एमालेले मगरलाई फिर्ता बोलाएको थियो । मगर २२ दिन विनाविभागीय भएर बिदा भएका थिए । 

अस्थिर राजनीतिका कारण एक वर्षमा कोशीमा पाँचपटक मुख्यमन्त्री परिवर्तन भए । एमालेका हिक्मतकुमार कार्की दुईपटक, कांग्रेसका उद्वव थापा दुईपटक मुख्यमन्त्री बनेका थिए भने पाँचौँपटकमा केदार कार्की सरकारको नेतृत्वमा आइपुगेका छन् । २४ पुसमा राप्रपाका अम्बरबहादुर विष्ट कोशीको सभामुख भएसँगै कोशीमा राजनीतिक अस्थिरता तत्काललाई टरेको छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा सत्तागठबन्धनसँग आवश्यक बहुमत ४७ मात्र थियो । विष्ट सभामुख भएसँगै कोशीमा सत्तागठबन्धनको सहज बहुमत पुगेको थियो ।

ad
ad