१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १५:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरस्वती पूजा नजिकिएसँगै मूर्ति बनाउन भ्याइनभ्याई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:o७:oo

सरस्वती पूजा नजिकिएसँगै रौतहटमा मूर्ति बनाउने कालीगढहरूलाई भ्याइनभ्याई भएको छ। जिल्लाका विभिन्न स्थानमा यति वेला सरस्वतीको मूर्ति बनाउने कालीगढहरू मूर्ति बनाउन व्यस्त छन्।

रौतहटका मूर्तिकारहरू यति वेला विभिन्न साइजका सरस्वतीका मूर्तिहरू बनाउनमा व्यस्त छन्। कतिपयले विद्यालयहरूले दिएको अर्डरअनुसार मूर्ति बनाइरहेका छन् भने कतिपयले आफैँले बनाएर किन्न आउनेलाई मूर्ति बेच्ने गरेका छन्।

माटोका मूर्ति बनाएर जीविकोपार्जन गर्दै आएका रौतहटका पण्डित जातिहरू यति वेला सरस्वतीको मूर्ति बनाउनमा व्यस्त  छन्। माटोको विभिन्न मूर्ति बनाउने कुम्हालेलाई तराई मधेशमा पण्डित पनि भनिन्छ।

यिनै पण्डित समुदायहरू यति वेला सरस्वतीको मूर्ति बनाउनमा व्यस्त रहेका छन्। गौर नगरपालिका वडा नम्बर ४ का ओमप्रकाश पण्डितलाई यति वेला भ्याइनभ्याई छ। उनले जिल्ला सदरमुकाम गौरमा रहेका दुई दर्जन बढी निजी तथा सामुदायिक विद्यालयमा सरस्वती पूजाका लागि राखिने सरस्वतीको मूर्ति बनाउने जिम्मा लिएका कारण उनलाई भ्याइनभ्याई भएको हो।

आफूले गौरमा रहेका निजी तथा सामुदायिक विद्यालयहरूमा सरस्वती पूजाका लागि १५ सय  देखि २० हजारसम्मका मूर्ति बनाउने जिम्मा लिएको बताएका छन्। 

सरस्वती पूजा नजिकिएसँगै आफूहरूको कामको सिजन नजिकिएकाले अहिले काम गर्न भ्याइनभ्याई रहेको पण्डितले बताए। उनी आफूसँगै सहकर्मी रिकेश पण्डित र लखेन्द्र पण्डितसँगै सरस्वतीको मूर्तिलाई आकार दिनमा व्यस्त छन्।

सरस्वती पूजा नजिकिएसँगै आफूहरूको कामको सिजनसमेत रहेकाले राम्रै कमाइ हुने गरेको उनले बताएका छन्। दुर्गा पूजा, सरस्वती पूजा, विश्वकर्मा पूजा, कृष्ण जन्माष्टमी आउनु केही दिनअगाडिबाट रौतहटका स्थानीय पण्डितहरूको सिजन सुरु हुने गरेको छ।

सानो मूर्ति बनाउनका लागि दुई हजार खर्च हुने र ठूलो मूर्ति बनाउनलाई ५ देखि ७ हजार खर्च हुने गरेको उनीहरूले बताएका छन्।

अहिले सरस्वती पूजा भएका कारण मात्र आफूहरूलाई भ्याइनभ्याई भएको जयनगरका स्थानीय मूर्तिकार रामएकवाल पण्डितले बताए। मूर्ति पूजा गर्ने चाडबाडका वेला मात्र आफूहरूको काम हुने गरेको र अन्य वेला त्यत्तिकै बस्नुपरेको रामएकवाल पण्डितको भनाइ छ।  

यति वेला हरेक विद्यालयहरूले सरस्वती पूजाका लागि मूर्ति बनाउन अर्डर दिने गरेकाले पनि उनीहरूको व्यस्तता बढेको हो। अन्य वेला घरगृहस्थीको काम गर्ने र मूर्ति बनाउने सिजनमा मात्र आफूले काम गरेर राम्रै आम्दानी गरेको रामएकवाल पण्डितको भनाइ छ।

 

ad
ad