मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ १६ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o माघ १६ मंगलबार १९:o२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

इप्पान र प्राधिकरण एकै परिवारका सदस्य, सरकारी मानसिकताबाट माथि उठेर काम गर्छौँ : निर्देशक ढकाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ १६ मंगलबार १९:o२:oo

नेपाल विद्युत् प्राधिकरण, विद्युत् व्यापार विभागका नवनियुक्त निर्देशक राजन ढकालले ऊर्जा उत्पादक र वितरक एकै परिवारका सदस्य भएकाले एकअर्कालाई विश्वास गरेर अघि बढ्नुपर्ने बताएका छन्।

मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरूसँगको भेटमा निर्देशक ढकालले कुल विद्युत् उत्पादनमा ६० प्रतिशतभन्दा बढी योगदान रहेको इप्पान र नेपाल विद्युत् प्राधिकरण (एनइए) एकै परिवारका सदस्य भएको बताए।

इप्पान र एनइए एक्लै हिँड्दा कोही पनि गन्तव्यमा पुग्न नसक्ने भएकाले टिमवर्कमा काम गर्नुपर्ने र त्यसका लागि आफ्नो टिम ‘सरकारी काम’ भन्ने मानसिकताबाट माथि उठेर निजी क्षेत्रकै शैलीमा काम गर्न तयार रहेको बताए।

उक्त भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले पछिल्लो समय आर्थिक सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्न नसक्दा पिपिए भएका धेरै आयोजनाको वित्तीय व्यवस्थापन हुन नसकेको र वित्तीय व्यवस्थापन भएका कतिपय आयोजनाले समेत काम अघि बढाउन नसकेकोले विद्युत् उत्पादन गर्नुपर्ने मिति थप गर्नका लागि पहलकदमी लिइदिन आग्रह गरे।

सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएकाले विभागलाई यो परिमाणको विद्युत् खरिद-बिक्री सम्झौता (पिपिए) गर्ने अवसर भएको पनि कार्कीले बताए।

इप्पानका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युत् व्यापार विभागबाट निजी क्षेत्रलाई सहज हुने वातावरण बनाएर काम गर्न आग्रह गरे। इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले निजी क्षेत्रका ऊर्जा उत्पादक र विद्युत् व्यापार विभागको सम्बन्ध नङ र मासुजस्तै हुनुपर्ने बताए।

यसैगरी, इप्पानका महासचिव बलराम खतिवडाले निजी क्षेत्रले पिपिएका लागि आवेदन दिएका १२ हजार मेगावाट क्षमताका सबै आयोजनाको पिपिए ढकालकै कार्यकालमा हुनेमा विश्वस्त रहेको बताए। इप्पानका उपमहासचिव प्रकाश दुलालले सरकारी कर्मचारी भए पनि निजी क्षेत्रकै शैलीमा काम गर्ने जुझारूपन ढकालमा भएको भन्दै विद्युत् व्यापार विभागमा पनि सोही शैलीमा काम हुनेमा आशावादी रहेको बताए।