१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका डडेल्धुरा
२o८१ बैशाख २२ शनिबार १o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

परशुराम नगरपालिकाले विद्यार्थीलाई विनाब्याज पाँच लाख ऋण दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, डडेल्धुरा
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:४१:oo

३१ वर्षको उमेरमै परशुराम नगरपालिकाको मेयरमा निर्वाचित भएपछि भरत बडायर जोशीसँग जनताका जति अपेक्षा थिए, त्यति नै उनीमाथि आशंका पनि थियो । ०७९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट विजयी भएका उनले त्रिचन्द्र कलेजबाट फिजिक्समा स्नातक र चीनबाट एड्मोस्फेरिक फिजिक्समा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । ३१ वर्षमै मेयरमा निर्वाचित भएपछि उनी सुदूरपश्चिममा ‘कान्छा मेयर’ भनेर पनि चिनिन्छन् । 

मेयर जोशीले युवा पलायन रोक्ने योजना ल्याएका छन् । पछिल्लो समय अध्ययनकै लागि पनि युवाहरू विदेश पलायन हुने क्रम बढेपछि परशुराम नगरपालिकाले विद्यार्थीलाई अध्ययनका लागि विनाब्याज ऋण दिने योजना ल्याएको छ । ‘आर्थिक समस्याका कारण यहाँका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा निकै समस्या भइरहेको छ,’ जोशीले भने, ‘उक्त समस्या समाधानका लागि विद्यार्थीले विनाब्याज पाँच लाख ऋण दिने योजना ल्याएका छौँ । ऋण पाउन विद्यार्थीले एसइई वा कक्षा १२ सम्म अध्ययन गरेको शैक्षिक प्रमाणपत्र धितो राख्नुपर्नेछ ।’

विद्यार्थीलाई विनाब्याज पाँच लाख ऋण दिने योजनाले युवा पलायनको समस्या निराकरण गर्न टेवा पुग्ने जोशीले दाबी गरे । ‘आर्थिक समस्या भएपछि अध्ययनसँगै केही आम्दानी पनि होला भनेर अहिले अधिकांश युवाको रोजाइमा उच्च शिक्षा अध्ययनका लागि विदेश परेको छ,’ उनले भने, ‘अब नगरपालिकाले नै विनाधितो ऋण दिने भएपछि युवाहरू विदेश जान छोड्नेछन् भन्ने अपेक्षा छ ।’ मेयर जोशीले नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने जेहेनदार र आर्थिक अभावमा उच्च शिक्षा अध्ययन गर्न कठिनाइ भोगिरहेका विद्यार्थीलाई पनि राहत हुने बताए । 

ad
ad