
राष्ट्रिय सभाका १९ सिटका लागि आज मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार आगामी २० फागुनमा रिक्त हुने २० मध्ये १९ सिटका लागि आज निर्वाचन हुन लागेको हो । आयोगका अनुसार १९ सिटका लागि ५१ जनाको उम्मेदवारी छ । एक सिटमा भने राष्ट्रपतिले मनोनीत गर्नेछन् ।
निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको र मतदानका लागि बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म समय तय भएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनले निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सबैसँग आयोगले आग्रह गरेको बताए ।
निर्वाचनमा कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा, एकीकृत समाजवादी, जनमत र नेमकिपा गरी आठ दलबाट ५१ उम्मेदवार मैदानमा छन् । निर्वाचनमा सत्तारूढ दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले गठबन्धन गरेका छन् । त्यस्तै, एमाले र राप्रपाले पनि सहकार्यको सहमति गरेका छन् । अन्य दल एक्ला–एक्लै प्रतिस्पर्धामा छन् ।
निर्वाचनमा प्रदेश सभाका पाँच सय ४९ सांसद र एक हजार चार सय ९८ पालिका प्रमुख–उपप्रमुखले मतदान गर्दै छन् । निर्वाचन आयोगले एक प्रदेश सांसदबराबर ५३ र पालिकाको एक जनप्रतिनिधिबराबर १९ मतभार कायम गरेको छ । आयोगको तथ्यांकअनुसार निर्वाचनमा कुल मतभार ५७ हजार पाँच सय ५९ छ । मतभारमा सातै प्रदेशमा सत्तागठबन्धन अगाडि छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र पालिका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । एक प्रदेश सांसदबराबर ५३ मतभार र पालिकाको एक जनप्रतिनिधिको मतभार १९ हुन्छ । यस हिसाबले पाँच सय ५० प्रदेश सांसद र एक हजार पाँच सय ६ पालिका प्रमुख–उपप्रमुखको मतभार ५७ हजार सात सय ६४ हुन आउँछ ।
तर, मृत्यु भएर पद रिक्त भएका तथा निलम्बनका कारण मतदानमा सहभागी हुन नसक्ने एक प्रदेश सांसद र आठ पालिकाका जनप्रतिनिधि छन् । उनीहरूको मतभार घटाउँदा निर्वाचनमा ५७ हजार पाँच सय ५९ मतभार कायम हुने आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता पौडेलका अनुसार कोशीमा १० हजार एक सय ३५, मधेशमा १० हजार सात सय ४४, बागमतीमा १० हजार तीन सय ३३, गण्डकीमा ६ हजार चार सय १०, लुम्बिनीमा आठ हजार सात सय ५३, कर्णालीमा पाँच हजार ८४, सुदूरपश्चिममा ६ हजार एक सय मतभार छ । प्रत्येक प्रदेशमा दुई मतदान केन्द्र गरी १४ मतदान केन्द्र कायम भएका छन् ।
निर्वाचनमा प्रदेश सभा सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको निर्वाचन चिह्नसहितको र पालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको निर्वाचन चिह्न रहेको मतपत्र छ ।
०७४ माघमा निर्वाचित भएर गोलाप्रथाबाट ६ वर्षे कार्यकाल प्राप्त गरेका सांसदको पदावधि सकिन लागेको हो । कोशीमा महिला र अन्य क्लस्टरमा एक–एक, मधेशमा पनि महिला र अन्यमा एक–एक, बागमतीमा महिला, दलित, अल्पसंख्यक र अन्य क्लस्टरमा एक–एक गरी चार, गण्डकीमा महिला, अल्पसंख्यक र अन्यमा एक–एक गरी तीन, लुम्बिनीमा महिला र अन्यमा एक–एक गरी दुई, कर्णालीमा महिला, दलित र अन्यमा एक–एक गरी तीन तथा सुदूरपश्चिममा महिला, अल्पसंख्यक र अन्यमा एक–एक गरी तीन सिटका लागि निर्वाचन हुँदै छ ।
आयोग प्रवक्ता पौडेलका अनुसार आठ दलबाट सातै प्रदेशमा महिला समूहतर्फ १८, दलिततर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० उम्मेदवार छन् ।
मतदाता र मतभार कति ?
निर्वाचनमा प्रदेश सभाका पाँच सय ४९ सांसद र एक हजार चार सय ९८ पालिका प्रमुख–उपप्रमुखले मतदान गर्दै छन् । निर्वाचन आयोगले एक प्रदेश सांसदबराबर ५३ र पालिकाको एक जनप्रतिनिधिबराबर १९ मतभार कायम गरेको छ । आयोगको तथ्यांकअनुसार निर्वाचनमा कुल मतभार ५७ हजार पाँच सय ५९ छ । तर, मृत्यु भएर पद रिक्त भएका तथा निलम्बनका कारण मतदानमा सहभागी हुन नसक्ने एक प्रदेश सांसद र आठ पालिकाका जनप्रतिनिधि मतदाता छैनन् ।
भिन्नाभिन्नै मतपत्र
प्रदेश सभा सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको निर्वाचन चिह्नसहितको र पालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको निर्वाचन चिह्न रहेको मतपत्र छ ।
मौन अवधिमा चियापानबारे आयोगले सोध्यो स्पष्टीकरण
मौन अवधि जारी रहेको समयमा बुधबार कांग्रेस नेता डा. शेखर कोइरालाले विराटनगरमा चियापान आयोजना गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको छ । मौन अवधिमा कुनै पनि आधारमा मत माग्न र मतदाता प्रभावित गर्न नपाउने व्यवस्थाविपरीत चियापान कार्यक्रम आयोजना गरेको सूचनाका आधारमा स्पष्टीकरण मागेको आयोगले जनाएको छ । ‘मौन अवधिमा पालना गर्नुपर्ने आचरणविपरीत विराटनगरमा राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट प्राप्त भएकाले २४ घन्टाभित्र आयोगमा प्रतिवेदन पेस गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरेको हो,’ आयोग प्रवक्ता पौडेलले भने । आयोगले सोमबार राति १२ बजेबाट निर्वाचन सम्पन्न नभएसम्मका लागि मौन अवधि लागू गरेको थियो । तर, बुधबार कोइरालाले कोशीबाट कांग्रेसका उम्मेदवार कृष्ण सिटौलासहित कांग्रेस पदाधिकारीलाई सहभागी गराएर चियापान आयोजना गरेका थिए ।
को–को सांसद बिदा हुँदै छन् ?
पदावधि सकिन लागेका २० सांसद ०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेका हुन् । एमालेका आठ, कांग्रेसका चार, माओवादी तीन, एकीकृत समाजवादी दुई, जसपा एक र स्वतन्त्र दुई गरी अध्यक्षसहित २० जनाको कार्यकाल सकिँदै छ । जसमा एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती), इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, नरपति लुहार र रामचन्द्र राई छन् ।
कांग्रेसबाट संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थ र जितेन्द्रनारायण देव छन् । त्यस्तै, माओवादीबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, एकीकृत समाजवादीबाट भौतिक योजना राज्यमन्त्री नन्दा चपाईं तथा सिंहबहादुर विश्वकर्मा र जसपाबाट शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादवको पनि पद रिक्त हुँदै छ । राष्ट्रपतिबाट मनोनीत एमालेकी विमला राई पौड्याल र स्वतन्त्र सदस्य खिमलाल देवकोटाको पनि कार्यकाल सकिँदै छ ।