१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

किन बाहिरियो मधेश प्रदेश सरकारबाट जनमत?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:५५:oo

सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना दुई मन्त्री फिर्ता बोलाएको छ। 

जनमतको प्रदेश संसदीय दलको बैठकले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय लिएको हो। जनमतका प्रवक्ता शरदसिंह यादवका अनुसार दुई कारणले पार्टीले जसपाका सरोजकुमार यादव मुख्यमन्त्री रहेकाे सरकारबाट बाहिरिने निर्णय गरेको हो।

पहिलो– सत्तागठबन्धनमा भएको सहमतिको उल्लंघन र दोस्रो– मधेशका मुख्यमन्त्रीले शासकीय दम्भ देखाउँदै मधेश कृषि विश्वविद्यालयको शिलान्यासमा जनमतका मन्त्री तथा सांसदमाथि कुटपिट।

‘सत्तागठबन्धनमा जसपाले सुरुको एक वर्ष र त्यसपछि क्रमशः जनमतले एक वर्ष, कांग्रेसले दुई वर्ष मधेश प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। तर, जसपाले त्यसको उल्लंघन गर्दै सरकार चलाइरहेको छ,’ प्रवक्ता यादवले नयाँ पत्रिकासँग भने, ‘ त्यसमाथि हाम्रो विरोधका बाबजुद पनि सोमबार मधेश प्रदेशका मुख्यमन्त्रीले सप्तरीको राजविराजमा रहेको मधेश कृषि विश्वविद्यालयको शिलान्यास आफ्नो पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएर गराउनुभयो।’

सो कार्यको विरोध गर्दा सडकमा सेना उतारेर आफ्ना पार्टीका सांसदहरूमाथि लाठी चार्ज गरी मन्त्रीको समेत टाउको फुटाइएकाे उनले बताए।

‘जसपा नेतृत्वको सरकारले गैरकानुनी रूपमा देखाएको यो दम्भपछि हामी सरकारमा बसिरहन उचित भएन। त्यसैले, सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने निर्णय गरेका हौँ,’ प्रवक्ता यादवले भने।

जनमतका सचिव बिपी साहले सरकारको दमन र भ्रष्टाचारविरुद्ध अब आन्दोलन थाल्ने तयारी रहेको बताए।

‘जसपा नेतृत्वको मधेश सरकारले मधेशी जनतामाथि गरेको क्रूर दमन र अत्याचार, सीमान्तकृत र दलितमाथि गरेको विभेद, दर्जनौँ काण्डमा गरेको चरम भ्रष्टाचार र मधेशमा लादेको जंगलराज र गुण्डाराजको विरोधमा हामीले समर्थन फिर्ता लिने निर्णय गरेका हौँ। अब दमन र भ्रष्टाचारविरुद्ध आन्दोलन थाल्छौँ,’ साहले भने।

ad
ad