अजित मिजारको हत्याविरुद्ध क्रान्तिकारी दलित राजनीतिक संगठनहरूले पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
एकीकृत दलित मुक्ति मोर्चा नेपाल, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्चले मंगलबार काठमाडौमा संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।
अन्तरजातीय विवाह गर्दा असार ०७३ मा मारिएका काभ्रेका अजितको शव अझै टिचिङ अस्पतालमा छ। तर, अझै उनको परिवारले न्याय र दोषीले सजाय पाउन सकेका छैनन्। सोही सन्दर्भमा क्रान्तिकारी दलित राजनीतिक संगठनहरूले संयुक्त रूपमा आन्दोलन गर्न लागेका हुन्।
यसअघि उनीहरूले माघ ६ गते मिजारको न्यायको लागि संघर्षरत कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए। पहिलो चरणमा माघ १५ गते अन्तर्क्रिया कार्यक्रम गर्ने उनीहरूको योजना छ। त्यसपछि माघ २० देखि २५ गतेभित्र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र माघ ३० गते प्रदर्शन गर्ने उनीहरूको घोषणा छ।
दोस्रो चरणको आन्दोलन भने माघ ३० गते सार्वजनिक गर्ने जात व्यवस्था उन्मूलन माेर्चा नेपालकी अध्यक्षमण्डल सदस्य शान्ति गजमेरले जानकारी दिइन्।
अजित मिजारको मुद्दा दोहोर्याई पाऊँ भनेर सर्वोच्चमा परेको निवेदनमा आगामी फागुन पहिलो साता पेसी तोकिएको छ। सोही सन्दर्भमा अजित मिजारको न्यायका लागि आन्दोलनका कार्यक्रम घोषणा गरिएको हो। यसका अलावा दलित अधिकारकर्मीहरूले पनि अजित मिजारको न्यायका लागि आन्दोलन गर्ने तयारी गरेका छन्।
जात व्यवस्थामा आधारित न्यायालय, स्वास्थ्य क्षेत्र र प्रशासनिक क्षेत्रहरूमा एकात्मक ब्राह्मणवादी चिन्तन र प्रवृत्तिका कारण अजित मिजारको परिवारले न्याय पाउन नसकेको गजमेरले बताइन्।