मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सुवास भट्ट
२०७५ माघ १५ मंगलबार ०७:१७:००
Read Time : > 3 मिनेट
समाचार

अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमा

प्रहरीको मिलेमतोमा सनाखत नगरी गाडियो लास, परिवारले निकाले

Read Time : > 3 मिनेट
सुवास भट्ट
२०७५ माघ १५ मंगलबार ०७:१७:००

काभ्रे पाँचखाल– ६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए । स्थानीय एक युवतीसँग उनको प्रेम गाँसियो । २ वर्षको प्रेमलाई उनीहरूले २५ असार ०७३ मा बिहेमा बदले । तर, समाजको डरले उनीहरू अजितकी दिदीको भक्तपुरस्थित घरमा बसे । 

बिहेको २ दिनपछि युवतीले ‘माइती’लाई जानकारी दिएकी थिइन् । माइती पक्षले ज्यान मार्ने धम्की दिएको अजितको परिवारको दाबी छ । त्यसपछि प्रहरीकै रोहवरमा सम्बन्धविच्छेद गराइयो । २८ असारमा सम्बन्धविच्छेद भयो । अर्को दिन अजित बेपत्ता भए । छोरा हराएको भन्दै परिवारले प्रहरीमा उजुरी गरेको थियो । दिउँसो १ बजेदेखि सम्पर्कविहीन भएका उनले राति ८ बजे घरमा फोन गरेका थिए । उनको स्वर अत्तालिएको थियो । त्यसपछि सम्पर्क हुन सकेन । 

भोलिपल्ट ३० असारमा धादिङको कुलपुर गाविसको परेवाटारमा झुन्डिएको अवस्थामा एक युवक फेला परे । दुई दिनसम्म पनि मृतकको सनाखत हुन नसकेपछि पोस्टमार्टम गरेको भन्दै प्रहरीले धादिङमै लास गाड्यो, यसको जानकारी मिजार परिवारले पायो । शंका लागेर उनीहरू काभ्रेको पाँचखालबाट धादिङको परेवाटार पुगे । उनीहरू घटनास्थल पुग्दा लास गाडिसकिएको थियो । परिवारका सदस्यले खाल्डोबाट लास निकाले । लास अजितकै थियो । 

प्रहरीले पोस्टमार्टमसमेत गरेको भनेको थियो । तर, मृतकको शरीरमा कहीँ–कतै चिरफार गरेको भेटिएन । आफन्तले गाडिएको लास पुनः उत्खनन गरी काठमाडौंस्थित शिक्षण अस्पताल ल्याए । उनको लास अझै अस्पतालमा छ । 

मिजार परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले युवतीका माइतीपक्षका चार जनालाई पक्राउ ग¥यो । तर, जिल्ला अदालतले तारेखमा छाड्यो । यसरी काभ्रेका युवालाई धादिङमा लगेर मारिएको र पोस्टमार्टम पनि नगरी हतार हतार गाडिएको स्पष्ट हुंदाहुंदै पनि कुनै कारबाही नभएकोमा मिजार परिवार आक्रोशित छ । दोषीलाई कारबाही नभएसम्म हामीले शब नउठाउने अडान लिएका छन् ।

पोस्टमार्टम रिर्पोट नै गलत बनाएर प्रहरीले दोषी उम्काउन खोजेको ठहर व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समिति अन्र्तगतको उपसमितिले गरेको थियो । गजुरी प्रहरी र गजुरी स्वास्थ्य चौकीले युवतीको माइती पक्षको परिवारको प्रलोभनमा परेर मिजारले आत्महत्या गरेको रिर्पोट बनाएको ठहर उपसमितिले गरेको थियो । तर यो विषय आफैँ अलपत्र परेको छ । 

दलित महिलासँग बिहे अस्वीकार तर एक्लै भेटे सामूहिक बलात्कार
सामूहिक बलात्कारपछि हत्या गरिएकी माया विकका बाबु हर्कबहादुर भन्छन्– बलात्कारीले सजाय नपाएसम्म सरकारको राहत लिन्नँ मेरो नाम हर्कबहादुर विक हो । कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाको जडैकटानमा हाम्रो परिवार बस्छ । छोराछोरी र नातिनातिनासहित सातजनाको परिवार थियो । भारतको पुनेमा ग्यारेजको काम गर्दागर्दै म बिरामी परेँ । थाइराइडले थलिएपछि काम गर्न सकिनँ । मलाई घरमा राखेर श्रीमती कमाउन कुवेत गइन् । म केटाकेटीको हेरचाह गर्दै घरमा थिएँ । 

नगरपालिकाले डाटा संकलन गर्ने मान्छे खोजेको रहेछ । १९ वर्षकी माया १२ कक्षामा पढ्दै थिई । उसले नगरपालिकामा काम पाई । घरधुरी, मान्छे र तिनको जग्गाजमिनको डाटा संकलन गर्ने काम गर्नुपथ्र्यो । डाटा संकलन गरेको एक घरबराबर १० रुपैयाँ दिने भनिएको थियो । काम सुरु गरेको ६–७ दिन मात्रै भएको थियो । ११ साउन बिहान त्यही डाटा संकलन गर्ने काममा जान्छु भनेर घरबाट निस्केकी थिई । तर, साँझसम्म फर्किन । फोन गर्दा अफ थियो । मामाघर गएकी होली भन्ने लाग्यो । तर, उता फोन गर्दा पनि आएकी छैन भन्ने खबर आयो ।  रातभरि हामी छटपटियौँ । तर, उपाय केही थिएन । अर्को बिहान धेरै आफन्तकोमा खोजखबर गर्‍यौँ । तर, पत्ता लाग्न सकेन । तेस्रो दिन मसुरिया प्रहरी चौकीमा उजुरी गर्‍यौँ । त्यतिवेलासम्म पनि केही संकेत पाइएन । चौथो दिन हाम्रै गाउँको मान्छेले साइकल भेटेछ । हामीले साइकल चिन्यौँ । उसैलाई समातेर साइकल भेटिएको ठाउँ पुग्यौँ । त्यही ठाउँमा खोज्दा बाटोभन्दा करिब दुई सय मिटर पर छोरीको लास भेटियो । 

डाटा संकलनको काम गर्नेमा जडैकटानबाट मेरी छोरी थिई । ऊसँगै उमेश चौधरी र गणेश बडुवालले पनि काम पाएका थिए । त्यस्तै अरू साथीहरू मनोज बोगटी, भुवन खाती र टपेन्द्र बोगटी पनि मिलेर मेरी छोरीलाई जबर्जस्ती गरेर हत्या गरेछन् । उनीहरूलाई प्रहरीले पक्राउ त गरेको छ । तर, सजाय तोकिने हो कि होइन निश्चित छैन । सरकारले राहतका लागि पाँच लाख दिन्छु भनेको छ । अपराधीले सजाय नपाएसम्म पैसा लिन्नँ ।

पानी छोएको निहुँमा जनप्रतिनिधिको हत्या
गत जेठमा कालिकोटको नरहरिनाथ गाउँपालिका– ९ की वडा सदस्य मना सार्कीको कुटपिट गरी हत्या भयो । नेकपाबाट वडा सदस्यमा निर्वाचित उनलाई धारामा पानी लिन जाँदा स्थानीय राजिन्द्रा शाही र सिर्जना शाहीले कुटपिट गरे । पानी छोएको निहुँमा उनीमाथि कुटपिट भएको थियो । घटना भएकै दिन उनको निधन भयो । 

छिमेकी तिलागुफा नगरपालिकाकी उपमेयर दर्शना नेपालीका अनुसार अहिलेसम्म उक्त घटनाको छिनोफानो भएको छैन । उनका अनुसार उक्त घटनाका आरोपित हिरासतमा छन् भने ९ महिनासम्म साक्षीहरूसँग बयान लिने मात्र काम भइरहेको छ । 

गाउँपालिकामा भत्ता लिन आएका  दलितले पानी छोएको भन्दै जनप्रतिनिधिले कुटे
सर्लाहीको विष्णु गाउँपालिका– २ का अजय राम गत २७ साउनमा वडा कार्यालय गएका थिए । आफ्नो चार वर्षीय छोराको पोषण भत्ता लिन उनी वडा कार्यालय पुग्दा उकुसमुकुस गर्मी थियो । कार्यालयमै एउटा टेबुलमा पानीको जग थियो । अजय रामले पानी खान खोजे । तर, दलितले पानी छोएको देखेर आक्रोशित भएका वडाध्यक्ष सञ्जय शाह दुव्र्यवहारमा उत्रिए । उनले कार्यालयमा अजयलाई कुटपिट गरेपछि घाँटी समाएर गलहत्याउँदै कार्यालयबाट निकालेका थिए । 

अन्यायमा परेका अजयले उजुरी दिन खोज्दा प्रहरीले लिन मानेन । एक महिनासम्म पनि प्रहरीले दोषीमाथि कुनै कारबाही नगरेपछि पीडितले राजनीतिक दल र सामाजिक कार्यकर्तालाई गुहारेका थिए । उनलाई न्याय दिलाउन गठन भएको संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेको थियो । तब मात्र घटनाप्रति चासो देखाउँदै प्रमुख जिल्ला अधिकारीले कारबाही गर्ने आश्वासन दिएका छन्, तर वडाध्यक्ष होइन, कार्यालय सहयोगीविरुद्ध मात्र उजुरी दर्ता भएको छ ।