१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
जेरेमी कोर्बिन
२o८१ जेठ ५ शनिबार १o:३७:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

दक्षिण अफ्रिकालाई धन्यवाद

Read Time : > 2 मिनेट
जेरेमी कोर्बिन
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:३७:oo

अन्तर्राष्ट्रिय न्यायालयमा वकिल ब्लिन नि घ्रलाईले ‘गाजामा कुनै पनि ठाउँ सुरक्षित छैन र विश्व यसबाट लज्जित हुनुपर्छ’ भन्दै टुंग्याएको बयानलाई म सदैव सम्झिनेछु । हाम्रा टेलिभिजनका स्क्रिनमा लाखौँ मानिसले व्यहोरिरहेको त्रासदीलाई पूर्ण प्रमाणसहित नि घ्रलाईले अभिव्यक्त गरेकी छिन् । 

‘यो विश्वकै पहिलो नरसंहार हो, जहाँ हतास मानसिकता एवं झिनो आशा बोकेर पीडितले विश्व मद्दतका लागि अघि सर्ला कि भनेर आफूमाथि बर्सिइरहेको कहरको आफैँले प्रसारण गरिरहेका छन्’ भन्दै दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरिरहेकी आइरिस वकिल घ्रलाईले प्यालेस्टाइनका जनतालाई समर्थन गरेकी थिइन् ।

आइरिस एवं दक्षिण अफ्रिकाका जनताका लागि अतिक्रमित भूमिका मानिसप्रतिको सहानुभूति हुनु स्वाभाविक हो । यस अर्थमा दक्षिण अफ्रिकाले ‘इजरायलको २५ वर्षको अपर्थाइड (राज्य संरक्षित नश्लभेद), ५६ वर्षको अतिक्रमण र गाजा क्षेत्रमा १६ वर्षदेखिको नियन्त्रण’का विस्तृत सन्दर्भमा इजरायलले गरिरहेको गतिविधिविरुद्ध मुद्दा चलाउनु अस्वाभाविक होइन । दक्षिण अफ्रिकाले सामान्य तर यो मुलुक (बेलायत) का नेताले उच्चारण गर्न नचाहेको कुरा व्यक्त गरेको सुन्न पाउनु उल्लेखनीय ढंगले स्वस्फुर्तिदायक लागेको छ । अपर्थाइड व्यहोरेका र त्यसलाई विघटन गर्न सफल जनताको नेतृत्वमा भइरहेको सुनुवाइले अभूतपूर्व अन्तर्राष्ट्रिय ऐक्यबद्धता झल्काइरहनेछ । हो, त्यसैवेला हाम्रो राजनीतिक व्यवस्थाको खोक्रोपन पनि उजागर हुँदै जानेछ । 

ऐक्यबद्धता दिनानुदिन बढिरहेको छ । दक्षिण अफ्रिकाले दायर गरेको मुद्दाप्रति बोलिभिया, ब्राजिल, कोलम्बियाजस्ता मुलुक एवं अन्तरदेशीय संस्था अरब लिगले पनि समर्थन जनाएका छन् । बेलायतका राजनीतिज्ञले चाहे जतिसुकै अस्वीकार्यता व्यक्त गरून्, तर विश्वभरका लाखौँ मानिस नरसंहारको अन्त्य भएको देख्न चाहन्छन् र न्याय एवं शान्तिका लागि हुने प्रयासलाई समर्थन गरिरहनेछन् । बिहानको ६ बजेको चिसोमा अन्तर्राष्ट्रिय न्यायालय प्रवेश पाउन हामी पंक्तिबद्ध थियौँ । लिग अफ नेसन्सले पहिलो विश्वयुद्धपछि शान्ति एवं न्यायका लागि हेगमा अन्तर्राष्ट्रिय न्यायालय स्थापना गरेको थियो । न्यायालयको भवन निकै सुन्दर छ । र, न्यायालय भवनबाहिर गाजा र वेस्ट बेंकमा आफन्त गुमाएका प्यालेस्टिनी जनता न्यायको प्रतीक्षा गरिरहेका थिए ।

यदि अन्तर्राष्ट्रिय न्यायालयले साँच्चै न्याय दियो भने यसले दक्षिण अफ्रिकाको मुद्दालाई उचित मान्यता दिनेछ

दक्षिण अफ्रिकाले नरसंहार अभिसन्धिअन्तर्गत इजरायलविरुद्ध मुद्दा दायर गरेको छ । सुनुवाइमा सबैले देख्ने गरी नृशंसता बयान गरिएको थियो । दक्षिण अफ्रिकाले पेस गरेका दलिल उत्कृष्ट थिए र यसका लागि दक्षिण अफ्रिकालाई धन्यवाद दिनैपर्छ । दुःखको कुरो हाम्रा अधिकांश मिडियाले दक्षिण अफ्रिकाका दलिललाई प्रसारण गर्न आवश्यक नै ठानेनन् । बिबिसीले दक्षिण अफ्रिकाको दलिल प्रसारण गरेन, तर भोलिपल्ट इजरायली दलिलको प्रत्यक्ष प्रसारण गरेको थियो । यस मामिलामा अल जजिरालाई धन्यवाद दिनुपर्छ, किनभने अल जजिराले सुनुवाइको प्रत्यक्ष प्रसारण गरेको थियो । यति मात्रै नभई अल जजिराले आफ्ना पत्रकार सदस्य गुमाएर भए पनि युद्धको निरन्तर एवं सटिक समाचार उपलब्ध गराइरहेको पनि छ । 

दक्षिण अफ्रिकाले नरसंहार अभिसन्धि सबै मानिसको रक्षा गर्न बनेको हो भन्ने जनाउँदै इजरायलले गाजाका आमजनताको जीवनका मामिलामा नियतवश एवं प्रणालीगत रूपमा अभिसन्धि उल्लंघन गरेको बताएको छ । दक्षिण अफ्रिकाले सुनुवाइमा नेतन्याहु र अन्य इजरायली नेताको अभिव्यक्ति उल्लेख गरेको छ, यी नेताहरूले गाजाको जनसंख्या कम्तीमा ९० प्रतिशतले घटाउने दाबी गरेका थिए । दक्षिण अफ्रिकाले प्यालेस्टिनी जनताको अभिव्यक्ति बोलेको छ । यो युद्ध समान पक्षबीच भइरहेको छैन, बरु युद्ध प्यालेस्टिनी जनताको सफायाका लागि भइरहेको छ । 

दक्षिण अफ्रिका इतिहासको सत्य पक्षमा मात्रै नभई इतिहास पनि बदल्ने कोसिस गरिरहेको छ । यदि अन्तर्राष्ट्रिय न्यायालयले साँच्चै न्याय दिन्छ भने यसले दक्षिण अफ्रिकाको मुद्दालाई उचित मान्यता दिनेछ । न्यायालयले बमबारीलाई गलत, गैरकानुनी र प्यालेस्टिनी जनतामाथिको सामूहिक दण्ड हो भनेर स्विकार्नेछ । र, अन्ततः न्यायालयले इजरायलको गतिविधि नरसंहार हो भनेर घोषणा गर्नेछ ।    

तर, यसबीच दक्षिण अफ्रिकाले अन्तरिम राहतको माग गरेको छ, अर्थात् यथाशक्य चाँडो कार्यन्वयन हुने गरी युद्धविरामको माग गरेको छ । वास्तवमा यो माग आमजनताको जीवनरक्षा चाहने सबै मुलुकको हुनुपर्ने हो । लज्जाको कुरो यस्तो माग राख्ने नेता अमेरिका र बेलायतको राजनीतिक प्रणालीले निकै कम संख्यामा चुनेको छ । न्याय एवं शान्तिपूर्ण भविष्यको बाटो कोर्न सबै पक्षले युद्धविरामको माग राख्नुको विकल्प छैन ।

युद्धविरामको माग प्यालेस्टिनी जनताको हो, न कि प्यालेस्टिनी जनतालाई समर्थन गर्नेको हो । ऐक्यबद्धतामा यसो वा उसो गर भन्ने अख्तियारी हुँदैन । सुनुवाइ सकिएपछि कटकटाउँदो चिसोमा वकिलको उत्कृष्ट टोलीले न्यायालयको खुड्किलोमा पत्रकारको ठूलो समूहबाट प्रश्न लिइरहेका थिए । म त्यहाँ प्रोग्रेसिभ इन्टरनेसनलका तर्फबाट पुगेको थिएँ । हामीले अगाडि सडकमा मिडिया कार्यक्रम राखेका थियौँ । हामीले विश्वभरका आमजनताको लोकप्रिय आवाज शान्ति भएको दोहो¥यायौँ र प्यालेस्टिनी जनताले न्याय नपाउन्जेल अभियान चलाउने बतायौँ ।

‘हामीले सक्नेजति गर्‍यौँ । हामीलाई सम्झिनुहोस्’ भनेकी नि घ्रलाईले आफ्नो बयान सक्ने क्रममा गाजाको अस्पतालको ह्वाइटबोर्डका दुई फोटो सार्वजनिक गरेकी थिइन् । पहिलो फोटोमा ह्वाइटबोर्डमा चिकित्सकको सन्देश थियो भने दोस्रो फोटो सोही ह्वाइटबोर्डको थियो, इजरायली क्षेप्यास्त्रले क्षतिग्रस्त थियो, ह्वाइटबोर्डमा सो सन्देश लेख्ने चिकित्सक मारिएका थिए । दसौँ लाख मानिस गाजामा प्रत्यक्ष रूपमा भइरहेको मानवीय जीवनको क्षतिलाई लिएर स्तब्ध छन् । प्यालेस्टिनी र इजरायलीलाई बराबर हैसियतमा हेर्न नमान्नेलाई इतिहासले बिर्सनेछैन । तर, यति भन्दै गर्दा शान्तिपूर्ण विश्वका लागि अभियान चलाउने मानिसलाई पनि इतिहासले सम्झिनेछ ।
(कोर्बिन बेलायतको लेबर पार्टीका नेता हुन्) ट्रिब्युनबाट

ad
ad