Skip This
पाकिस्तानले निर्वाचनका लागि हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o माघ २ मंगलबार १९:५९:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानले निर्वाचनका लागि हजारौँ सुरक्षाकर्मी परिचालन गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २ मंगलबार १९:५९:oo

विवादास्पद निर्वाचनअघि बढ्दो उग्रवादसँग लडिरहेको पाकिस्तानले आगामी महिना निर्वाचनअघि आफ्ना उत्तर पश्चिमी क्षेत्रमा हजारौँ सुरक्षा बल तैनाथ गर्ने अधिकारीहरूले बताएका छन्। 

कारागारमा रहेका लोकप्रिय विपक्षी नेता इमरान खानलाई उम्मेदवार हुनबाट रोक लगाइएको र पहिलादेखि नै निर्वाचनपूर्व धाँधलीको आरोपमा ढिलाइ भएको निर्वाचनमा फेब्रुअरी ८ मा २४ करोडले मतदान गर्नेछन्। 

पाकिस्तानमा अघिल्ला निर्वाचन अभियानहरूमा हिंसाका घटनाहरू भएका छन्, जसमा धेरै उम्मेदवार र मतदातालाई इस्लामी बम विस्फोट तथा बन्दुक हमलाको निशाना बनाइएको छ। 

फेब्रुअरीको पहिलो सातामा करिब पाँच हजार अर्धसैनिक फ्रन्टियर कन्स्टेबुलरी (एफसी) बल अफगानिस्तानको सीमा जोडिएको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा तैनाथ हुने कमान्डर मोअज्जम जाह अन्सारीले जानकारी दिए। 

गत साता प्रान्तीय विधानसभाका लागि निर्वाचन लडिरहेका एक स्वतन्त्र उम्मेदवार र उनका दुई सहयोगीको प्रान्तमा निर्वाचन प्रचार गर्ने क्रममा कारमा गोली प्रहारबाट मृत्यु भएको प्रहरीले बताएको छ। 

‘सुरक्षा स्थिति बिग्रँदै गइरहेको छ र मतदानको दिन मतदान केन्द्रहरूमा अतिरिक्त प्रहरी टिम तैनाथ गरिनेछ,’ एक वरिष्ठ क्षेत्रीय सरकारी अधिकारीले भने। उनका अनुसार अतिरिक्त एक हजार सात सय एफसी बल राजधानी इस्लामाबाद र चार सय दक्षिणी तथा सबैभन्दा धेरै जनसंख्या भएको सहर कराँचीमा तैनाथ गरिनेछ। एफसी बललाई आतंकवादी हमलाको चपेटामा परेका प्रहरीलाई सहयोग गर्ने जिम्मा दिइनेछ।

यसैबीच, मंगलबार आफ्नो कार्यालयद्वारा जारी आदेशमा दक्षिणी सिन्ध प्रान्तका मुख्यमन्त्री मकबुल बकरले महिनौँदेखि विलम्ब भएको निर्वाचनका लागि उम्मेदवारहरूमाथि हमलाका धेरै रिपोर्ट प्राप्त भएको चेतावनी दिएका थिए। उक्त हमलालाई ‘अपराधको बढ्दो लहर’ भन्दै केही मानिसलाई ‘दिनदहाडै’ अपहरण गरिएको उनको भनाइ थियो।

इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार गत वर्ष एक हजार पाँच सयभन्दा धेरै सर्वसाधारण, सुरक्षा बल र आतंकवादी मारिएका थिए। यो पछिल्लो छ वर्षमा सबैभन्दा धेरै मृत्युको आँकडा हो। 

पाकिस्तानका लागि सबैभन्दा ठूलो आतंकवादी खतरा तहिरक–ए–तालिबान पाकिस्तान (टिटिपी) को नामले चिनिने तालिबान आन्दोलनको घरेलु अध्याय हो। इस्लामाबादले काबुलको तालिबान सरकारमाथि टिटिपी लडाकुहरूलाई शरण दिएको र उनीहरूलाई पाकिस्तानी भूमिमा दण्डहीनताका साथ आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ। काबुलले बारम्बार ती आरोपलाई अस्वीकार गर्दै आएको छ। 

गत वर्षको जनवरीमा टिटिपी खैबर पख्तुनख्वाको राजधानी पेसावर सहरको एउटा मुख्यालयमा भएको मस्जिद बम विस्फोटमा ८० भन्दा धेरै प्रहरी अधिकारी मारिएका थिए। डिसेम्बरमा टिटिपीका एक सहयोगीले सोही प्रान्तमा एउटा सैन्य अड्डामा विस्फोटक पदार्थले भरिएको सवारीमा ठोक्काएर २३ सैनिकको हत्या गरेका थिए।  (रासस/एएफपी)