१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
रासस म्याग्दी
२o८१ बैशाख ३० आइतबार १२:४३:oo
Read Time : > 5 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

थासाङको ताल र गुफा नयाँ गन्तव्य

Read Time : > 5 मिनेट
रासस, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:४३:oo

उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरू मुस्ताङका आकर्षण हुन्। मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुण्ड मुस्ताङका परिचित धार्मिक र पर्यटकीय स्थल हुन्। सन् २०२३ मा एक लाख ९० हजार विदेशी पर्यटकले भ्रमण गरेको मुस्ताङमा अन्य थुप्रै ओझेलमा परेका पर्यटकीय सम्भावनायुक्त स्थल छन्।

स्थलमार्गबाट मुस्ताङ भित्रने प्रवेश विन्दुमा रहेको थासाङ गाउँपालिका ओझेलमा परेका पर्यटकीय स्थलको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनमा जुटेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, थासाङ गाउँपालिका र पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालयको रु. तीन करोडभन्दा बढी लागतमा थासाङको तीनवटा तालको संरक्षणका साथै ऐतिहासिक र धार्मिक सम्भावनायुक्त गुरुसाङ्वो गुफामा पूर्वाधार निर्माण भएको छ।

गुरुसाङ्वो गुफा, सेकुङ, भुतर्छो ताल थासाङ गाउँपालिकाको वडा नम्बर २ र टिटी ताल वडा नम्बर ५ मा अवस्थित छ। मुस्ताङमा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले गुफामा पूर्वाधार निर्माण र ताल संरक्षण गरेर नयाँ पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गरिएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले बताए। ‘सडक, सुरक्षित पदमार्ग र ताल संरक्षण भएपछि पर्यटक भुल्न थालेका छन्,’ उनले भने, ‘सडक निर्माणसँगै छोटिएको पदमार्ग र पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्य पहिचानसँगै पूर्वाधार निर्माणमा जुटेका छौँ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र थासाङ गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा रु. दुई करोड ९९ लाख ९७ हजार एक सय २६ लगानीमा पूर्वाधार निर्माण भएको हो । पछिल्लोपटक थासाङ गाउँपालिका र पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखराको रु. १० लाख लागत साझेदारीमा थप पूर्वाधार निर्माण भएको छ।

पहाडको बीचमा रहेको गुरुसाङ्वो गुफामा पुग्ने दुई सय ८६ मिटर रेलिङ र सिँढीसहितको पदमार्ग, एक सय ९१ मिटर रिटेनिङ पर्खाल, दुईकोठे पक्की शौचालय निर्माण भएको छ। विभिन्न आकृतिका दृश्यावलोकन गर्न सकिने गुरुसाङ्वो गुफामा बाैद्ध धर्म गुरुहरूले तपस्या गरेको स्थानीय इन्द्रसिंह शेरचनले बताए। बेनी–जोमसोम सडकको लाजुङ र बोक्सीखोलादेखि नाउरीकोटसम्म गाडी र त्यहाँदेखि एक घन्टा पैदलयात्रा गरेपछि मानापाथी हिमालको फेदीमा रहेको पहाडको बीचभागमा रहेको गुरुसाङ्वो गुफामा पुगिन्छ।

बेनी–जोमसोम सडकको ताङछरदेखि सेकुङ हुँदै भुतर्छो ताल जोड्ने तीन किलोमिटर पाँच सय १० मिटर सडक निर्माण भएको थासाङ गाउँपालिकाका इन्जिनियर विष्णु बास्तोलाले बताए। गोलो आकारको सेकुङ तालको वरपर ढुंगा बिछ्याएर १९१ मिटर पैदलमार्ग, एक सय २४.५ मिटर रिटेनिङ पर्खाल र दुईकोठे पक्की सार्वजनिक शौचालय निर्माण भएको छ। भुतर्छो तालमा २६.५ मिटर रिटेनिङ पर्खाल, एक सय ६० मिटर पैदलमार्ग र एउटा दुईकोठे पक्की शौचालय निर्माण भएको छ । करिब ३० मिनेटको अवधिमा सेकुङ र भुतर्छो तालको यात्रा गर्न सकिन्छ। दुईवटै तालको पृष्ठभूमिमा पूर्वतर्फ नीलगिरि र पश्चिममा धवलागिरि हिमाल देख्न सकिन्छ।

समुद्री सतहदेखि दुई हजार ६ सय ८३ मिटरको उचाइमा सल्ला र धुपीका रुखहरु रहेको जंगलको बीचमा अवस्थित भुर्छतो तालको लम्बाइ करिब पाँच सय मिटर, चौडाइ ५० मिटर र गहिराइ पाँच मिटर भएको अनुमान छ । थकाली भाषामा पुच्छोर भनेर चिनिने भुर्छतो ताल विभिन्न प्रजातिका हाँस, चरा र रतुवामृगको वासस्थान क्षेत्र हो । सुक्खा मौसममा यस तालमा पूजाआजा गरेमा वर्षा हुने जनविश्वास छ । करिब एक सय ५० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको सेकोङ ताल समुद्री सतहदेखि दुई हजार सात सात २५ मिटरको उचाइमा अवस्थित छ । तालपरिसरमा चौँरी, भेडाबाख्रा र गाईभैँसीको चरन खर्क छ । सेकुङ र भुतर्छो तालदेखि करिब एक घन्टा ३० मिनेट पैदलयात्रा गरेपछि पुगिने टिटी ताल चराहरूको वासस्थान हो । एक सय ८६ प्रजाति चराको वासस्थान रहेको टिटी तालमा तीन प्रजातिका हाँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । 

बेनी–जोमसोम सडकको छाक्ताङदेखि पूर्वतर्फ कालीगण्डकी नदी पारी तीन किलोमिटर पैदल यात्रा गरेर पुगिने टिटी तालमा एउटा दुईकोठे पक्की शौचालय र तालवरपर चार सय ७२ मिटर पदमार्ग निर्माण भएको छ । पर्यटकीय पूर्वाधार निर्माणका लागि कुल रु. चार करोड असी लाख २१ हजार दुई सय २४ लागत अनुमान गरिएकामा मुक्तिनाथ महादेव जेभी पोखराले रु. तीन करोड ९९ लाख ९७ हजार एक सय २६ मा ठेक्का लिएको इन्जिनियर बास्तोलाले बताए। उनका अनुसार योजना निर्माणमा थासाङ गाउँपालिकाले रु. ९१ लाख र पर्यटन मन्त्रालयले रु. दुई करोड आठ लाख ९७ हजार एक सय २७ भुक्तानी गरेका छन्।

समुद्री सतहदेखि २६ सय ७९ मिटर उचाइमा रहेको टिटी तालमा पर्यटन बाेर्ड पोखरा र थासाङ गाउँपालिकाको रु. पाँच–पाँच लाख लागत साझेदारीमा दुईवटा विश्रामस्थल निर्माण, १६ वटा बेन्च, डस्टबिन राखिएको र फोहोर व्यवस्थापन गर्ने खाडल खनिएको छ। यी तालहरूमा आकाश खुलेको अवस्थामा धवलागिरि र नीलगिरि हिमालको छाया देखिन्छ। खुला रहेकाले वरपरको पाखाबाट तालमा बाढी पस्ने समस्या थियो।

तालपरिसरमा निर्माण भएको रिटेनिङ पर्खालले पाखोबाट आउने बाढी र पहिरो नियन्त्रणमा सघाउ पुगेको थासाङ गाउँपालिका– २ कोवाङका वडाध्यक्ष सन्तोष शेरचनले बताए। ‘सेकुङ, भुर्छतो, टिटी ताल र गुरुसाङवो गुफा मुस्ताङको नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएका छन्,’ उनले भने, ‘संरक्षण, पूर्वाधार निर्माण र प्रवर्द्धन गरेर थासाङको ताल र गुफालाई मुस्ताङ भित्रने पर्यटक भुलाउने थलोका रूपमा विकास गर्न प्रयास थालिएको हो।’

प्राकृतिक सौन्दर्यले रमणीय तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ । यसअघि सुनसान थियो । थासाङका ताल भ्रमणमा क्रममा हिमाल, जंगल र एकान्त वातावरणका साथै वन्यजन्तु र पक्षीहरूको पनि अवलोकन गर्न सकिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ शिखकी गीता गुरुङले बताइन्। ‘ताल, हिमाल, वनजंगल, वन्यजन्तु र पक्षीहरूको एकैपटक अवलोकन गर्न पाउँदा निकै रमाइलो महसुस भयो,’ उनले भनिन्। सेकुङ र भुर्छतो ताल धवलागिरि आइसफल जाने पदमार्गको प्रवेश विन्दुमा पर्छ। तालपरिसरको चरन खर्कमा शरद र वसन्त ऋतुमा गाईभैँसी, भेडाबाख्रा र चौँरीगोठ रहन्छन्।

चलचित्र र गीतका म्युजिक भिडियो छायांकनका लागि यो ताल ‘भर्जिन’स्थल बन्न सक्ने सम्भावना रहेको प्रतिनिधिसभाको पूर्वसदस्य प्रेमप्रसाद तुलाचनले बताए। ‘ढलेका रुख र बाढीले ताल पुरिँदै गएको थियो,’ उनले भने, ‘घेरबार पर्खाल, पदमार्ग र शौचालय निर्माणपछि पर्यटकलाई सहजताका साथै संरक्षण, सफा भएको छ।’ नर्साङ गुम्बा, थकाली समुदायको उदगम स्थल कोवाङ, नाउरीकोट, गुरुसाङ्वो गुफा, भुर्छतो, सेकुङ, टिटी ताल, लेते र धवलागिरि आइसफललाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित पूर्वाधार निर्माण गरिएको पूर्वसांसद तुलाचनले बताए।

नजिकैको बस्ती कोवाङ र लेतेदेखि डेढ घन्टा पैदल हिँडेपछि तालमा पुग्न सकिन्छ । सडकमा सवारीसाधन तथा पदमार्गमा पैदल हिँडेर तालमा पुग्ने विकल्प छ । टिटी तालपरिसरमा बस्ती छ । सेकुङ, भुर्तछो ताल र गुरुसाङ्वो गुफानजिकै बस्ती छैनन्। एकान्त वातावरण छ। धवलागिरि हिमालको पूर्वी मोहोडबाट निरन्तर खसिरहने हिउँपहिरोनजिकबाट अवलोकन गर्न सकिने आइसफलमा पुग्न कोवाङबाट पाँच घन्टा पैदल हिँड्नुपर्छ । आइसफल पुग्ने यो छोटो पदमार्ग हो।

सेकोङ तालदेखि धवलागिरि आइसफलसम्म जाने पदमार्ग, क्याम्पिङ साइट, ताल संरक्षण गरी पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्ने योजना बनाइएको वडाध्यक्ष शेरचनले बताए। धौलागिरि आइसफल हुँदै म्याग्दी निस्कने पदमार्ग सञ्चालनको तयारी भएको छ । सेकोङ, भुर्छतो र गुरुसाङ्वो गुफाको नजिकैको बस्ती नाउरीकोट प्राकृतिक हिसाबले सुन्दर बस्ती हो । नाउरीकोटको फेदी कोवाङ गाउँपालिकाको केन्द्र हो । बेनी–जोमसोम सडकले छोएको कोवाङलाई नेपालका अल्पसंख्यक थकाली समुदायको उदगमस्थल मानिन्छ । कोवाङमा नर्साङ गुम्बा रहेको छ।

पूर्वमा नीलगिरि, अन्नपूर्ण र पश्चिममा धवलागिरि, टुकुचे हिमाल दन्तलहरझैँ देखिने नाउरीकोटबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । फापर, मकै, गहुँ खेती हुने समथर फाँटमा रहेको नाउरीकोटबाट धौलागिरि हिमालको चुचुरोबाट खस्ने हिउँ थुप्रिएर बनेको आइसफल हेर्न पाउनु अर्को विशेषता हो।

अल्पसंख्यक थकाली समुदायको बसोवास रहेको नाउरीकोटबाट बर्खामा देखिने हरिया पाखामा दूधका धाराझैँ गरी बग्ने झरना र छहरा हिउँदमा सुक्दा सेताम्मे हिउँले छोपिन्छ । वसन्त ऋतुमा पृष्ठभूमिमा पाखाभरि लालीगुराँसले रंगिन्छ । भदौ, असोज महिनामा वरपरका बारीमा लहलह फापर फुल्दा वातावरण रमणीय बन्ने नाउरीकोटका नरसाम्बो गौचनले बताए।

कोवाङदेखि करिब २० मिनेट पैदल र १० मिनेट सवारीसाधनमा यात्रा गरेर पुगिने नाउरीकोटका वरपर घुम्नलायक धेरै ठाउँ छन् । भुर्तछो र सेकुङ ताल, गुरुसाम्पुक गुफा र धौलागिरि आइसफल नाउरीकोट भित्रने पर्यटकका लागि घुम्ने ठाउँ हुन् । थकाली समुदायको जीवनशैली, संस्कार, संस्कृति रहनसहन पनि यहाँको थप आकर्षण हो।

नाउरीकोटमा पर्यटकको सुविधाका लागि होटेल, लज तथा होमस्टेको सुविधा छ । नजिकैको जंगलमा पाइने वन्यजन्तु, पक्षी, जडीबुटी, वनपैदावार, भेडा, चौँरीका गोठ थप आकर्षण हो । बाेद्ध धर्मगुरुहरूले बुद्धत्व प्राप्त गर्न तपस्या बसेको करिब ३० मिटर लामो गुरुसाङ्वो गुफाभित्र बाघको पञ्जा, हात्तीको सुँड, चौँरीको खुर, गाईभैँसीको कल्चौँडा, कछुवाको मुखलगायतको आकृतिहरू देख्न सकिन्छ।

पाँच सय वर्ष पहिले पहिचान भएको स–साना तालहरू रहेका यो गुफाको संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसारमा स्थानीय तहका जनप्रतिनिधि र समुदायले जोड दिएका छन् ।  रमणीय, धार्मिक, ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण थासाङको तीनवटा ताल र गुरुसाङ्वो गुफा स्थानीयको आयआर्जन वृद्धि, रोजगारी सिर्जनासँगै भ्रमणमा आउने पर्यटकको बसाइ लम्बाउने आधार बनेको छ । सडकले पुराना पदमार्गसँगै पर्यटकको बसाइ छोटिएको अवस्थामा पुराना गन्तव्यको संरक्षणसँगै नयाँ गन्तव्यको पहिचान, पूर्वाधार निर्माण र प्रवर्द्धनमा जोड दिनुपर्ने देखिन्छ ।

ad
ad