१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १२:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नमुना संसद् : पात्र र प्रवृत्ति दुरुस्त

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:१९:oo

जब सभामुख र उपसभामुख संसद् छिरे, तब सांसद आ–आफ्नो ठाउँबाट उठे। सभामुखले राष्ट्रिय गानसँगै बैठक प्रारम्भ गरे। त्यसपछि क्रमैसँग सांसदले आ–आफ्नो क्षेत्रका विशेष मुद्दालाई संसद्को ध्यानाकर्षण गरे। 

सत्तापक्ष र प्रतिपक्षबीच निकैबेर सवाल–जवाफ चल्यो। संसदमा जुम्लाको स्याउले बजार नपाएकोदेखि मधेश र सुदूरपश्चिमको जातीय छुवाछुत हुँदै गुल्मीपश्चिममा पुल नहुँदा नागरिकले पाएका सास्तीका विषयले प्राथमिकता पाए। 

सत्ता पक्षका प्रधानमन्त्रीदेखि मन्त्री र सांसदले सरकारका कामको रक्षात्मक जवाफ पेस गरे भने प्रतिपक्षका सांसदहरूले सरकारको कामकारबाहीको कडा आलोचना गरे। 

देख्दा संघीय संसद्को झल्को आउँथ्यो। पात्र, विषय र भूमिका अभ्यासका निम्ति भए पनि देशको परिस्थितिसँग दुरुस्त थियो। संसदमा बोल्न नजान्ने, उत्तेजक र आक्रामक सांसद, सरकारले बाँड्ने विकासको आदर्शदेखि संसद्को प्राविधिक कमजाेरीको समेत ठ्याक्कै चित्रण अभ्यासमा देखाइयो।

जिल्लामै कानुन संकायमा अध्ययन हुने पहिलो विद्यालय सिद्धबाबा माविका विद्यार्थीले प्रस्तुत गरेको नमुना युवा संसद्को अभ्यासले देख्नेहरू पनि छक्क परे। 

सधैँ टेलिभिजनको पर्दामा संसद् र संसद् प्रक्रिया देखेका विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय सरोकारवाला पनि अभ्यासले दंग थिए। 

गुल्मीमा कानुन संकायमा अध्ययनरत विद्यार्थीले नमुना संसद्को अभ्यास गरेका हुन्। नमुना संसद् वास्तविक संसदभन्दा केही फरक नभएको अवलोकन गरिरहेका मानव अधिकार तथा शान्ति समाज गुल्मीका अध्यक्ष ढुण्डीराज पोख्रेलले बताए। 

उनले संसद् नमुना भए पनि पात्रहरूको चरित्र र प्रस्तुति वास्तविक सांसद, मन्त्री र प्रधानमन्त्रीकै जस्तै प्रस्तुत भएको बताए। 

उनले विद्यालय र विद्यार्थीको सिर्जनशीलता निकै उत्कृष्ट रहेको प्रतिक्रिया दिए। जिल्लाको सिद्धबाबा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ अन्तर्गत कानुन संकाय र कक्षा ६ देखि १२ सम्म सामाजिक शिक्षा अध्ययनरत विद्यार्थीले प्रयोगात्मक विधिबाट संसद्को नमुना अभ्यास प्रस्तुत गरेको विद्यालयका प्रध्यानाध्यापक डोरविक्रम श्रीसले जानकारी दिए। 

विद्यार्थीलाई संसद्को काम, कर्तव्य, अधिकार, संसदमा प्रस्तुत हुने विधेयक र त्यसको विधि एवं प्रक्रियाबारे जानकारी गराउँदै शिक्षा विधेयकसमेत पारित गरिएको श्रीसले बताए। 

चार घन्टाभन्दा बढी समय सञ्चालन भएको थियो। विद्यार्थीलाई नयाँ युवा नयाँ सोच अभियानले प्रशिक्षण दिएको थियो। आगामी दिनमा विद्यालयले अभ्यासलाई निरन्तरता दिनुपर्नेमा कार्यक्रम संयोजक तथा प्रशिक्षक विनोद खत्रीले जोड दिए। 

विद्यार्थीलाई नेपाली संसदीय पद्धतिबारे ज्ञान प्रदान गर्ने, कानुन निर्माण प्रक्रियाको जानकारी गराउने तथा नेतृत्व विकासमा समेत टेपा पुर्‍याउने उद्देश्यले नयाँ युवा नयाँ सोच अभियानले देशका विभिन्न क्याम्पस तथा स्कुलमा नमुना युवा संसद्को अभ्यास गरिरहेको संयोजक खत्रीले बताए। 
 
कार्यक्रममा सयजना छात्रछात्रा प्रत्यक्ष रूपमा संसद्को विभिन्न भूमिकामा सहभागी थिए। रेसुंगा नगरपालिकाको उपप्रमुख अमृतादेवी कुँवरसहित वडाध्यक्षहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, नागरिक समाज एवं सञ्चारकर्मीले संसद् प्रक्रियाको अवलोकन गरेका थिए। 

नमुना संसद्को अभ्यासले आफूहरूलाई निकै खुसी र ऊर्जा प्राप्त भएको संसदमा प्रमुख प्रतिपक्षको प्रमुख सचेतक रहेका विपिन सुनारले प्रतिक्रिया दिए। उनले टेलिभिजनबाट देखेको संसद् र संसदीय प्रक्रियामा आफैँ सहभागी भएर अभ्यास गर्न पाउँदा निकै फाइदा पुगेको बताए।