
ग्लोबल आइएमई बैंक लिमिटेडले १७औँ वार्षिकोत्सवको अवसर पारेर देशका सातै प्रदेशमा एकैसाथ बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले मंगलबार स्थापनाको १७ वर्ष पूरा गरी १८औँ वर्षमा प्रवेश गरेको अवसर पारेर रक्तदानका साथै निःशुल्क आँखा जाँच, रक्तचाप परीक्षण, मधुमेह परीक्षणलगायतको कार्यक्रम गरेको हो ।
बैंकले कोशी प्रदेशको सुनसरीमा रहेको इटहरी शाखा, मधेश प्रदेशको सिराहामा रहेको गोलबजार शाखा, बागमती प्रदेशको काठमाडौंमा रहेको कान्तिपथ र चितवनमा रहेको नारायणगढ शाखा, गण्डकी प्रदेशको कास्कीमा रहेको पोखरा न्युरोड शाखा, लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको बुटवल मिलनचोक शाखा र बाँकेको नेपालगन्ज शाखा, कर्णाली प्रदेशको सुर्खेतमा रहेको वीरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको कैलालीमा रहेको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
रक्तदान कार्यक्रमबाट देशभरमा कुल नौ सय २७ युनिट रगत संकलन भएको उल्लेख छ । कार्यक्रममा निःशुल्क सात सय ८३ जनाको आँखा जाँच तथा एक हजार ४८ जनाको रक्तचाप तथा मधुमेह परीक्षण तथा परामर्श प्रदान गरिएको बैंकले जनाएको छ ।