१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
रासस सोल
२o८१ बैशाख २२ शनिबार १३:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

दक्षिण कोरियाद्वारा उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि प्रतिबन्ध

Read Time : > 1 मिनेट
रासस, सोल
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:२७:oo

प्योङयाङले हालै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि दक्षिण कोरियाले अवैध साइबर गतिविधिलाई लिएर उत्तर कोरियाको गुप्तचर निकायका प्रमुखमाथि प्रतिबन्ध लगाएको सोलको विदेश मन्त्रालयले बताएको छ ।

प्योङयाङ उसको आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि पहिलेदेखि नै अन्तर्राष्ट्रिय दबाबमा छ । उत्तर कोरियाली नेता किम जोङको नेतृत्वमा आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रममा प्योङयाङले तीव्र गतिमा प्रगति गरेको छ ।

सोल, टोक्यो र वासिङ्टनले उत्तर कोरियाको साइबर अपराध, क्रिप्टोकरेन्सी र मनी लन्ड्रिङ गतिविधिलाई सम्बोधन गर्न उपायहरू समावेश गर्ने तीनतर्फी पहल सुरु गरेको सातापछि यस्तो घोषणा आएको हो । साइबर अपराध, क्रिप्टोकरेन्सी र मनी लन्ड्रिङबाट उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र कार्यक्रमहरूमा कोष उपलब्ध गराउने विश्वास गरिन्छ । 

सोलको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘प्योङयाङको जासुसी जनरल ब्युरोका प्रमुख री चाङ होमाथि ‘अवैध साइबर गतिविधि र प्रविधि चोरीमार्फत विदेशी मुद्रा आर्जन’मा संलग्नता भएकामा प्रतिबन्ध लगाइएको छ ।’

उनको गतिविधिले ‘उत्तर कोरियाली शासनका लागि राजस्व उत्पन्न गरेको र उसको आणविक तथा क्षेप्यास्त्र गतिविधिका लागि पैसा जुटाउन’ योगदान पुगेको विज्ञप्तिमा उल्लेख छ ।

रीलाई उत्तर कोरियाली ह्याकिङ समूह किमसुकी, लाजरस र एन्डारियलको मूल संगठनका प्रमुख भएको विश्वास गरिन्छ । ती समूहमाथि सोलले पहिलादेखि नै प्रतिबन्ध लगाएको छ । 

रीसँगै सोलले ‘उत्तर कोरियाका लागि आणविक–सम्बन्धित खनिज र संयुक्त राष्ट्रसंघद्वारा स्वीकृत सामग्री लिथियम–६ को व्यापार’मा संलग्न भएको भन्दै पूर्वकूटनीतिज्ञ युन चोलसहित अन्य सात उत्तर कोरियालीमाथि पनि प्रतिबन्ध लगाएको छ । 

कालोसूचीमा परेका व्यक्तिहरूलाई सोलको पूर्वअनुमतिविना दक्षिण कोरियाली नागरिकसँग विदेशी मुद्रा र वित्तीय कारोबार गर्न रोक लगाइएको छ । विश्लेषकहरूका अनुसार यी कदम दुवै मुलुकबीच अत्यन्त सीमित व्यापारलाई ध्यानमा राखेर मुख्य रूपमा प्रतीकात्मक हुन् । 

सोलले अहिले गत वर्ष अक्टोबरमा प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्धित ८३ व्यक्ति र ५३ संस्थालाई कालोसूचीमा राखेको सोलको विदेश मन्त्रालयले जनाएको छ । 

उत्तर कोरियाले हालै उसको आणविक तथा सैन्य धम्कीहरूलाई बढाएको छ । उसले नोभेम्बरमा एउटा जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण गरेको छ भने यसै महिना सबैभन्दा उन्नत आइसिबिएमको परीक्षण गरेको छ । उत्तर कोरियाली नेता किमले गत साता आणविक कार्यक्रमलाई ‘उक्साएको’ खण्डमा प्योङयाङ आणविक हमला गर्न नहिचकिचाउने बताएका थिए ।

‘उत्तर कोरियाको उत्तेजनाले अनिवार्य रूपमा मूल्य तिर्नुपर्ने हाम्रो सरकारले स्पष्ट गरेको छ,’ सोलको विदेश मन्त्रालयले बुधबार विज्ञप्तिमा भनेको छ, ‘उत्तेजना बन्द गर्न र आणविक निशस्त्रीकरणका लागि वार्तामा सहभागी गराउन अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ट सहयोग जारी राख्ने तथ्यबाट हाम्रो सरकारले उत्तर कोरियालाई महसुस गराउनेछ ।’

सोल, टोक्यो र वासिङ्टनका अनुसार प्योङयाङले गत वर्ष मात्रै क्रिप्टोकरेन्सीमा एक अर्ब ७० करोड डलरभन्दा बढी चोरी गरेको र ‘दुर्भावनापूर्ण साइबर गतिविधि’मार्फत सूचना एकत्रित गरेर आफ्नो हतियार कार्यक्रममा सहयोग गरेको थियो ।

ad
ad