१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
राजाराम साह, पूजाका पति
२o८१ बैशाख २२ शनिबार o९:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दाइजोका लागि पूजाको हत्या गरेको माइती पक्षको आरोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:३o:oo

प्रहरीले उजुरी लिन नमानेपछि हुलाकमार्फत जाहेरी

सिराहाको लहान नगरपालिका– २२ सिसवनीकी २१ वर्षीया पूजाकुमारी चौधरीलाई उनको परिवारका सदस्यहरू मिलेर कुटपिट गरी झुन्ड्याएर हत्या गरी आत्महत्या देखाउन खोजेको माइती पक्षले आरोप लगाएका छन् । पूजालाई उनका श्रीमान् लहान– २२ का राजाराम साह, ससुरा फुलकुमार साह, सासू सुनितादेवी साह, नन्द चन्द्रिकाकुमारी साहसहितले ४ पुसमा कुटपिट गरी आत्महत्या गरेको देखाउन सलको पासोमा झुन्ड्याएको माइती पक्षको आरोप छ । पूजाको २० वैशाख ०८० मा सामाजिक परम्पराअनुसार विवाह भएको थियो ।

मृतक पूजाका मामा दिनेशकुमार साहले विवाह भएको तीन महिनादेखि नै भान्जीलाई पतिसहित घरका सबै सदस्यले दाइजो थप नल्याएको भन्दै निरन्तर गालीगलौज, कुटपिट गर्दै आएको छिमेकीमार्फत थाहा पाएको बताए । भाञ्जीको घर व्यवहार राम्रो होस् भन्ने उद्देश्यले दिदी–भिनाजुले विवाहमै तीन लाख भारुसहित अढाई तोला सुन, २४ तोला चाँदी, लत्ताकपडा, बक्स पलङ, भाँडावर्तन दिएको उनले बताए । 

भारतको बिहार राज्य मधुवनी जिल्ला राजनगर ग्रामपोस्ट निजामत भटसिमर– ४ माइतीघर भएकी पूजालाई थप दाइजोका लागि यातना दिएर घरमा बस्न नसक्ने अवस्था भएपछि ८० हजार रुपैयाँ दिएको बाबु सम्पत्ति चौधरीले बताए । उनका अनुसार त्यसको दुई तीन महिनापछि पुनः सोफासेट, फ्रिज र व्यवसाय गर्न दुई लाख रुपैयाँ ल्याउनु भन्दै परिवारका सदस्यले पूजालाई शारीरिक यातना र मानसिक दबाब दिन थालेका थिए । ‘यातना झेलेरै भए पनि घरमै बस्दै आएकी छोरीले गत कात्तिकमा पतिसहित सासू, ससुरा र नन्दसहितले कुटपिट गरी गम्भीर घाइते बनाएको सुनाएकी थिइन्,’ उनले भने, ‘त्यसपछि छोरीको सुरक्षाका लागि हारगुहार गर्दै सिसवनी आएर छोरीमाथि हिंसा नगर्न बिन्ती गरेर फर्किएको थिएँ ।’

स्नातक उत्तीर्ण गरेकी पूजालाई भारत सरकारले प्रोत्साहनस्वरूप दिने ५० हजार भारु, मोटरसाइकल, थप जिन्सी सामान हत्याउन छोरीमाथि हिंसा हुँदै आएको उनले बताए । ‘विवाह भएको वर्ष दिन पनि नपुगेकी छोरीलाई घरमा पतिसहित सबैले मिलेर कुटेरै हत्या गरी झुन्ड्याएका हुन्,’ उनले भने ।

कुटपिट गरी झुन्ड्याएर हत्या गरेपछि उपचारको बहानामा लहान–३ स्थित सप्तऋषि अस्पतालमा पूजाको मृत्यु भएको भन्ने खबर थाहा पाएको उनले बताए । पूजाको मृत्यु भएपछि घटनास्थल पुगेका प्रहरीसमक्ष उनका सासु, ससुरा, नन्दले फरक फरक बयान दिनुले पनि घटनामा उनीहरूको संलग्नता रहेको उनको दाबी छ । ‘मेरी छोरीको मृत्यु भएपछि अहिलेसम्म घरका कसैले पनि छोरीको मृत्युको विषयमा केही नभन्नुले तिनको संलग्नतामा घटना भएको हो भन्ने देखिन्छ,’ उनले भने, ‘घटनाको चार दिनपछि ७ र ८ पुसमा जाँदासमेत किटानी जाहेरी लिन प्रहरीले अस्वीकार गरेपछि बाध्य भए हुलाकमार्फत पठाएको छु ।’ 

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले घटनास्थल, प्रारम्भिक अनुसन्धानका आधारमा कर्तव्य ज्यानको घटनाजस्तो नलागेकाले तत्काल किटानी जाहेरी नलिइएको बताए । ‘घटनास्थल प्रकृति, मृतकको शारीरिक अवस्थालगायतले कर्तव्य ज्यानजस्तो नदेखिएकाले पोस्टमार्टमको प्रतिवेदन नआउन्जेल पर्खिन भनेका हौँ,’ उनले भने । प्रहरीले ठोस प्रमाण भेटे तत्काल किटानी जाहेरी लिएर कर्तव्य ज्यानसम्बन्धी कसुरको अनुसन्धान गर्ने उनले बताए । पारिवारिक रूपमा भइरहेको पटकपटकको झैझगडा, कुटपिटजस्ता कारणले दुरुत्साहन हुन सक्ने भए पनि प्रहरीले ठोस प्रमाणका लागि सूक्ष्म अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

ad
ad