१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १२:१३:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालको १५१ देशसँग व्यापार, १२६ देशसँग घाटा

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:१३:oo

पाँच महिनामा साढे ६ खर्बको आयात हुँदा ६३ अर्बको निर्यात,अघिल्लो वर्षको तुलनामा आयात साढे ३ प्रतिशत र निर्यात ६ प्रतिशतले घट्यो

चालू आर्थिक वर्ष ०८०/८१ को पाँच महिनामा नेपालले एक सय ५१ देशसँग वैदेशिक व्यापार गरेको छ । यस अवधिमा नेपालको निर्यात व्यापार अत्यन्तै निराशाजनक देखिएको छ । साउनदेखि मंसिरसँग भएको एक सय ५१ देशसँगको वैदेशिक व्यापारमा नेपालले एक सय २६ देशसँग घाटा व्यहोर्नुपरेको छ । २५ देशसँग मात्रै नेपालको व्यापार नाफामा गएको भन्सार विभागको तथ्यांकले देखाएको छ । पाँच महिनामा साढे ६ खर्बको वस्तु आयात हुँदा ६३ अर्बको निर्यात भएको विभागले जनाएको छ ।

 ३५ देशबाट आयात मात्रै, निर्यात शून्य
व्यापार साझेदार देशमध्ये ३५ देशमा नेपालको निर्यात ‘शून्य’ रहेको छ । यस्तै, नेपाली वस्तुहरू निर्यात भएका नौ देशबाट भने कुनै पनि वस्तु आयात भएको छैन । व्यापार नाफा हुने देशहरूमध्ये न्यु क्यालेडोनिया, चाड, डोमिनिका, अरुवा, बर्मुडा, किर्गिस्तान, बहमास, एन्टिगुवा एन्ड बर्मुडा र मौरिटानियामा निर्यात मात्र (आयात नभएको) भएको हुँदा व्यापार नाफामा देखिएको हो ।

  पाँच महिनामा अघिल्लो वर्षको यसै अवधिको तुलनामा आयात र निर्यात दुवै घटेको छ । पाँच महिनामा एक सय ४२ देशबाट ६ खर्ब ४२ अर्ब २१ करोड रुपैयाँको वस्तु आयात गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.३९ प्रतिशतले कम हो । अघिल्लो आवको यसै अवधिमा ६ खर्ब ६४ करोड ७५ लाखको वस्तु भित्रिएको थियो । यस्तै, नेपालले एक सय १६ देशमा ६३ अर्ब २१ करोड रुपैयाँ मूल्यको वस्तु निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.०९ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसै अवधिमा ६७ अर्ब ३० करोडको वस्तु निर्यात भएको थियो । 

 व्यापार घाटा पौने ६ अर्ब
आर्थिक मन्दीले बजारमा उपभोक्ताको माग बढ्न नसकेर आयात घटेपछि व्यापार घाटा पनि ३.०९ प्रतिशतले कमी आएको छ । पाँच महिनामा पाँच खर्ब ७९ अर्ब व्यापार घाटा भएको छ । अघिल्लो वर्षको यसै अवधिमा व्यापार घाटा पाँच खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ रहेको भन्सार विभागको तथ्यांक छ । 

 निर्यातको हिस्सा ८.९६ प्रतिशत मात्रै
पाँच महिनामा आयात र निर्यात गरी कुल सात खर्ब पाँच अर्ब ४२ करोडको वैदेशिक व्यापार हुँदा निर्यातको हिस्सा ८.९६ प्रतिशत मात्र रहेको छ । कुल व्यापारमा निर्यातको हिस्सा अघिल्लो वर्षको तुलनामा २.५ प्रतिशतले खुम्चिएको भन्सार विभागको तथ्यांकले देखाउँछ । पछिल्लो समयमा निर्यातको हिस्सा निरन्तर खुम्चिँदै गइरहेको छ ।

पाँच महिनामा सबैभन्दा धेरै ५३ अर्ब ९० करोडको डिजेल र २८ अर्ब ५६ करोडको पेट्रोल आयात भएको छ । तेस्रो नम्बरमा रहेको एलपिजी ग्यास २० अर्ब ६५ करोडभन्दा बढी मूल्यको आयात भएको छ । यस्तै, १३ अर्ब ६० करोडको स्मार्ट फोन, नौ अर्ब ९७ करोडको सुन, आठ अर्ब ६६ करोडको हवाई इन्धन आयात भएको तथ्यांकले देखाउँछ । 

 सबैभन्दा धेरै निर्यात हुने वस्तु
पाँच महिनाको अवधिमा सबैभन्दा बढी फलामे पाता पाँच अर्बभन्दा बढीको निर्यात भएको छ । सिन्थेटिक धागो चार अर्ब ८८ करोड, ऊनी गलैँचा तथा कार्पेट चार अर्ब ५३ करोड, तयारी कपडा चार अर्ब ११ करोड, जुस तीन अर्ब ४० करोड, अलैँची तीन अर्ब १० करोड, प्लाइउड दुई अर्ब ८९ करोडको निर्यात भएको छ । यसैगरी, चिया एक अर्ब ८७ करोड, सिमेन्ट र क्लिंकर एक अर्ब ४९ करोड, पस्मिनाको सल एक अर्ब ४८ करोड, कुकुर–बिरालाको खाना एक अर्ब १९ करोड, पिना एक अर्ब १३ करोड, जडीबुटी एक अर्ब एक करोड, जुटको बोरा ९८ करोड, दाह्री काट्ने रेजर, ब्लेड ९४ करोड, सिआर सिट ८७ करोड, खयर कत्था ८४ करोडको निर्यात भएको भन्सार विभागले जनाएको छ ।

 व्यापार नाफा हुने प्रमुख देश
नेपालको सबैभन्दा धेरै व्यापार नाफा अमेरिकासँग भएको छ । पाँच महिनामा अमेरिकासँगको व्यापार एक अर्ब ८२ करोड नाफामा रहेको छ । अमेरिकाबाट पाँच अर्ब ४९ करोडको वस्तु आयात हुँदा सात अर्ब ३१ करोडको वस्तु निर्यात भएको छ । यस्तै, डेनमार्कमा ४३ करोड ४२ लाखको वस्तु निर्यात र ११ करोड ८२ लाखको आयात हुँदा ३१ करोड ६० लाख नाफा भएको देखिन्छ ।

नर्वेसँग पाँच करोड ७८ लाख, मालदिभ्ससँग दुई करोड ३१ लाख, क्रोएसियासँग ७० लाख, मौरिसससँग ५९ लाख, न्यु क्यालेडोनियासँग ५८ लाख, आइसल्यान्डसँग ५७ लाख, चाडसँग ५७ लाख, सुडानसँग ३९ लाख, जर्जियासँग ३८ लाख, डोमिनिकासँग ३८ लाख, सेसेल्ससँग ३७ लाख, माल्टासँग २८ लाख, अरुबासँग २५ लाख, लाटभियासँग १६ लाख, अफगानिस्तानसँग १० लाख रुपैयाँ व्यापार नाफा भएको छ । यस्तै, उरुग्वे, बर्मुडा, किर्गिस्तान, बहमास, पानामा, सियारा लियोन, एन्टिगुवा एन्ड बर्बुडा र मौरिटानियासँग नगण्य मात्रामा भए पनि व्यापार नाफामा देखिन्छ । 

 व्यापार घाटा धेरै हुने प्रमुख देश
नेपालको सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग  छ । पाँच महिनामा भारतसँग तीन खर्ब ५२ अर्ब ७७ करोडबराबरको व्यापार घाटा भएको छ । यो अवधिमा तीन खर्ब ९४ अर्ब ८० करोडको वस्तु आयात हुँदा ४२ अर्बको वस्तु मात्रै निर्यात भएको देखिन्छ । चीनसँग पाँच महिनामा एक खर्ब २४ अर्ब ५९ करोड रुपैयाँ व्यापार घाटा भएको छ । चीनबाट एक खर्ब २५ अर्ब ६२ लाखको वस्तु आयात हुँदा १० अर्ब ३३ लाखको मात्रै निर्यात भएको देखिन्छ ।

युनाइटेड अरब इमिरेट्ससँग ११ अर्ब आठ करोड, युक्रेनसँग आठ अर्ब १६ करोड, मलेसियासँग सात अर्ब १४ करोड, अर्जेन्टिनासँग पाँच अर्ब ६२ करोड, इन्डोनेसियासँग पाँच अर्ब ५४ करोड, फ्रान्ससँग चार अर्ब १८ करोड, थाइल्यान्डसँग तीन अर्ब ९५ करोड, जापानसँग तीन अर्ब १२ करोड, साउदी अरेबियासँग दुई अर्ब ९२ करोड, युकेसँग दुई अर्ब ४६ करोड, रसियासँग दुई अर्ब ४४ करोड, मोरोक्कोसँग दुई अर्ब ४४ करोड, सिंगापुरसँग दुई अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा भएको छ । 

ad
ad