१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० पौष ४ बुधबार ०६:११:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नाडामा चौधरीलाई अध्यक्ष बनाउने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० पौष ४ बुधबार ०६:११:००

नेपाली अटोमोबाइल व्यवसायीहरूको छाता संस्था ‘नाडा अटोमोबाइल एसोसिएसन नेपाल’को आगामी नेतृत्वमा करण चौधरीलाई सर्वसम्मत चयन गर्ने सहमति भएको छ । अध्यक्षका अर्का आकांक्षी आकाश गोल्छालाई अर्को कार्यकालमा सर्वसम्मत अध्यक्ष बनाउने सर्तसहित दुई पक्षबीच चौधरीको नाममा सहमति जुटेको हो । 

नाडाको २० र २१ पुसमा हुने ४७औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै छ । नाडाको आगामी नेतृत्वका लागि सुरुमा चौधरी, गोल्छासहित राजनबाबु श्रेष्ठ पनि आकांक्षी थिए । सिप्रदीका सिइओ श्रेष्ठले चौधरीलाई अध्यक्षमा समर्थन गर्दै ‘ब्याक’ भएपछि दुईजना (चौधरी र गोल्छा)बीच चुनावी प्रतिस्पर्धा हुने देखिएको थियो । तर, अहिलेको गम्भीर संकटका वेलामा व्यवसायीहरू एकीकृत भएर अगाडि बढ्नुपर्ने महसुस गरेर सर्वसम्मत अध्यक्ष चयन गर्न खोजिएको नाडा अध्यक्ष ध्रुव थापाले बताए । संकटका वेलामा आपसमा भिड्नुभन्दा सहमति गरेर एक पक्षले अर्को पक्षलाई समेटेर अगाडि बढ्दा राम्रो सन्देश जाने अटोमोबाइल व्यवसायीहरूको मत छ ।

चौधरी सिजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक हुन्, जसले मारुती सुजुकी गाडी बिक्री–वितरण गर्दै आइरहेको छ । यस्तै, गोल्छाले फोर्ड ब्रान्डको गाडी बिक्री गर्दै आइरहेका छन् । नाडामा पनि नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघमा जस्तै वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था गर्ने सहमति भएको छ । 

जसअनुसार गोल्छा वरिष्ठ उपाध्यक्ष हुने दुई पक्षबीच सहमति बनेको बताइएको छ । ‘विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्नेछौँ, जसमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने प्रावधान राख्ने सहमति बनेको छ,’ नाडा अध्यक्ष थापाले भने, ‘अबको तीन महिनाभित्र विधान संशोधन गर्ने योजना छ । नाडामा अध्यक्ष र कार्यसमिति सदस्यमा निर्वाचन गर्ने र निर्वाचित कार्यसमिति सदस्यहरूबाट उपाध्यक्ष, महासचिव, कोषाध्यक्षलगायत पदमा निर्वाचित गर्ने व्यवस्था छ ।