१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o९:१४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गेटा मेडिकल विश्वविद्यालय स्थापना अघि बढेपछि प्रतिष्ठान माग गर्दै डा. केसी अनशनमा, स्थानीयले गरे विरोध

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:१४:oo

धनगढीमा अनशन बसेका डा. गोविन्द केसीविरुद्ध प्रदर्शन

संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउनुपर्ने र आफूसँग विगतमा भएका स्वास्थ्य सुधारसम्बन्धी सहमति कार्यान्वयनको माग गर्दै धनगढीमा अनशन बसेका डा. गोविन्द केसीविरुद्ध प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले शनिबार केसीविरुद्ध प्रदर्शन गरेको हो । 

केसीका कारण धेरैले मेडिकल शिक्षा पढ्न नपाएको र बिदेसिनु परेको भन्दै प्रदर्शनमा सहभागीहरूले नाराबाजी गरेका थिए । केसीले उठाएका मागका कारण विद्यार्थी नर्सिङ र चिकित्सा शिक्षा पढ्नबाट हुनुपरेको स्थानीय विमला पौडेलले बताइन् । नर्सिङ कलेज बन्द हुँदा दक्ष जनशक्तिको अभाव भइरहेको उनको भनाइ छ । 

स्थानीय करुणाकर पाण्डेयले केसीले विगतमा सुरुमा उठाएका कतिपय माग सही भए पनि उनका केही मागका कारण चिकित्सा क्षेत्र मारमा परेको बताए । केसीका कारण नेपालको स्वास्थ्य क्षेत्र धराशायी बनेको प्रदर्शनमा सहभागीहरूको भनाइ थियो । केसीका कारण नेपालमा मेडिकल कलेज सञ्चालन हुन नदिने र नर्सिङ कलेज बन्द गर्ने नीतिले पढ्न नपाएर युवाहरू बिदेसिनु परिरहेको प्रदर्शनमा सहभागीले बताए ।

द्वन्द्वकालीन मुद्दा टुंगोमा पुर्‍याउनुपर्ने र विगतमा आफूसँग गरिएका सहमति कार्यान्यन हुनुपर्ने माग गर्दै केसीले धनगढीमा शनिबारबाट तीनदिने अनशन सुरु गरेका छन् । उनले शुक्रबार बेलुकी गेटा अस्पतालमा अनशन बस्न खोजेका थिए, तर गेटामा मेडिकल विश्वविद्यालय स्थापनाका लागि गठित संघर्ष समितिसँग विवाद भएपछि उनले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशन सुरु गरेका हुन् । उनले विगतमा आफूसँग भएको सहमतिअनुसार गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुनुपर्ने माग पनि अघि सारेका छन् । तर, गेटामा मेडिकल विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढेका वेला केसीले प्रतिष्ठानको माग गरेर विश्वविद्यालय भाँड्न खोजेको भन्दै स्थानीयले विरोध जनाएका छन् । संघर्ष समितिले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरेरै केसीका मागप्रति विरोध जनाएको छ । सरकारले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान राष्ट्रिय विश्वविद्यालय स्थापनाको निर्णय गरेर यससम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरिसकेको अवस्थामा केसीले प्रतिष्ठानको माग उठाएर विश्वविद्यालय स्थापना कार्य भाँड्न खोजेको समितिको आरोप छ । गेटामा मेडिकल विश्वविद्यालय हुनुपर्ने माग यहाँका स्थानीयले गर्दै आएका थिए ।

गेटामा मेडिकल विश्वविद्यालय स्थापनाका लागि दबाब दिन गठित संघर्ष समितिका संयोजक लोकराज पाण्डेयले मेडिकल विश्वविद्यालय स्थापना र सञ्चालन कार्य प्रभाव गर्ने गरी केसीले माग राखेकाले उनको अनशनको विरोध गरेको बताए । सरकारले मेडिकल विश्वविद्यालय स्थापनाको निर्णय गरेर विधेयक सदनमा पेस गरिसकेको अवस्थामा यसलाई रोक्न खोजिएको उनको भनाइ छ । केसीतर्फ संकेत गर्दै पाण्डेयले मेडिकल विश्वविद्यालय रोक्न केही व्यक्ति नियोजित तरिकाले लागेको बताए ।

गेटामा मेडिकल विश्वविद्यालय स्थापना हुनुपर्ने प्रदेशवासीको मागविपरीत केसीले प्रतिष्ठानको मुद्दा उठाएकाले उनलाई गेटामा अनशन बस्न नदिइएको समितिले पत्रकार सम्मेलनमार्फत जनाएको छ । संयोजक पाण्डेका अनुसार अनशनका लागि शुक्रबार बेलुकी गेटा पुगेका केसीलाई समितिले ६ सय शय्याको अस्पतालसहित मेडिकल विश्वविद्यालयको मागलाई उठाइदिन आग्रह गर्दा केसीले आफू विश्वविद्यालयको पक्षमा नरहेको बताएका थिए । केसीले प्रतिष्ठानका नाममा विश्वविद्यालयको प्रक्रियालाई बिथोल्न खोजेको संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले बताए । प्रदेशवासीको भावनाविपरीत केसीले गेटामा प्रतिष्ठान बनाउनुपर्ने विषय उठाएकाले आफूहरू त्यसको विरोधमा उत्रिएको उनको भनाइ छ । गेटामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको निर्णय गरेको सरकारले गत १ कात्तिकदेखि सय शय्याको अस्पताल सञ्चालन गरेको छ । 

ad
ad