१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
एरिक बर्गलोफ
२o८१ बैशाख २४ सोमबार १o:o४:oo
Read Time : > 3 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

पर्यावरण संरक्षणका लागि प्रकृतिमैत्री पूर्वाधार

हरितगृह–ग्यास उत्सर्जन र पर्यावरणीय ह्रासले हाम्रो अस्तित्व नै संकटमा परेको छ

Read Time : > 3 मिनेट
एरिक बर्गलोफ
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:o४:oo

नदी प्रणाली, सिमसार क्षेत्र, तटीय मैदान, बालुवाले भरिएका दुन र वन–जंगलजस्ता प्राकृतिक पूर्वाधारले सदियाैँदेखि मानव सभ्यताको विकासमा सहयोग पुर्‍याएका छन् । वास्तवमा, खाद्यवस्तु एवं पिउने पानीदेखि आँधीबेहरीबाट बच्ने सुरक्षा कवच र बाढी न्यूनीकरणसम्ममा यस्ता पूर्वाधारको दोहन गर्ने हाम्रो क्षमता नै मानव प्रजातिको रूपमा हाम्रो सफलताको केन्द्रबिन्दु रहिआएको छ । र, यो हाम्रो भावी अस्तित्वका लागि पनि महत्वपूर्ण साबित हुनेछ ।

प्रविधिगत प्रगतिले पूर्वाधारको विकासलाई गति दियो । कंक्रिट, तार र फलामले ऊर्जा, सञ्चार र यातायातका पूर्वाधार विकास गरिदिएर अभूतपूर्व वृद्धि र विकासको लहर ल्यायो र हरियो पूर्वाधार खैरो(उत्सर्जनकारी)मा बदलियो । तीव्र आधुनिकीकरणले कुनै समय अकल्पनीय समृद्धि ल्याएको भए पनि यसले गम्भीर अनपेक्षित परिणामहरू पनि निम्त्याएको छ । पर्यावरणीय ह्रास र हरितगृह–ग्यास उत्सर्जनले हाम्रो अस्तित्वलाई नै संकटमा पार्दै लगेको छ । 

प्रश्न विकासशील अर्थव्यवस्थालाई तिनका वैध विकास लक्ष्य पूरा गर्न दिँदै गर्दा कसरी उत्सर्जन घटाउने, प्रकृति र जैविक विविधताको संरक्षण र पुनस्र्थापना गर्नेजस्ता तात्कालिक वातावरणीय लक्ष्य पूरा गर्ने भन्ने हो । एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकको हालैको एक प्रतिवेदनअनुसार यो कुरा ‘प्रकृतिलाई पूर्वाधारको रूपमा स्वीकारोक्ति’बाट सुरु हुन सक्छ ।

प्रकृतिलाई पूर्वाधारको रूपमा हेर्नु रुपान्तरणकारी हुनेछ । किनकि यसले हामीलाई अझ व्यवस्थित तरिकाले सोच्न बाध्य पार्नेछ । वृद्धि र विकासको पछि लागिरहँदा हामीले प्रकृतिलाई हानि गर्ने कुराबाट त बच्नुपर्छ नै, साथै अत्यावश्यक सेवा प्रदान गर्न यसको विशाल सम्भावनालाई दोहन गर्दै गर्दा यसलाई ‘प्रकृतिमैत्री’ लगानीको माध्यमबाट सुदृढ र समृद्ध पनि पार्नुपर्छ ।

प्रकृतिलाई पूर्वाधारको रूपमा हेर्नु रुपान्तरणकारी हुनेछ, किनकि यसले हामीलाई अझ व्यवस्थित तरिकाले सोच्न बाध्य पार्नेछ । वृद्धि र विकासलाई पछ्याउँदै गर्दा हामी  प्रकृतिलाई हानि–नोक्सानी पुर्‍याउने कुराबाट त बच्नुपर्छ नै यसलाई ‘प्रकृतिमैत्री’ लगानीको माध्यमबाट अझ सुदृढ र समृद्ध पनि पार्नुपर्छ ।

बिग्रिएको जमिनलाई कसरी पुनस्र्थापना गर्ने भनेर मापदण्ड बनाउँदा जीव–वैज्ञानिकहरूले यसो गर्ने गर्छन् । तर, अब अर्थशास्त्रीहरूले पनि आफ्ना उपकरणलाई प्रकृतिको पुँजीको मूल्य र जटिलतालाई बुझ्ने गरी विकास गर्नुपर्छ । दृष्टान्तका लागि, जैविक विविधताले प्रजातिहरूको संख्या मात्र होइन, उनीहरूको आनुवंशिकीय विविधता र कार्यहरूको विविधतालाई पनि समेट्छ । जैविक विविधताको अर्काे आयाम भनेको उनीहरू ‘लाइफ ट्री’बाट कसरी छुट्टिएर अलग प्रजाति बने भन्ने प्रजातिहरूको जटिल विकासवादी इतिहास हो । जैविक विविधताबारे हाम्रो बुझाइलाई गहिरो बनाएर मात्र हामी प्रकृतिको पूर्ण क्षमता र यसमा पर्ने हाम्रो प्रभावलाई बुझ्न सक्छौँ ।

यो ज्ञान स्थानीय रूपले विशिष्टीकृत हुन्छ । र, यसलाई प्राप्त गर्न वैज्ञानिक र स्थानीय जनसंख्याबाट योगदान चाहिन्छ । सुखद खबर के भने यस्तो सहयोग एवं सहकार्यका मोडेलहरू हामीमाझ उपलब्ध छन् । उत्तरी चीनमा दुई ठूला मरुभूमिलाई एकआपसमा गाँसिनबाट रोक्ने उद्देश्यको ‘सानबेई रिफरेस्टेसन प्रोजेक्ट’ सुरुमा एकै प्रजातिका रुखहरू रोपिएका कारण एक त्रुटिपूर्ण प्रयास थियो । तर, दुई दशकका दौरान स्थानीय वातावरणको गहिरो ज्ञान र स्थानीय समुदायहरूको सहभागिताले यसलाई सफलतामा परिणत गर्‍यो ।

प्राकृतिक पूर्वाधारको संरक्षण र संवद्र्धनका लागि सुशासन र प्रोत्साहनहरू महत्वपूर्ण हुन्छन् । इन्डोनेसियामा म्यानग्रोभ (नदी वा समुद्रको छेउमा फस्टाउने झाडी प्रकृतिको वनस्पती)ले लामो समयदेखि समुदायहरू, विशेषगरी गरिब घरपरिवारलाई घातक ज्वारभाटाको बाढीबाट जोगाउँदै आएको छ । तर, पछिल्लो समय राज्यको क्षमता कमजोर भएका क्षेत्रमा म्यानग्रोभहरू पातलिँदै गएका छन् । इजिप्टमा म्यानग्रोभ पुनस्र्थापनाका प्रयासलाई पर्यापर्यटन र मौरीपालनको राजस्वले योगदान गरेको छ । साथै, मौरीपालनले मह उत्पादन र परागसेचनको महत्वपूर्ण सेवामा पनि सहयोग गरिरहेको छ । 

‘पूर्वाधारका रूपमा प्रकृति’को यो दृष्टिकोणले हामीले ग्रे समाधानबारे सोचविचार गर्नुअघि प्रकृतिले के प्रदान गर्न सक्छ भन्ने लेखाजोखाको माग गर्छ । यसले देशलाई उनीहरूको पूर्वाधारका कमीहरू साँच्चै दिगो तरिकामा पूरा गर्न पनि मद्दत गर्न सक्छ । तर, वृद्धि र विकासका लागि ग्रे इन्फ्रास्ट्रक्चर(उत्सर्जनकारी वा कृत्रिम पूर्वाधार) जहिले पनि आवश्यक हुन्छन् । यसले प्रकृतिमा यसको प्रभावलाई कम गर्न यसमा अझ राम्रो डिजाइनको माग गर्छ । उदाहरणका लागि, नवीकरणीय–ऊर्जा पूर्वाधारमा पनि ठूलो पारिस्थितिकीय पदचिह्न हुन्छन् । सडक पूर्वाधारले पर्या(पारिस्थितिकीय प्रणाली)हरूलाई खण्डित गर्नुका साथै क्षति पनि पुर्‍याउँछ । यस्ता पूर्वाधारलाई ग्रे साइटहरूमा लैजाने र (राजमार्गहरूमा वन्यजन्तुहरू आवतजातव गर्ने स्थानहरूको निर्माण, सहरी हरित स्थान र प्रकृति–पुनस्र्थापनाजस्ता) सहायक पूर्वाधारले यी प्रभावलाई कम गर्न मद्दत गर्न सक्छ ।

निःसन्देह, वित्तपोषणले पनि चुनौती खडा गर्न सक्छ । कुनमिङ–मोन्ट्रियल ग्लोबल बायोडाइभर्सिटी फ्रेमवर्कले सन् २०३० सम्ममा जैविक विविधता कोषको खाडल कम गर्न प्रतिवर्ष पाँच खर्ब ९८ देखि आठ खर्ब २४ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ । प्रकृतिको संरक्षण र पुनस्र्थापना गर्न आवश्यक यस्ता रकम प्रकृतिको मूल्यको उचित मूल्यांकन र निजी तथा संस्थागत पुँजी परिचालनका नयाँ बजार सिर्जना गरेर मात्र जम्मा गर्न सकिन्छ ।

यसका लागि नयाँ औजार र वित्तीय उपकरणहरूको प्रयोग गरी ‘नेचर एज इन्स्फ्रास्ट्रक्चर’लाई सम्पत्तिको रूपमा विकास गर्नुपर्छ । सूक्ष्म तहमा, यसका लागि प्रकृतिका सेवाहरूको मूल्य निर्धारण र अनुकूल स्थानीय नियमहरू आवश्यक पर्नेछन् । उदाहरणका लागि, हानिकारक गतिविधिहरूमा शुल्क वा परमिटहरू लगाउनेजस्ता उपाय लगाउन सकिन्छ । सूक्ष्म तहका नीतिहरूले प्रकृतिमा अधिक वित्तपोषणका लागि अन्य वित्तीय उपकरणहरू सिर्जना र अन्ततः बजारहरूको विकासलाई मद्दत गर्न सक्छन् । प्रदर्शनसँग सम्बन्धित ऋणहरू, नीतिमा आधारित ऋण, प्रकृति क्रेडिट आदि स्रोतहरूको विकासमा सहयोग गर्न सक्छन् । विगतका गल्तीहरू दोहोरिनबाट जोगिन हामीले कार्बन बजारबाट सिकेका पाठहरूमा ध्यान दिनुपर्छ ।

कम आय भएका अर्थतन्त्रहरूमा विशेष ध्यान दिनुपर्छ । तीमध्ये धेरैजसो जलवायु परिवर्तन र वातावरणीय ह्रासका कारण अत्यधिक जोखिममा छन् । तर, उनीहरूसँग प्राकृतिक सम्पदाहरू छन्, जसको उचित मूल्यांकन हुनुपर्छ । बहुपक्षीय विकास बैंकहरूले आफ्ना सञ्चालनका सबै पक्षहरूमा समावेश गरेर ‘पूर्वाधारका रूपमा प्रकृति’को दृष्टिकोणलाई अभिप्रेरित गर्न सक्छन् । अन्तमा, यो विधिले पूर्वाधार परियोजनाहरूका साथै राष्ट्रिय वृद्धि एवं विकासका रणनीतिहरूलाई पनि मार्गदर्शन गर्नुपर्छ ।
– प्रोजेक्ट सिन्डिकेटबाट

ad
ad