१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २५ सोमबार
  • Sunday, 11 May, 2025
अनिल यादव काठमाडाैं
२o८o मङ्सिर २५ सोमबार o८:२३:oo
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

लोसपामा ठाकुर र महतोबीच खटपट

आफ्ना तीन दर्जन नेतालाई नअटाएको भन्दै राजेन्द्र महतोले गरे केन्द्रीय समिति बैठक बहिष्कार

Read Time : > 3 मिनेट
अनिल यादव, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २५ सोमबार o८:२३:oo

केन्द्रीय समिति विस्तारलाई लिएर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा खटपट सुरु भएको छ । आफूनिकट तीन दर्जन नेता–कार्यकर्तालाई नअटाएको भन्दै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले केन्द्रीय समिति बैठक नै बहिष्कार गरेका छन् ।

८ असोजमा पुनर्गठित लोसपाको केन्द्रीय समिति तीन सय ११ सदस्यीय छ । तर, आइतबार सम्पन्न केन्द्रीय समिति बैठकमा दुई सय १६ जना मात्रै उपस्थित भएको महासचिव सुरेन्द्रकुमार झाले जानकारी दिए । महतोसहित अधिकांश उनीनिकट नेताहरूले बैठक बहिष्कार गरेको बुझिएको छ । नेता महतोले भने झन्डै आधा प्रतिशतले बैठक बहिष्कार गरेको दाबी गरे । मधेश आन्दोलनमा होमिएका नेता–कार्यकर्तालाई नै केन्द्रीय समितिमा नअटाइएका कारण बैठक बहिष्कार गर्न बाध्य भएको उनले बताए । 

‘अध्यक्षज्यूले मधेशवादी नेता–कार्यकर्तालाई नै पार्टीबाट निष्कासन गरिदिनुभयो,’ उनले भने, ‘गजेन्द्रनारायण सिंहको पालादेखि नै मधेश आन्दोलनमा होमिएका करिब तीन दर्जन नेता–कार्यकर्तालाई केन्द्रीय समिति विस्तार गर्दा हटाइएको छ । अध्यक्षज्यूको जीवन त कांग्रेसमा बितेको हो, तर मधेश आन्दोलनमा लागेकालाई यसरी अपमान गरिनु उचित होइन ।’ केन्द्रीय समिति पुनर्गठन गर्दा नै आफूले यसमा सचेत गराएको, तर अहिलेसम्म अध्यक्ष ठाकुरले नसच्याएको उनले बताए । ‘गठन गर्दै नै यो भनेको थिएँ,’ महतोले भने, ‘उहाँले यसलाई सच्याउँछु भन्नुभएको थियो, तर केही गर्नुभएन । त्यही कारण बैठक बहिष्कार गरेको हुँ । ’

 पार्टी फुटको स्थितिमा पुगेको हो ?
केन्द्रीय समिति पुनर्गठनकै विषयलाई लिएर लोसपामा ठाकुर र महतोबीच दूरी बढेको छ । कतिपयले पार्टी फुटको स्थितमा पुगिसकेकोसम्म अनुमान लगाएका छन् । तर, वरिष्ठ नेता महतोले ठाकुरबाट सुधारको अपेक्षा रहेको बताए । ‘अहिले नै फुटको अवस्था नहोला । उहाँले सुधार गर्नुहुन्छ भन्ने आशा छ,’ उनले भने । महतोका अनुसार मधेश आन्दोलनमा लागेका चन्द्रप्रसाद राजवंशी, नारायण साह, पनिराम चौधरीलगायत थुप्रै नेतालाई केन्द्रीय समितिमा अटाइएको छैन । ‘थुप्रो छ नाम, कति भन्ने,’ महतोले भने, ‘२० जिल्लाका नेताहरू छन् । उनीहरू ३० वर्षदेखि केन्द्रीय सदस्य थिए । यो त मधेशवादलाई निष्कासन गरेसरह भयो । यो उहाँले राम्रो गर्नुभएन ।’

महन्थनिकट मानिएका लोसपाका महासचिव सुरेन्द्रकुमार झाले भने केन्द्रीय समितिमा छुटेकालाई ल्याउने तयारी हुँदाहुँदै महतोले बैठक बहिष्कार गरेको बताए । ‘विधानमा चार सय एक सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ, अझै ९० जना मनोनीत गर्न बाँकी नै छ,’ उनले भने, ‘उहाँले भन्नेबित्तिकै हुने होइन नि ! राजनीतिमा निर्णय गर्दा प्रक्रिया र ढंग हुन्छ । अझै आठ दर्जनलाई ल्याउन बाँकी छ । विधानतः एकतिहाइ महिलाको सदस्य पुर्‍याउनुपर्नेछ । त्यो सबै मिलाएर छुटेका साथीलाई ल्याउने भनेर अध्यक्षज्यूले भन्नुभएकै छ । तैपनि उहाँ बैठकमा आउनुभएन ।’

अहिलेको बैठक राष्ट्रिय सभा निर्वाचनकेन्द्रित भएकाले यसलाई बुझ्नुपर्ने उनको भनाइ थियो । ‘केही साथी छुट्नुभयो भन्दैमा राष्ट्रिय सभाको निर्वाचनमा भाग नलिने, तयारी नगर्ने भन्ने हुँदैन,’ उनले भने, ‘यो पार्टीको आन्तरिक जीवनसँग जोडिएको कुरा छ । छुट्नुभएको साथीसँग हामी सम्पर्कमै छौँ, ल्याउने भनेकै छौँ । हिजो राजपा हुँदा साढे आठ सय केन्द्रीय सदस्य थिए, पदाधिकारी मात्रै एक सय ६८ पुगिसकेको थियो । अहिले चार सय एकमा झार्दा कोही न कोही त छुट्छ नै । अहिले अटाएका साथीहरू पनि सबै राजनीतिक संघर्ष गरेरै आएका हुन्,, नगरेका कोही छैनन् । त्यसैले आफ्नो मान्छे परेन भनेर घरमा बस्ने होइन, तान्नलाई भूमिकामा खेल्नुपर्‍यो नि !’ 

लोकतान्त्रिक समाजवादी पार्टीले स्थापनाको दुई वर्षपछि पदाधिकारीको जिम्मेवारी बाँडफाँटसहित केन्द्रीय समितिलाई आकार दिएको थियो । दुई वर्षको तयारीपछि गरिएको पदाधिकारी चयनमा परिवारवाद हाबी देखिएको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको थियो । केन्द्रीय समिति पुनर्गठन गर्दा लोसपाका शीर्ष नेताहरूले भागबन्डा गरेरै आफूसँगै श्रीमती, छोरी र नातेदारलाई पदाधिकारीको जिम्मेवारी दिएका हुन् । अध्यक्ष ठाकुरले पुनर्गठित केन्द्रीय समितिमा उनकै सम्धी, सम्धिनी पदाधिकारी चयन भएका छन् । छोरी मीनाक्षी ठाकुरलाई केन्द्रीय सदस्य बनाइएको छ । ठाकुरले सम्धी उमाकान्त झालाई पार्टीको वरिष्ठ उपाध्यक्ष र सम्धिनी इन्द्रा झालाई उपाध्यक्षको जिम्मेवारी दिएका छन् । उमाकान्तका आफ्नै भतिज डा. सन्दीप झालाई पार्टीको सचिव बनाइएको छ ।

लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्ना दुई नातेदारलाई महासचिव बनाएका छन् । महतोका ज्वाइँ अनिल महासेठ र भतिज उपेन्द्र महतोले महासचिवको जिम्मेवारी पाएका छन् । महासेठले भने आफूलाई जानकारी नदिई मनोनीत गरेको भन्दै जिम्मेवारी नलिने फेसबुकबाटै घोषणा गरेका थिए । अर्का नेता प्रदीपनारायण यादवका बाबुछोरा नै पदाधिकारी बनेका छन् । महन्थ ठाकुरको नेतृत्वमा तमलोपा हुँदा किसान संघका अध्यक्ष रहेका प्रदीप वरिष्ठ उपाध्यक्ष र उनका छोरा देवेन्द्र यादव महासचिव बनेका छन् । पुनर्गठिन केन्द्रीय समितिमा पदाधिकारी संख्या ६३ छ । ६ जनालाई वरिष्ठ उपाध्यक्ष तोकिएको छ । १५ जनालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ । कार्यकारी मानिने महासचिव पदमै १६ जना छन् । तर, यस विषयमा पार्टीभित्र आत्मालोचना भएको छैन । अझै आफ्ना नेता–कार्यकर्ता नपरेको विषयमै पार्टीका शीर्ष नेताबीच तिक्तता बढेको हो । 

कुनै वेला मधेशमा राम्रो प्रभाव रहेको लोसपा गत निर्वाचनमा राष्ट्रिय दलसम्म बन्न सकेन । संघमा चार सिट, मधेश प्रदेशमा नौ र लुम्बिनी प्रदेशमा तीन सिट मात्रै जित्न सफल भयो । जसपाबाट अलग्गिएर लोसपा गठन भएको दुई वर्षसम्म पनि केन्द्रीय समितिलाई पूर्ण आकार दिन नसकेर आलोचित रहेको थियो । आइतबारको राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता, पुसको दोस्रो साताभित्र मधेश प्रदेशमा विस्तारित केन्द्रीय समितिको बैठक गर्ने, पार्टीलाई आत्मनिर्भर बनाउन लेभी निर्धारण कार्यदलले तयार पारेको प्रस्तावित लेभीको प्रतिवेदन अनुमोदनलगायत एजेन्डा प्रस्ताव गरेका थिए । लोसपाका महासचिव झाका अनुसार बैठकले गरेका निर्णय सोमबार सार्वजनिक गर्ने तयारी छ । 

सुरेन्द्रकुमार झा
महासचिव, लोसपा

विधानमा ४०१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ, अझै ९० जना मनोनीत गर्न बाँकी नै छ । उहाँले भन्नेबित्तिकै हुने होइन नि ! राजनीतिमा निर्णय गर्दा प्रक्रिया र ढंग हुन्छ । अझै आठ दर्जनलाई ल्याउन बाँकी छ । विधानतः एकतिहाइ महिलाको सदस्य पुर्‍याउनुपर्नेछ । त्यो सबै मिलाएर छुटेका साथीलाई ल्याउने भनेर अध्यक्षज्यूले भन्नुभएकै छ । तैपनि उहाँ बैठकमा आउनुभएन ।