
एसिसी यू–१९ एसिया कपमा लगातार दोस्रो खेलमा पनि हारेपछि नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको छ । युएईको आइसिसी मैदान–२ मा आइतबार अफगानिस्तानले नेपालमाथि ७३ रनको सानदार जित निकाली अन्तिम चारको आशा जीवितै राखेको छ । नेपालले अंक जोडेको छैन । अफगानिस्तान र भारतले समान दुई खेलबाट २ अंक जोडेको छ । समूह ‘ए’मा पाकिस्तानले लगातार दोस्रो जित निकाली सेमिफाइनल दौड बलियो बनाएको छ ।
पाकिस्तानले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा भारतलाई हराएको हो । पहिलो ब्याटिङ गरेको अफगानिस्तानको यू–१९ टोलीले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रनको बलियो योगफल खडा गर्यो । प्रत्युत्तरमा नेपालले ४०.१ ओभरमा अलआउट हुँदै १८८ रन बनाएको थियो । नेपालका लागि ओपनर अर्जुन कुमाल शतकीय इनिङ्स खेल्नबाट वञ्चित भए ।
अर्जुनको सर्वाधिक ९१ रन
लक्ष्य पछ्याएको इनिङ्समा नेपालले चौथो बलमै दोस्रा ओपनर विपिन रावललाई शून्यमा गुमायो । अफगानिस्तानका फरिडोनले ७.१ ओभरमा ३१ रन खर्चेर तीन विकेट लिँदा नेपालले सुरुवाती तीन खेलाडीलाई गुमाएको थियो । अफगानी बलर फरिडोनले नेपालका शीर्ष तीन ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए । उनले दीपक बोहरोलाई १५ रन तथा अर्जुनलाई समेत आउट गरे । नेपालले पहिलो पाँच विकेट गुमाउँदा स्कोर बोर्डमा ७९ रन जोडेको थियो ।
इनिङ्सको एक छेउबाट विकेट पतन भइरहँदा पनि ओपनर अर्जुनले आफ्नो विकेट जोगाइराखेका थिए । यद्यपि, उनलाई नेपालका कुनै पनि खेलाडीले गतिलो साथ दिन सकेनन् । नेपालको ब्याटिङमा अन्तिम खेलाडीका रूपमा अर्जुन आउट भएका थिए । उनले पहिलोदेखि १० विकेटसम्म साझेदारी गर्दै नेपाललाई फराकिलो हारबाट जोगाए । अर्जुन इनिङ्सको ४०.१ ओभरमा आउट भएका हुन् । उनले १०८ बलमा १३ चौका प्रहार गर्दै सर्वाधिक ९१ रनको योगदान दिए ।
नेपालका लागि कप्तान देवले ३७ बलमा एक चौका प्रहार गरी २४ रन बनाए । सिनियर राष्ट्रिय टोलीका सदस्य गुलसन झाले २० बलमा दुई छक्काको सहयोगमा १७ रन बटुले । दीपेश कँडेलले १९ बलमा ११ रन बनाए । नेपालको इनिङ्समा चार ब्याट्सम्यानले रन नै बनाएनन् । अफगानिस्तानले नेपाललाई १८ अतिरिक्त रन दिएको थियो ।
जमसिदको शतकीय योगदान
अफगानिस्तानको ब्याटिङमा तीन खेलाडीले उत्कृष्ट योगदान दिए । तेस्रो क्रमका ब्याट्सम्यान जमसिद जार्दानले १०६ रनको शतकीय इनिङ्स खेले । रहिमुल्लाह जुर्मातीले ३५ तथा विकेटकिपर ब्याट्सम्यान नुमान साहले ६० रनको महŒवपूर्ण योगदान दिए । नुमान र जमसिदबीच पाँचौँ किवेटका लागि ९७ रनको साझेदारी भएको थियो । यी दुवै ब्याट्सम्यानले साझेदारी गर्नुअघि अफगानिस्तान ११४–४ को स्थितिमा थियो । नुमान आउट हुँदा अफगानिस्तान ४१.४ ओभरमा २११–५ को बलियो अवस्थमा रह्यो । नुमानले ४१ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।
जसमिदले १५२ बलमा आठ चौका प्रहार गरे । उनी खेलमा रिटायर्ड हट भएका थिए । नेपाली बलरले अफगानिस्तानलाई १६ अतिरिक्त रन दिएका थिए । नेपालका लागि हेमन्त धामीले ६ ओभरमा ३७ रन खर्चेर दु्ई विकेट लिए । गुलसनले ८.३ ओभरमा दुई विकेट लिन ४६ रन खर्चे । यसैगरी सुवास भण्डारीले १० ओभरमा ४९ रन खर्चदै दुई विकेट लिए ।
पाकिस्तानले भारतलाई हरायो
प्रतियोगिताअन्तर्गत समूह ‘ए’मा पाकिस्तानले भारतमाथि आठ विकेटको जित निकालेको छ । पहिलो ब्याटिङ गरेको भारतले ५० ओभरमा नौ विकेट गुमाएर २५९ रनको योगफल खडा गर्यो । प्रत्युत्तरमा पाकिस्तानले दुई विकेटको क्षतिमा २६३ रन बनाएको थियो ।
पाकिस्तानको जितमा अजान आविस र साद वैगले तेस्रो विकेटका लागि १२५ रनको साझेदारी गरेका थिए । अजानले १३० बलमा १०५ रनको शतकीय इनिङ्स खेले । उनले १० चौका प्रहार गरे । सादले ५१ बलमा आठ चौका र एक छक्का प्रहार गरे । यसअघिको ब्याटिङमा भारतका लागि तीन खेलाडीले अर्धशतक प्रहार गरेका थिए । ओपनर आदर्श सिंहले ६२, कप्तान उदय सहरानले ६० र सचिन दासले ५८ रनको योगदान दिएका थिए ।