
बालाचतुर्दशीको अवसरमा बुढानीलकण्ठ–४, विष्णुमतीको किनारमा आइतबार रातभर बसेर स्थानीयवासीले पितृहरूका नाममा दीप प्रज्वलन गरेका छन् । विष्णुमती धनेढिकुरो सरोकार समितिले यसपटक स्थानीयलाई सहभागी गराउन यस्तो कार्यक्रम आयोजना गरेको हो ।
आइतबार साँझ दीप प्रज्वलन र सोमबार बिहानै दिवंगत पितृहरूको नाममा शदबीज छर्ने विष्णुमती धनेढिकुरो सरोकार समिति तथा विष्णुमती सरसफाइ अभियानका अध्यक्ष हरिबहादुर केसीले जानकारी दिए । उनका अनुसार पितृहरूको नाममा ब्रह्म मुरतमा शदबीज छरिन्छ ।
दीप प्रज्वलनमा ५० भन्दा बढी परिवारको सहभागिता थियो । बुढानीलकण्ठ–४ का वडाध्यक्ष श्रीराम केसीसहित स्थानीय जनप्रनिधि पनि दीप प्रज्वलनमा सहभागी थिए । समितिले आयोजना गरेको यो चौथो कार्यक्रम हो ।