
मोदीको शासनशैलीका कारण भाजपाले तीनवटा राज्यमा सानदार जित हासिल गरेको हो वा होइन भन्नेबारे जाँच गर्नुपर्छ
मेरा छिमेकी एक वरिष्ठ इन्जिनियर प्रधानमन्त्री नरेन्द्र मोदीलाई भगवान् शिवको विशेष आशीर्वाद रहेको र विपक्षीलाई ध्वस्त नगरेसम्म उनी नरोकिने बताउँछन् । मध्यप्रदेश, राजस्थान र छत्तीसगढको चुनावमा भाजपाले आफ्ना समर्थकको माया अपेक्षाभन्दा बढी पाएपछि पार्टीभित्र झनै उत्साह बढेको छ ।
उत्साहका बाबजुद भाजपाले निश्चित रूपमा ठन्डा दिमाग लगाएर चुनावी परिणाम जाँच गर्नेछ । चुनावी नतिजालाई भाजपाले दिल्ली र पार्टीद्वारा शासित राज्यमा अपनाएको शासनशैलीको समर्थनको रूपमा हेर्न सकिन्छ । सन् २०२४ मा हुने संसदीय चुनावअघि आफ्नो शैलीमा सुधार गर्नुको सट्टा पार्टीलाई यस्तै काम गर्ने प्रलोभन हुनेछ ।
मोदीको शासनशैली वा प्रधानमन्त्री बलिया र विश्वसनीय नेता हुन् भन्ने धारणाका कारण भाजपाले तीनवटा राज्यमा सानदार जित हासिल गरेको हो त भनेर हामीले जाँच गर्नुपर्छ । एउटै सिक्काका दुई पाटाजस्तो लागे पनि मोदी फ्याक्टर र समग्र शासन फरक छन् । भिन्नता महत्वपूर्ण छ ।
तथ्य के हो भने मोदीले राज्यको चुनावमा एउटा कोलोसस (एक प्रकारको राक्षस)को रूपमा प्रभुत्व जमाए । कंग्रेसले प्रधानमन्त्रीप्रति सर्वसाधारणको सद्भावनालाई ‘पन्चर’ गराउने प्रयास गरे पनि उपयुक्त परिणाम आउन सकेको छैन ।
मोदी नेताभन्दा पनि धेरै विशेषता भएका व्यक्तित्व हुन् । जातीय प्रभाव र स्थानीय सरकारप्रति जनताको सन्तुष्टि वा असन्तुष्टिजस्ता निर्वाचनसँग सम्बन्धित अन्य मुद्दासँग प्रतिस्पर्धा गर्ने कारक हुन्, उनी । राजस्थानमा भाजपाले जित्यो, किनकि सत्ता फ्याक्टरले कंग्रेसलाई सीमित गर्यो, जबकि सत्ताविरोधी भावनाका बाबजुद पार्टीले मध्यप्रदेशमा आधार हासिल गर्यो ।
पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीले ‘इन्दिरा फ्याक्टर’का कारण सन् १९८४ मा उनको हत्या हुनुअघिसम्म लगभग दुई दशकसम्म चुनाव जितिन् । उनका कट्टर समर्थकले यसलाई ‘दुर्गा सिन्ड्रोम’ पनि भने । उनको नेतृत्वमा रहेका कंग्रेसी भ्रष्ट र अहंकारी थिए । यसले उनको लोकप्रियतालाई असर गरेन वा उनको आकर्षण घटाएन । गान्धी प्राथमिक भोट प्राप्तकर्ता बन्न थालेपछि कंग्रेस नेताहरूले उनको अनावश्यक प्रशंसा गरे र धेरै प्रमुख राजनीतिज्ञलाई निर्वाचन अभियानमा क्षमताहीन व्यक्तिको रूपमा व्याख्या गरे ।
भाजपा अहिले उस्तै स्थितिमा छ र मोदीलाई प्राथमिक भोट आकर्षित गर्न सक्ने व्यक्तिको रूपमा चित्रित गरिएको छ । यद्यपि योगी आदित्यनाथले उत्तर प्रदेशमा जनताको एक वर्गमा एक प्रकारको धार्मिक समूह बनाएका छन् र शिवराज सिंह चौहानको मध्य प्रदेशमा आफ्नै बलिया अनुयायी छन, तिनीहरू ‘मोदी ग्रह’का केवल उपग्रह हुन् । योगी र चौहान उनीहरूलाई समर्थन जनाउने मोदी फ्याक्टरविना शक्तिहीन हुनेछन् । हालैको विधान सभा चुनावपछि, भाजपालाई राम मन्दिरको मुद्दा वा सनातन धर्म बहसजस्ता मसला आवश्यक पर्दैन, जबसम्म मोदी सन् २०२४ मा तुफान प्रचार भ्रमणहरू गर्न उपलब्ध हुनेछन् । यही एउटा कारक पर्याप्त छ । यो कारकले आफ्नो प्रभाव कायम राखेको प्रमाण चुनावी नतिजा हुन् ।
प्रधानमन्त्री र उनको सरकारले सुशासनमा ध्यान दिनुपर्ने र कल्याणकारी योजनाको वितरणमा सुधार गर्नुपर्ने वेला आएको छ । धेरै मुद्दाहरूले ध्यानाकर्षणका लागि आवाज उठाइरहेका छन् । ग्रामीण क्षेत्रमा पर्याप्त चिकित्सक र स्वास्थ्य उपकरणको अभाव पनि एउटा मुद्दा हो ।
राजमार्ग निर्माणको सुरुङमा १७ दिनदेखि ४१ जना मजदुर फसेको पछिल्लो संकट एउटा उदाहरण हो । यो घटनाले डिजाइन र निर्माण कार्यबारे मात्र होइन, सरकार र पर्यवेक्षक निकायले कसरी कामदारका लागि उम्कने बाटो नभएको यस्तो एकतर्फी निर्माण कार्यलाई अनुमति दियो भन्नेबारे गम्भीर प्रश्न खडा गरेको छ ।
सुरुङ संकटले यो देखाउँछ कि कर्मचारीतन्त्र विशेषगरी सरकारी आयोजनाको सुपरीवेक्षणमा संलग्नकर्ताको आफ्नै सोच छ । यी स्वयंसेवा गर्ने अधिकारीलाई अर्को घटनाहुनुअघि पहिचान र दण्डित गर्न आवश्यक छ ।
मोदी फ्क्याटरले विहारबाहेक हिन्दी बोलिने अन्य भेगमा सबै मुद्दालाई उछिनेको छ, जसको परीक्षण हुन बाँकी छ । मन्दिरको मुद्दाजस्तै भाजपाका अधिकांश अभियान हिन्दी बेल्टमा केन्द्रित छन् । यी अभियान आवश्यक नहुन सक्छन् ।
चुनावी प्रचारप्रसारका लागि विभिन्न प्रदेशमा मन्त्री तथा सांसद पठाउने सत्तारुढ दलले अब आयोजना र सरकारी योजनाको कार्यान्वयनको नजिकबाट अनुगमन र सुपरीवेक्षण गर्न आग्रह गर्नुपर्छ ।
चुनावी नतिजाहरूले एउटा महत्वपूर्ण प्रश्न खडा गरेको छ, के मोदी फ्याक्टरजस्ता विषयविरुद्ध मतदातालाई प्रभाव पार्नका लागि नि:शुल्क सेवा पर्याप्त छन् ? राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले दिएको नि:शुल्क सुविधाले कंग्रेसलाई आफ्नो कब्जामा ठूलो संख्यामा रहेको सिट गुमाउनबाट रोक्न सकेन ।
सहरी आवश्यकता पूरा गर्न तमिलनाडुमा लोकप्रिय सस्तो चामल वितरण योजनाजस्ता नि:शुल्क सुविधा अब परिवर्तन हुन थालेका छन् । सबै दलका राजनीतिज्ञ मतदातालाई बहकाउन मात्र नभई ठुल्ठूला वाचा गर्ने प्रतिद्वन्द्वी दलसँग प्रतिस्पर्धा गर्न यस्ता नि:शुल्क सेवा प्रदान गर्न बाध्य हुनेछन् ।
तर, सबै पक्षहरूले समान प्रस्ताव गर्ने परिदृश्यमा यो कत्तिको उपयोगी छ भन्ने प्रश्न अझै बाँकी छ । केन्द्रमा सत्तारुढ दल भएकाले भाजपाले नि:शुल्क सुविधाले राष्ट्रिय कोषमा थोपर्ने तनाव र पूर्वाधार विकास र अन्य कार्यक्रमका लागि आवश्यक कोषको रकम कसरी घटाउने भनेर चिन्ता गर्न आवश्यक छ । स्वदेश र विदेशमा एउटा प्रशंसनीय नेताका रूपमा प्रधानमन्त्रीसँग प्रभावकारी प्रशासक र राजनीतिज्ञको रूपमा आफ्नो विरासतमा चिन्तित हुनुपर्ने कारण छन्, जुन चुनावी विजेताको छविभन्दा पनि ठूलो छ । यसकारण भाजपाले चुनावी नतिजा र मोदी छविको शक्तिको पुष्टि गर्ने अवसरलाई प्रदर्शन र वितरणमा केन्द्रित गर्न प्रयोग गर्नुपर्छ ।
(दासगुप्ता भारतीय पत्रकार, लेखक र चीन विशेषज्ञ हुन्)
– एनडिटीभिबाट