१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २३ शनिबार
  • Sunday, 11 May, 2025
बिहीबार राति ११:४० मा फ्लाई दुबईको उडान नम्बर एफ जेट ५७३ बाट काठमाडौं उत्रिएका गोरखाका चन्द्र घलेबाट बरामद १४ केजी तस्करीको सुन । तस्बिर : रत्न श्रेष्ठ/रासस
सुवास भट्ट काठमाडाैं
२o८o मङ्सिर २३ शनिबार o६:२९:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रोकिएन त्रिभुवन विमानस्थलबाट सुन तस्करी : पाँच महिना नबित्दै फेरि १४ किलो सुन बरामद

Read Time : > 2 मिनेट
सुवास भट्ट, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २३ शनिबार o६:२९:oo

विमानस्थल भन्सारमा दुबईबाट १० किलो तस्करीको सुन आउँदै गरेको पूर्वसूचना थियो, आयो १४ किलो, दुई भरिया पक्राउ परे भने सुन कसको हो भन्ने खुल्न बाँकी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी अझै रोकिएको छैन । करिब ६१ किलो तस्करीको सुन बरामद भएको पाँच महिना नपुग्दै विमानस्थलबाट बिहीबार फेरि १४ किलो सुनसहित एकजना पक्राउ परेका छन् । 

राति ११:४० मा फ्लाई दुबईको उडान नम्बर एफ जेट ५७३ बाट काठमाडौं उत्रिएका गोरखाका चन्द्र घलेलाई विमानस्थलस्थित भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो । उनीबाट दुई–दुई किलोका सातवटा बिस्कुट आकारमा १४ किलो सुन बरामद गरेको छ । भन्सार विभागको प्रयोगशालामा गरिएको परीक्षणमा बरामद सुन २४ क्यारेटको रहेको पुष्टि भएको छ । 

डा. टोकराज पाण्डे, कार्यालय प्रमुख, त्रिभुवन विमानस्थल भन्सार कार्यालय
१४ किलो सुन बरामद भएपछि छानबिनका लागि कार्यालयका उपसचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । समितिले घटनासँग सम्बन्धित समग्र पक्षको छानबिन र अनुसन्धान गर्नेछ । समितिले प्रतिवेदन दिएपछि नै धेरै कुरा खुल्ला । 

पूर्वसूचनाका आधारमा विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डे नेतृत्वको विशेष टोलीले विमानस्थल सुरक्षा कार्यालयको विशेष सहयोगमा चन्द्रलाई पक्राउ गरेको थियो । तस्करीको सुन ल्याएर आउँदै छन् भन्ने सूचना पाएको कार्यालयले उनी विमानबाट झर्नेबित्तिकै पहिचान गरेर खानतलासी गरेको थियो । चन्द्रले ज्याकेटभित्र छातीको दायाँ–बायाँ पर्ने गरी कपडामा बेरेर लुकाएर सुन ल्याएका थिए । 

चन्द्रले निकासी–पैठारी नियन्त्रण ऐन, २०१३ र भन्सार ऐन, २०६४ अन्तर्गत भन्सार भहसुल छली तथा चोरी–पैठारीको कसुर गधज्ञरेको देखिएको कार्यालयले जनाएको छ । चन्द्रलाई समातेपछि उनले पोलेका गोरखाकै मीनबहादुर घलेलाई पनि भन्सार क्षेत्रबाहिरबाट पक्राउ गरिएको छ । उनीहरू दुवैलाई प्रहरी हिरासतमा राखिएको छ । उनीहरूमाथि थप छानबिन चलिरहेको छ । अब अनुसन्धान दोस्रो चरणमा प्रवेश गरेको कार्यालयले जनाएको छ । आइतबारदेखि उनीहरूको बयानसमेत सुरु हुनेछ । 

यसअघि गत २ साउनमा राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सार परिसरबाटै तस्करी भएर आएको ६० किलो ६८९ ग्राम सुन बरामद गरेको थियो । यसमाथि सुरुमा विभाग र पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन गरेर अहिले काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन छ । 

विमानस्थल भन्सार कार्यालयलाई तस्करीको सुन आउँदै छ भन्ने पूर्वसूचना थियो । ‘सूचनाका आधारमा केही दिनदेखि नै विमानस्थलमा आउने–जाने, खासगरी अन्तर्राष्ट्रिय उडानमा बढी चासो दिँदै शंकास्पद गतिविधिमा निगरानी गरिरहेका थियौँ,’ कार्यालय प्रमुख डा. पाण्डेले भने, ‘अघिल्लो दिन (बुधबार) पनि केही उडानलाई अनुसन्धानको दायरामा ल्याएका थियौँ ।’

पाण्डेका अनुसार कार्यालयले निगरानी गर्न टोली नै बनाएर खटाएको थियो । सुन आउने उडान क्षेत्र, यात्रु र समयसमेतको पहिचान भइसकेको थियो । करिब ४८ घन्टादेखि नै कार्यालय र प्रहरीसहितको संयुक्त टोली तस्करीको सुन बोकेर आउने व्यक्तिलाई पक्राउ गर्न तयारी अवस्थामा खटिएको थियो । 

‘ज्याकेटको भित्र दुई–दुई किलो सुनका सात बिस्कुट लुकाएर ल्याएका चन्द्र घलेलाई विमानबाट झर्नेबित्तिकै नियन्त्रणमा लियौँ,’ कार्यालय प्रमुख पाण्डेले भने, ‘अनुसन्धानका क्रममा वाकथ्रु गेटमा ल्याएर चेकजाँच गर्दा सुनको तौल १४ किलो देखियो ।’ भन्सार कार्यालयका अनुसार भन्डै १० किलोजति सुन आउने पूर्वसूचना प्राप्त भएको थियो, तर बरामद भएको सुनको तौल १४ किलो देखिएको छ । 

स्थलमार्गबाट पनि हुन्छ सुन तस्करी 
प्रहरीले शुक्रबार बिहान उपत्यका भित्रिने मुख्य नाकाबाट नागढुंगाबाट दुई किलो सुनसहित रसुवा गोसाइँकुण्ड– ५ का २६ वर्षीय बिरु तामाङ, २१ वर्षीय सुनील भुजेल र २८ वर्षीय ग्यालछिरिङ तामाङलाई पक्राउ गर्‍यो । उनीहरूले बागमती प्रदेश ०१ ०२८ च २६९७ नम्बरको स्कार्पियोको गियर बक्समा लुकाई रसुवा नाका हुँदै सुन काठमाडौं ल्याएका थिए । 

त्यसअघि गत १३ असोजमा दोलखाको उत्तरी फलेक नाका हुँदै तस्करी भई आएको ११ किलो सुन बरामद भयो । उक्त सुन चिनियाँ व्यापारी ६६ वर्षीय टासी दावा भनिने आगर लामा र गेङ राउले नेपाल भित्र्याएका थिए । घटनामा संलग्न १५ अभियुक्तलाई प्रहरीले पक्राउ गर्‍यो । अनुसन्धानपछि खुल्यो, उक्त समूहले वर्षदिनभित्र सोही नाकाबाट ३३ किलो सुन तस्कर गरिसकेका थिए । 

तस्करीबारे छानबिन गर्न ६ सदस्यीय समिति
१४ किलो सुन तस्करी घटनाबारे छानबिन गर्न भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत (उपसचिव) मणिराम पौडेलको संयोजकत्वमा गठन गरेको समितिमा प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा र लोकराज ढुंगाना तथा शाखा अधिकृत मञ्जु थापा सदस्य छन् ।

सुन तस्करीको ‘रेट’ : विमानस्थलसम्म ल्याउनेलाई ६० हजार, बाहिर व्यवस्थापन गर्नेलाई एक लाख ४० हजार 
चन्द्र घले र मीनबहादुर घलेलाई पक्राउ गरेसँगै तस्करीका सम्बन्धमा उनीहरूसँग सोधपुछ चलिरहेको छ । स्रोतका अनुसार सुन बोकेर आउने चन्द्रको भूमिका खालि भरियाको जस्तो मात्र देखिन्छ । उनी विमानस्थलसम्म सुन ल्याउने मात्रै हुन् । त्यस्तै, प्रारम्भिक अनुसन्धानमा मीनबहादुरको भूमिका नेपाली बजारमा सुनको व्यवस्थापन गर्ने देखिएको छ ।

अर्थात् दुवै मुख्य तस्कर होइनन्, भाडामा काम गर्ने मात्र हुन् । ‘प्रारम्भिक रूपमा बुझ्दा चन्द्रले दुबईबाट सुन ल्याउने र मीनबहादुर नेपालमा त्यसको आवश्यक व्यवस्थापन गर्नेमा संलग्न भएको देखिन्छ,’ स्रोत भन्छ । यी दुवै गाउँले रहेको पहिचान भएको छ । उनीहरू दुवैले प्रारम्भिक बयान पनि त्यही दिएका छन् ।

यसका लागि आफूहरूले पाउने पारिश्रमिकबारे पनि उनीहरूले खुलाएका छन् । चन्द्रले दुबईबाट एक खेप ल्याउँदा ६० हजार रुपैयाँ र मीनबहादुरले त्यसको आवश्यक व्यवस्थापन गरेबापत एक लाख ४० हजार रुपैयाँ लिने गरेको प्रारम्भिक बयानमा बताएका छन् ।