१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १९:३७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पहिलो खेलमा पाकिस्तानसँग नेपाल सात विकेटले पराजित

एसिसी यू- १९ एसिया कप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १९:३७:oo

एसिसी यू- १९ एकदिवसीय एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पराजित भएको छ ।  नेपाली यू– १९ टिमले पाकिस्तानको यू- १९ टिमलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । 

दुबईको आइसिसी एकेडेमी ओभल– २ मा भएको खेलमा नेपालको यू- १९ टिम पाकिस्तानको यू– १९ सँग सात विकेटले पराजित भएको हो । नेपालले दिएको एक सय ५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्‍याे । 

पाकिस्तानको तर्फबाट आजन आविसले ६२ बलमा आठ चौकासहित ५६ रन बनाए । उनी अविजित रहे । यस्तै, कप्तान साद बेग ५६ बलमा ५ चौका बनाई ५० रनमा आउट भए । 

आजको खेलमा ब्याटिङ–बलिङ दुवैमा नेपालले निराशाजनक प्रदर्शन गर्‍याे । टस जितेर पाकिस्तानले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै एक सय ५२ रन बनाएको थियो । 

नेपालका लागि उत्तमरञ्जु थापामगरले सबैभन्दा बढी ५१ रन बनाए । ७६ बलको सामना गरेका उत्तमले दुई छक्का र तीन चौका प्रहार गरे ।

बलिङतर्फ नेपालको गुल्सन झाले दुई तथा आकाश त्रिपाठीले एक विकेट लिए । तर, बलिङमा पाकिस्तानको तर्फबाट मोहम्मद जिसानले ६ विकेट लिँदै नेपाली ब्याटिङ लाइनअपलाई धराशायी बनाए । उनलाई अमिर असनले दुई विकेट लिएर साथ दिए । 

सुरुवातदेखि नै विकेट गुमाएपछि नेपाल दबाबमा आएको थियो । एक समय ४६ रनमा पाँच विकेट गुमाइसकेको नेपाललाई उत्तम थापा र दीपेश कँडेलले सम्हाल्ने प्रयास गरेका थिए । यी दुईबीच ६८ रनको साझेदारी भएको थियो । दीपेश ५९ बलमा दुई चौका र एक छक्कासहित ३१ रनमा आउट भएपछि साझेदारी मात्र तोडिएन, नेपालले अलआउट नै हुन पुग्यो । 

नेपाली ओपनर अर्जुन कुमाल २१, अर्का ओपनर तिलक भण्डारी सात, मध्यक्रमका आकाश त्रिपाठी ६ र कप्तान देव त्रिपाठी शून्य रनमा पेभेलियन फर्किएपछि नेपाल संकटमा पर्‍याे ।

अझ, यही प्रतियोगिताका लागि भनेर टिममा समावेश गरिएका राष्ट्रिय सिनियर टिमका अलराउन्डर गुल्सन झा एक रनमै बोल्ड भएपछि नेपालको कमर भाँचियो ।

विशालविक्रम केसीले एक रन बनाए भने विकेटकिपर विपिन रावल शून्य रनमा आउट भए । अन्तिम विकेटका रूपमा आकाश चन्दले पाँच रन बनाउँदा सुवास भण्डारी आठ रनमा अविजित रहे ।

नेपालले दोस्रो खेलमा आइतबार अफगानिस्तान र तेस्रो खेलमा मंगलबार भारतसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ । शीर्ष दुईमा रहन नेपालले अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब छ ।

ad
ad