
सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र भारतीय राष्ट्रिय कंग्रेसको तुलना गर्दा आउने भिन्नतामा प्रायः नरेन्द्र मोदीको लोकप्रियता, कर्पाेरेट मिडिया भाजपापरस्त भएको आरोप, भाजपाको चुनावी अभियानमा आउने ठूलो राशिको धन र हिन्दू राष्ट्रवादी विचारधारा उल्लेख गरिन्छ । उसो त यी कारकले भाजपाको चुनावी विजयमा नसघाएका होइनन्, तर यी कारकले भाजपाको अप्रत्यासित विजयलाई पूर्ण रूपमा व्याख्या गर्न सक्दैन ।
हार्ने भनिएको मध्यप्रदेश र छत्तिसगढको चुनावमा भाजपाले कसरी भारी मतले विजय हासिल ग¥यो त ? वास्तवमा हामीले अप्रत्यासित नतिजा पहिले पनि देखेका थियौँ । सन् २०२२ मा विपक्षी लहर (एन्टी–इन्कम्बेन्सी) छ भन्ने पूर्वानुमानका बाबजुद भाजपाले उत्तराखण्डको चुनावमा विपक्षीको पत्तासाफ गर्ने गरी विजय हासिल गरेको थियो । सन् ०१७ देखि सत्तासीन रहेको भाजपा उत्तर प्रदेशमा विजयी हुने धेरैले आकलन गरेका थिए ।
तथापि भाजपाकै नेता र गठबन्धन साझेदारले चार सय चार सिटमा तीन सय १२ सिट ल्याएर जित्छौँ भन्ने ठानेका थिएनन् । यसरी पत्तासाफ गर्ने गरी हुने चुनावी विजयलाई लिएर भाजपाविरुद्ध मतदान गर्ने आममतदाता पनि विद्युतीय मतदान मसिनमा छेडखानी भएको हो कि भनेर सन्देह गर्ने गर्छन् । तर, विद्युतीय मतदान मेसिनमा छेडखानी भएको हो भने भाजपाले किन कर्नाटकजस्ता राज्यमा लज्जास्पद हार व्यहो¥यो ?
सक्रिय एवं विशाल बुथ कार्यकर्ता : भाजपालाई चुनाव जिताउने विशेष कारक अर्थात् एक्स–फ्याक्टर भनेको भाजपाको संगठन हो । मध्यप्रदेशको भाजपा प्रमुख बिडी शर्माले आफ्नो पार्टीले कंग्रेसलाई आठ प्रतिशतले उछिन्नुका पछाडि ४० लाख बुथ कार्यकर्ताको मिहिनेत हो भन्ने बताएका थिए ।
भाजपालाई चुनाव जिताउने विशेष कारक अर्थात् एक्स–फ्याक्टर भनेको भाजपाको संगठन नै हो
यी बुथ कार्यकर्ता के गर्छन् त ? यी कार्यकर्ताले नागरिकलाई पार्टीको पहुँचमा भएको महसुस गराउँछन् । भाजपाले प्रत्येक ५० घरधुरीमा एकजना बुथ कार्यकर्ता तयार पार्ने महत्वाकांक्षी लक्ष्य राखेको छ र यो लक्ष्य हिन्दी बाहुल्य राज्यमा पूरा भएको हो कि भन्ने देखिन्छ ।
कंग्रेस र अन्य विपक्षी पार्टीका हकमा प्रत्येक बुथमा मुस्किलले एक वा दुईजना बुथ कार्यकर्ता मात्रै हुने गर्छन् र यी कार्यकर्ता प्रायः हतोत्साहित रहन्छन् । र, यिनको सम्बन्ध स्थानीय नेतामा मात्रै सीमित हुने गर्छ । यो अवस्थामा मतदाता भाजपासँग जोडिन सहज मान्छन्, किनभने मतदाताले सजिलै पार्टीमा पहुँच पाउँछन् र आफ्ना समस्या सुनाउने मौका पनि पाउँछन् ।
मोदी–शाह कालको नयाँ भाजपाले चुनाव बुथस्तरमै जितिने वा हारिनेमा विश्वास गर्छ । पार्टीले कार्यकर्ताबाट प्रत्येक बुथमा कम्तीमा ५१ प्रतिशत मत आफ्नो पक्षमा पार्ने लक्ष्य राख्छ । यो लक्ष्यको सफलतालाई कम्तीमा एक हजार चार सय मतदाता हुने बुथको अध्ययन गरेको निर्वाचन आयोगको फर्म २० को तथ्यांकले पुष्टि गर्छ ।
ह्वाट्सएपमा भाजपाको वर्चस्व : कंग्रेसलगायत विपक्षी दलले ह्वाट्सएपमा भाजपालाई उछिन्न सक्दैनन्, किनभने यी पार्टीसँग ह्वाट्सएप ग्रुप चलाउन र सन्देश फैलाउन आवश्यक विशाल जनशक्तिको अभाव छ । अन्य दलमा झैँ स्थानीय नेताबाट नभई भाजपामा ह्वाट्सएपका लागि आवश्यक जनशक्ति केन्द्रबाट नै व्यवस्थापन हुने गर्छ । केन्द्रले प्रविधिको प्रयोग गर्दै बुथस्तरमा सरकारी योजनाका लाभार्थी र सामाजिक सञ्जाललक्षित कार्यक्रम चलाउन विशेष भूमिका खेल्छ ।
यी जनशक्तिलाई भाजपाले निपूणताका साथ व्यवस्थापन गर्ने गरेको छ जुन कंग्रेसलगायत अन्य पार्टीमा देखिँदैन । कार्यकर्तालाई दिइने जिम्मेवारी प्रविधिबाट रुजु गरिन्छ । हालका दिनमा बुथस्तरका सरकारी योजनाका लाभार्थी र सामाजिक सञ्जाललक्षित कार्यक्रमका लागि पार्टीले पद नै सिर्जना गरेको छ । जब पार्टी अप्ठ्यारो अवस्थामा जान्छ, अर्थात् विरोधी लहर व्यहोर्ने अवस्थामा पुग्छ वा विपक्षी उम्मेदवार बलिया देखिन्छन्, तब पार्टीको संगठनात्मक संरचनाले भूमिका खेल्छ । मध्यप्रदेश, छत्तिसगढ र राजस्थानमा पार्टीको संगठनात्मक संरचनाले नै भूमिका खेलेको हो ।
भाजपाका उच्चस्तरका नेता आफ्ना कार्यकर्तालाई केही न केही ढंगले सम्बोधन गरि नै रहन्छन् । प्रधानमन्त्री नरेन्द्र मोदीसमेत आफ्ना कार्यकर्ता नियमितजसो सम्बोधन र सम्मान गरिरहन्छन् । उदाहरणका लागि यही जुनमा प्रधानमन्त्री मोदीले मुलुकभरिका करिब १० लाख कार्यकर्तालाई सम्बोधन गरेका थिए । महत्वपूर्ण कुरो के भने यो सम्बोधन मध्यप्रदेशको भोपालमा भएको थियो ।
तपाईंले कंगेस अध्यक्ष मल्लिकार्जुन खड्गे वा अनौपचारिक अध्यक्ष राहुल गान्धीले आफ्ना कार्यकर्तालाई सम्बोधन गरेको समाचार कति देख्नु÷पढ्नुभएको छ ? यदि तपाईं हिन्दी बाहुल्य राज्यका कार्यकर्तालाई भेट्नुहुन्छ भने तिनले निर्देशन त परको कुरा भयो, कसैले आफूलाई नभेट्ने वा आफ्नो सुझावसमेत ग्रहण नगरेको गुनासो पोख्छन् । स्थानीय नेता यी कार्यकर्तालाई पैसा, भरोसा, वैचारिक प्रोत्साहन, पद वा अन्य कुनै पनि किसिमका प्रोत्साहन दिँदैनन् । नतिजा, ढिलो–चाँडो यी कार्यकर्ता भाजपा प्रवेश गर्छन् ।
के संगठन निर्माण अप्ठ्यारो काम हो ? : कंग्रेसले आफूअनुकूल मिडिया कभरेज वा चुनावका लागि आवश्यक रकम उठाउने मामिलामा भाजपालाई उछिन्न नसके पनि कंग्रेसका लागि प्रभावकारी केन्द्रीकृत पार्टी संगठन निर्माण गर्न गाह्रो छैन । कंग्रेसले भाजपास्तरको संगठन बनाउन नसके पनि भाजपासँगको संगठनात्मक भिन्नता घटाउन सक्छ ।
दक्षिण भारततर्फ जाने हो भने कर्नाटकको चुनावी विजयमा भाजपाका निरुत्साहित कार्यकर्ता र विरोधी लहरले मात्रै नभई संगठनले पनि काम गरेकै हो । तेलंगनाको विजयमा पनि कंग्रेस पार्टीले कार्यकर्तामा राम्रै लगानी गरेको थियो । यस अर्थमा राजस्थान, मध्यप्रदेश र छत्तीसगढको कंग्रेस पार्टीले दक्षिण भारतबाट पाठ सिक्न सक्छन् । छुटेको कुरा भनेको कंग्रेसले राहुल गान्धीले चलाएको भारत जोडो यात्रासँगै समानान्तर रूपमा संगठन निर्माण गर्न नसक्नु हो । कंग्रेस पार्टी अवश्यम्भावी ढंगले सन् ०२४ को लोकसभा चुनावमा नराम्रोसँग पराजित हुनेछ, तथापि कंग्रेस आफ्नो अस्तित्व जोगाउन चाहन्छ भने कंग्रेससँग आउने लोकसभा चुनावमा संगठन निर्माण गर्ने अवसर भने छ ।
(विज नयाँदिल्लीमा आधारित पत्रकार एवं राजनीतिक विश्लेषक हुन्) – गल्फ न्युज