दशौँ राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने

सुर्खेतमा निर्माणाधीन रंगशाला अवलोकन गर्दै खेलकुदमन्त्री डिगबहादुर लिम्बू

शुक्रबार, २२ मंसिर, २०८०
डिजिटल संस्करण

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताएका छन् । सुर्खेतमा निर्माणाधीन रंगशाला अवलोकन गर्ने क्रममा मन्त्री लिम्बूले भवितव्य अवस्थामा बाहेक प्रतियोगिता निर्धारित मितिमै हुने विश्वास दिलाएका हुन् । 

‘भवितव्य परस्थितिबाहेक प्रतियोगिता निर्धारित समयमै हुन्छ,’ मन्त्री लिम्बूले भने, ‘भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको लगानी र प्रदेश खेलकुद परिषद्को सक्रियतालाई धन्यवाद दिन चाहन्छु ।’ उनले पूर्वाधार अभावमा प्रतियोगिता प्रभावित नहुने बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले ०८१ मंसिरमा दशौँ राष्ट्रिय खेलकुद सम्पन्न गर्न राज्यका तीनै तहको उत्तिकै भूमिका रहने बताए । दशौँ राष्ट्रिय खेलकुदको पूर्वतयारीका लागि आवश्यक परामर्शका लागि सुर्खेत पुगेको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को टोलीले रंगशालाको अवलोकन गरेको छ ।

आठ बिघा क्षेत्रफलमा निर्माण भइरहेको रंगशालाको हालसम्म ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको प्रदेश खेलकुद परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए । आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम भएको भन्दै सञ्ज्यालले बहुउद्देश्यसहित मार्सल आर्ट र ब्याडमिन्टनका समेत तीनवटा कभर्ड हल निर्माण भएको जानकारी दिए ।यसैबीच, कोहलपुर क्रिकेट रंगशालालाई महिला क्रिकेट एकेडेमी बनाउनुपर्नेमा मन्त्री लिम्बूले सुझाए । उनले स्थानीय तहसँगको सहकार्यमा रंगशालाको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

सुझावित समाचार