१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
सौरभ यादव राजविराज
२o८१ जेठ २ बुधबार ११:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि हस्ताक्षर संकलन

Read Time : > 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:५८:oo

अलपत्र अवस्थामा रहेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको कार्य सञ्चालन हुनुपर्ने माग गर्दै आन्दोलित सप्तरी युथ नेपालले बुधबारदेखि सातदिने हस्ताक्षर अभियान सुरु गरेकाे छ।

दोस्राे चरणको आन्दोलनअन्तर्गत सातदिने हस्ताक्षर अभियान थालिएको आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवले जानकारी दिए। 

‘यसअघि हामीले पहिलो चरणमा प्रधानमन्त्रीका लागि ज्ञापनपत्रदेखि जिल्ला प्रशासन कार्यालयअगाडि शान्तिपूर्ण धर्नाका कार्यक्रम गर्दासमेत माग सुनुवाइ हुन सकेको छैन,’ उनले भने, ‘त्यसपछि हामीले दोस्राे चरणमा सातदिने हस्ताक्षर अभियान सुरु गरेका छौँ ।’ राजविराज नगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष जयनारायण मण्डलले हस्ताक्षर गरेर अभियानको शुभारम्भ गरेका हुन्।’

हस्ताक्षर अभियानअन्तर्गत बुधबार दिउँसोसम्म मात्रै हजारभन्दा बढी व्यक्तिको हस्ताक्षर संकलन भइसकेको उनले बताए। 

‘प्रतिष्ठान निर्माणले सप्तरीको मात्रै होइन, मधेशकै विकास र समृद्धिमा टेवा पुग्नेछ,’ उनले भने, ‘त्यसैले हाम्रो हस्ताक्षर अभियानमा सर्वसाधारणदेखि समाजसेवी, जनप्रतिनिधि, नागरिक अगुवा, कर्मचारी, राजनीतिकर्मी, सञ्चारकर्मीलगायतकाले स्वस्फूर्त रूपमा सघाइरहेका छन्।’

उनका अनुसार सात दिनमा १० हजार हस्ताक्षर संकलन गरिनेछ भने त्यसपछि नाै सय ९९ वटा चिठी प्रधानमन्त्रीका लागि पठाइनेछ। एक प्रदेश, एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीतिअनुसार १६ पुस ०७५ मा मन्त्रिपरिषद्कोे बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो।

यसका लागि २१ जेठ ०७८ मा मन्त्रिपरिषद्ले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका– १० बिरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो।

जग्गाको टुंगो लागेपछि त्यही जग्गामा २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। तर, शिलान्यासको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि निर्माण कार्य सञ्चालन हुन सकेको छैन।

पूर्वाधार तयारी विकास समिति नेतृत्वविहीन

गजेन्द्रनारायण सिंह अस्पतालको परिसरमा प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको कार्यालय भए पनि नेतृत्वविहीन अवस्थामा छ।

समितिका अध्यक्ष डा. रोहित पोखरेल प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेपछि र गजेन्द्रनारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवं प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रञ्जितकुमार झा सरुवा भएर अन्यत्र गएपछि कार्यकारी निर्देशकको पदसमेत रिक्त छ। 

त्यसपछि कार्यालयमा करारमा रहेको तीनजना कर्मचारीको म्यादसमेत थप गरिएको छैन। यद्यपि, उनीहरू कार्यालय आउने–जाने भने गरिरहेका छन्।
 

ad
ad