१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format ११:५३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

साझेदारी नै चीन–युरोपियन युनियन सम्बन्धको आधार

चीन ‘साझेदार, प्रतिस्पर्धी र संरचनागत प्रतिद्वन्द्वी’ हो भन्ने युरोपियन युनियनको तीनमुखे अडानलाई एकैठाउँमा ल्याउन खोज्दा विरोधाभाष र द्वन्द्व अवश्यंभावी हुनेछ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५३:oo

चीन र युरोपियन युनियनबीच भएको सहमतिअनुसार २४औँ चीन–युरोपियन युनियन शिखर सम्मेलन ७ डिसेम्बरका दिन बेइजिङमा हुन गइरहेको छ । राष्ट्रपति सी जिनपिङले युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री ली छ्याङ, परिषद्का अध्यक्ष चाल्र्स मिसेल र आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले संयुक्त रूपमा शिखर सम्मेलनको अध्यक्षता गर्नेछन् । चार वर्षपछि हुन गइरहेको चीन–युरोपियन युनियन शिखर सम्मेलनप्रति युरोपेली समाजका विभिन्न वर्ग, विशेषतः व्यापारिक समुदायले उत्सुकता राखेको छ । यो शिखर सम्मेलनबाट सकारात्मक नतिजा हासिल हुनेछ भन्ने अपेक्षा गरिएको छ । यी अपेक्षाले चीन र युरोपियन युनियनबीचको संवादलाई पुनर्जागृत गरेको छ ।

सम्मेलनअघि चिनियाँ पक्षले चीन र युरोपियन युनियन प्रतिद्वन्द्वी होइनन्, दुवैबीचको भिन्न मतभन्दा साझा हित बढी रहेको भन्नेमा जोड दिएको थियो । यही कुरालाई यसअघिका करिब सबै महत्वपूर्ण चीन–युरोपियन युनियन सम्मेलन वा कार्यक्रममा चिनियाँ पक्षले जोड दिँदै आएको छ । चीनले युरोपियन युनियन प्रतिद्वन्द्वी होइन, हाम्रा साझा स्वार्थ छन् त्यसै भनिरहेको छैन । यो प्रत्याभूति युरोपमा चीनप्रतिको गलत बुझाइ चिर्न र चीनयुरोपियन सम्बन्धमा चीन प्रतिबद्ध रहेको देखाउन व्यक्त गरिएको हो । शिखर सम्मेलनले चीन–युरोपियन युनियन सम्बन्धको निरन्तर र बलियो विकासका लागि रणनीतिक दिशा प्रदान गर्नुपर्छ । युरोपेली पक्षले यस आधारभूत विषयमा थप स्पष्ट प्रतिक्रिया दिनु आवश्यक छ ।

युरोपेली परिषद्ले यही वर्षको ३० जुनमा जारी गरेको दस्ताबेजमा चीन अझै पनि ‘साझेदार, प्रतिस्पर्धी र संरचनागत प्रतिद्वन्द्वी’का रूपमा रहेको जनाएको थियो । चीनप्रतिको यो तीनमुखे अडान त्रुटिग्रस्त मात्र नभई हानिकारक पनि छ । यी अडानका आधारमा युरोपले बनाएको चीनप्रतिको नीति विशृंखल, अस्पष्ट र अत्यधिक अस्थिर छ । युरोपभित्रका भिन्न अवधारणा मिलाउन प्रयास गर्ने यो तेहरो दृष्टिकोणले धेरै युरोपेलीमाझ भ्रम पैदा गरेको छ र चीनबारे तिनको बुझाइलाई दिशाविहीन बनाइदिएको छ ।

चीन ‘साझेदार, प्रतिस्पर्धी र संरचनागत प्रतिद्वन्द्वी’ हो भन्ने युरोपियन युनियनको तीनमुखे अडानलाई एकैठाउँमा ल्याउन खोज्दा विरोधाभाष र द्वन्द्व अवश्यंभावी हुनेछ

‘साझेदार’, ‘प्रतिस्पर्धी’ र ‘संरचनागत प्रतिद्वन्द्वी’ तीन पृथक् अडान हुन्, एकै होइनन् । यिनलाई एकै ठाउँमा ल्याउन खोज्दा विरोधाभाष र द्वन्द्व अवश्यंभावी हुनेछ । व्यवहारतः चीनप्रति युरोपको अडान क्रमशः ‘प्रतिस्पर्धी’ वा ‘प्रतिद्वन्द्वी’को दिशातर्फ अघि बढिरहेको छ । यो परिवर्तन युरोपियन युनियनको चीनप्रतिको ‘जोखिममुक्त’ रणनीतिको समर्थन, राजनीतिक र सुरक्षा विचारमा बढेको चासो र चीनलाई लिएर अमेरिकाको नियन्त्रण नीतिसँगको समर्थनले स्पष्ट पारेको छ । यी सबै कारकले चीन–युरोपियन युनियन सम्बन्धमा अनावश्यक व्यवधान र अप्ठ्यारा निम्त्याउनेछ । यदि युरोपियन युनियन आफ्नो अवधारणालाई जारी नै राख्छ भने चीन र युरोप साँच्चैमा ‘साझेदार’बाट ‘प्रतिद्वन्द्वी’बन्ने सम्भावना रहन्छ । यो अवस्था दुवै पक्षका लागि अनिच्छित अवस्था हो ।

युरोपले यो महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्नुपर्छ र एक बृहत् रणनीतिक साझेदारी नै चीन र युरोपबीचको एक मात्र सही र उचित अडान हो भन्ने तथ्य स्वीकार गर्नुपर्छ । वास्तवमा साझेदारीलाई एक वस्तुगत तथ्यका रूपमा लिइनुपथ्र्याे, तर केही युरोपेलीले विभिन्न किसिमका दोषी चस्मा पहिरेका छन् र यो वस्तुगत तथ्यलाई देख्न सकिरहेका छैनन् । चीन र युरोपबीचको स्पष्ट भिन्नताको समयमा पनि बहुपक्षीयतालाई कायम राख्ने, विश्वव्यापी शासनलाई सुदृढ पार्ने र व्यापार संरक्षणवाद एवं एकपक्षीयताको विरोध गर्नेजस्ता आधारभूत मुद्दामा हाम्रो अडान निरन्तर रूपमा एक ठाउँमा थिए ।

जलवायु परिवर्तनजस्ता विश्वव्यापी समस्यालाई सम्बोधन गर्न र क्षेत्रीय शान्ति एवं स्थायित्वलाई प्रवद्र्धन गर्न समन्वय र पारस्परिक सहयोग सहज रहँदै आएको छ । यसबाहेक चीन र युरोपबीचको व्यापारको एक ठूलो हिस्साले धेरै पारस्परिक लाभकारी साझेदारयुक्त परियोजनालाई समर्थन गर्दै आएको छ । चीन र युरोपबीच कुनै ठूलो द्वन्द्व छैन । वास्तवमा सहयोगले नै हाम्रो सम्बन्धलाई व्यापक रूपमा परिभाषित गर्छ । यदि यो साझेदारी होइन भने यो सम्बन्धलाई के भन्ने ?

जबसम्म हामी हाम्रो दृष्टिकोण फराकिलो बनाउँछौँ र हाम्रो विवेकलाई उदार बनाउँछौँ, तबसम्म भिन्नतालाई पनि प्रभावकारी रूपमा व्यवस्थापन गर्न सकिन्छ । उदाहरणका लागि, युरोपियन युनियनको ग्लोबल गेटवे रणनीति र बेल्ट एन्ड रोड इनिसिएटिभ एक–अर्काको विरोधी नभई पारस्परिक सहयोगी रहेको दाबी गर्दै विदेश मामिला र सुरक्षा नीतिका लागि युरोपियन युनियनका उच्च प्रतिनिधि जोसेप बोरेल फन्टेलले जनाएका छन् ।

उनले यी दुवै पहलले विश्वव्यापी विकासलाई प्रोत्साहन गर्ने साझा लक्ष्य प्रस्तुत गरेकोमा जोड दिएका थिए । वैश्विक पूर्वाधारको अन्तर खर्बाै डलरमा छ र कुनै एक मुलुक वा आर्थिक संस्थाले यो वैश्विक बजारमा एकाधिकार जमाउन सक्दैन । त्यसैगरी केही स्थानीय द्वन्द्व र जल्दाबल्दा मुद्दामा युरोप र चीनले युद्धविराम र शान्तिवार्तामा सक्रिय संलग्नता प्रदर्शन गरेर रणनीतिक सहमतिमा एक ठाउँमा आउने गरेका छन् । असहमतिका सन्दर्भमा टकरावलाई प्रोत्साहन गर्नुको सट्टा संवाद र सञ्चारको माध्यमबाट असहमतिको सम्बोधन गर्न सकिन्छ ।

यसपटकको चीन–युरोपियन युनियन शिखर सम्मेलन बृहत् रणनीतिक साझेदारी स्थापनाको २०औँ वार्षिकोत्सवको साथै चीन–युरोपियन युनियन शिखर सम्मेलन संयन्त्रको २५औँ वार्षिकोत्सवका दिन परेको छ । यो शिखर सम्मेलनले विगतका उपलब्धिलाई अगाडि बढाउने र भविष्यका विकासका लागि मञ्च तयार गर्नमा महत्वपूर्ण भूमिका खेल्नेमा चीन विश्वस्त छ । नेताबीचको भौतिकस्तरमा हुने संवादले आपसी समझदारी र विश्वासलाई बढाउनेछ ।

दुवै पक्षले नवप्रवर्तनको खोजी गरेर, संवाद र परामर्शको माध्यमबाट तमाम समस्याको सम्बोधन गर्दै सहकार्यमार्फत वैश्विक चुनौतीको सामनामार्फत व्यावहारिक सहयोगलाई सुदृढ बनाउन सक्छन् । यसले नै ‘व्यापक रणनीतिक साझेदारी’को मर्मलाई सार्थक बनाउनेछ । 
– ग्लोबल टाइम्सको सम्पादकीय