१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २१ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर २१ बिहीबार ११:१९:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

डिजिटल युगमा स्क्रिन एडिक्सनको चुनौती

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर २१ बिहीबार ११:१९:oo

‘मेरो बच्चा मोबाइल नदेखाई खानै खान मान्दैन ? अत्यधिक गेम खेल्ने बानीले बच्चा समयमा सुत्नै मान्दैन ? पढाइभन्दा धेरै मोबाइलमा झुम्मिन्छ ?’ यस्ता गुनासो धेरै अभिभावकले गर्ने गरेका छन् । बालबालिकामा मोबाइलको लतले विभिन्न समस्या देखिने गरेका छन् । यस्तो लतलाई समयमै नियन्त्रणमा राख्न नसक्दा उनीहरू मानसिक समस्याबाट ग्रसित हुने विभिन्न अध्ययनले औँल्याएका छन् । गत मार्चमा अमेरिकाको यले स्कुल अफ मेडिसिनअन्तर्गत साइक्याट्रिक डिपार्टमेन्टले कोलम्बिया स्कुल अफ नर्सिङसँग मिलेर नौदेखि १० वर्ष उमेरका पाँच हजार एक सय बालबालिकामा स्क्रिन एडिक्सनको लतका विषयमा अनुसन्धान गरेको थियो । 

ग्याजेटको लतले बालबालिकाको मस्तिष्कमा नकारात्मक प्रभाव परिरहेको उक्त अनुसन्धानको ठहर थियो । डिजिटल प्रविधिमा धेरै समय बिताउनेमा दुई वर्षपछि डिप्रेसन, एन्जाइटी, सोसल एन्जाइटीलगायत विभिन्न मानसिक समस्या देखिने गरेको उक्त प्रतिवेदनमा उल्लेख थियो । 

बालबालिका शारीरिक रूपमा आक्रामक हुने, चर्को स्वरमा बोल्ने, अरूले भनेको नटेर्नेलगायत समस्या देखिएको अनुसन्धानकर्ताहरूले औँल्याएका थिए । ‘बालबालिकाका अभिभावकहरू यस्तो जटिल अवस्थालाई समाधान गर्ने कोसिसमा हुन्छन् । तर, जटिल अवस्थामा पुगिसकेपछि बालबालिकाहरूलाई सहयोग गर्न अभिभावकसमेत असमर्थ रहने गरेको देखिएको छ,’ अध्ययन प्रतिवेदनका वरिष्ठ लेखक तथा यले स्कुल अफ मेडिसिनअन्तर्गत चाइल्ड स्टडी सेन्टरका प्रोफेसर मार्क पोटेन्जाले भने । 

अन्य धेरै अध्ययनले पनि बालबालिकालाई सीमित समय मात्रै मोबाइल चलाउन दिनुपर्ने औँल्याएका छन् । अमेरिकाको मिचिगन विश्वविद्यालयकी बालविकासविज्ञ डा. जेनी राडेस्की भन्छिन्, ‘अहिलेको दुनियाँमा बच्चाहरू स्क्रिनविना नै रमाउँछन् भनेर अभिभावकले अपेक्षा गरेर हुँदैन । तर, हामीले केही साना कदममार्फत प्रविधिको प्रयोग स्वस्थ्य रूपमा गर्न सक्छौँ ।’ बच्चाहरूलाई मोबाइल, ट्याबलेट, टिभीलगायत उपकरण चलाउन दिनका लागि निश्चित समय निर्धारण गर्नुपर्नेमा उनी जोड दिन्छिन् । ‘लगातार डिजिटल डिभाइसमा झुम्मिँदा विभिन्न शारीरिक समस्या देखिने भएकाले बच्चाहरूलाई सीमित समय मात्रै यसको प्रयोग गर्न दिनुपर्छ । उनीहरूलाई डिजिटल दुनियाँमा उपलब्ध सकारात्मक कन्टेन्टतर्फ आकर्षित गर्ने प्रयास गर्नुपर्छ । निश्चित समय चलाएपछि बन्द गर्नुपर्छ भन्ने सोच पनि उनीहरूमा विकास गर्नुपर्छ ।’ अभिभावक सँगै बसेर टेलिभिजनमा खेल हेर्ने, सामाजिक सञ्जालमा प्रेरक प्रसंग पढ्ने, बच्चालाई मैदानमै लगेर विभिन्न खेल खेलाउने, चित्रकला प्रदर्शनी, लाइब्रेरी, सिनेमा घर, पार्कलगायतमा घुमाउने कामसमेत गर्न सकिने राडेस्की बताउँछिन् । 

अभिभावककै कतिपय गल्तीका कारण बालबालिकाहरूको स्क्रिन एडिक्सन बढ्ने भएकाले यस्ता गल्ती गर्न नहुने पाटन अस्पतालका बालविकास विशेषज्ञ डा. अनिलराज ओझा बताउँछन् । ‘कतिपय अभिभावकले आफ्ना बच्चालाई पर्याप्त समय दिँदैनन् । जसकारण बच्चाहरू समय बिताउनका लागि मोबाइल खेल्न थाल्छन् । कतिपयले बच्चाहरू रिसाएका वा झर्किएका वेला उनीहलाई फकाएर शान्त बनाउन पनि मोबाइल दिन्छन् । खाना खान नमान्दा पनि मोबाइल दिने चलन छ । बिस्तारै यस्तो बानी बस्दै जान्छ र बच्चामा लतको विकास हुन्छ । कतिपय अभिभावक आफैँ मोबाइल र टिभीमा घन्टौँ बिताउँछन् । जसकारण, उनीहरूका बच्चाले पनि यस्तै गर्न सिक्छन् ।’

के गर्ने ?
- दुई वर्षभन्दा मुनिका बच्चालाई झुक्किएर पनि मोबाइल नदिनुस् ।

- दुई वर्षभन्दा माथिका बालकलाई केही समय मोबाइल चलाउन वा टिभी हेर्न दिँदा हुन्छ, तर अभिभावकसँगै राखेर छोटो समय मात्रै । 

- ६ वर्षपछि उनीहरूसँगै बसेर मोबाइलमा कहिलेकाहीँ गेम खेल्न सकिन्छ । तर, उनीहरूलाई इन्डोर र आउटडोर खेल पनि खेलाउनुपर्छ । जसकारण, शारीरिक रूपमा उनीहरू सक्रिय हुन्छन् र स्क्रिनमा ध्यान कम जान्छ ।

- किशोर अवस्थामा पुगेपछि मोबाइल, ल्यापटप, टिभीमा बच्चाको रुचि बढ्नु स्वाभाविक हो । यतिवेला उनीहरूलाई थर्काएर हुँदैन, मोबाइलको प्रयोग सीमित मात्रामा गर्नुपर्छ भनेर राम्ररी सम्झाउनुपर्छ । टिभी हेर्दा पनि बैठक कोठामा बसेर परिवारसँगै हेर्ने बानी विकास गर्नुपर्छ । किताब पढ्ने, चेस खेल्नेलगायत बानी विकास गर्न सकिन्छ । यस्ता उपायले पनि इन्टरनेटको लतबाट छुट्कारा पाउन मद्दत मिलेन भने मनोचिकित्सकको सहायता लिन सकिन्छ ।

- डिजिटल डिभाइसको लत बच्चामा मात्रै देखिन्छ भन्ने होइन । वयस्क व्यक्तिहरूमा पनि यस्तो समस्या देखिने गरेको छ । हप्तामा तपाईंले ३६ घन्टाभन्दा धेरै समय इन्टरनेटमा बिताउनुभयो भने यसलाई लत मानिन्छ । लतमा परिसकेपछि उम्कन सजिलो नहुने भएकाले पहिले यसलाई घटाएर १४ घन्टाभन्दा कम समयमा झार्नु राम्रो हुन्छ । 

त्यसपछि बिस्तारै अझै धेरै समय कटौती गर्न सकिन्छ । राम्रो महसुस गर्नका लागि मानिसहरूसँग भेटघाट गर्ने, खेल खेल्ने, परिवारसँग धेरै समय बिताउने, किताब पढ्ने, डायरी लेख्न थाल्नेलगायत काम गर्न सकिन्छ । जटिल समस्या देखिएमा मनोचिकित्सकको सहायता 
लिन सकिन्छ । 

डा. अनिलराज ओझा बालविकास विशेषज्ञ, पाटन अस्पताल
बच्चालाई मोबाइल खेल्न दिनुको साटो विभिन्न आउटडोर र इन्डोर खेल खेलाउन सकिन्छ । उनीहरूसँगै खेल्ने, घुम्ने गर्न सकिन्छ । क्रिकेट, फुटबलजस्ता खेलले उनीहरूलाई शारीरिक रूपमा सक्रिय गराउँछ र मोबाइलजस्ता उपकरणको प्रयोगमा उनीहरूको ध्यान त्यति जान पाउँदैन । सामाजिक कार्यक्रममा बच्चालाई पनि लैजानुपर्छ । जसले मानसिक र शारीरिक विकासमा सहयोग पुग्छ ।’