
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद–बिक्रीबारे छलफल गर्न बैठक बोलाएको छ। सचिव एकराम गिरीका अनुसार बुधबार दिउँसो २ बजे समिति बैठक बस्दै छ।
दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा प्रारम्भिक छलफल गर्न बैठक बोलाइएको गिरीले जानकारी दिए। यसअघि समितिले एनसेलको सेयर खरिद–बिक्रीमा कर छलीको आशंका गर्दै नियामक निकायहरूसँग जवाफ माग गरिसकेको छ।
समितिले आइतबार तीनवटा नियामक निकाय आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयलाई ९ वटा प्रश्न सोध्दै जवाफ मागेको थियो।
नियामक निकायहरूलाई थाहै नदिई मलेसियन टेलिकम कम्पनी आजियाटा ग्रुपले एनसेलमा रहेको आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई बिक्री गरेपछि समितिले ‘एनसेलको विदेशी होल्डिङ कम्पनीको स्वामित्वमा रहेको कम्पनीको सेयर खरिद–बिक्री वा हक हस्तान्तरण गर्दा कम्पनीले सेवा प्रवाह गरिरहेको मुलुकको कानुनी व्यवस्था परिपालना गर्नुपर्ने, नपर्ने के हो ?’ भनेर सोधेको छ।