
आर्थिक उत्पादन वृद्धि भएको छैन । देशको अवस्था नाजुक छ । गठबन्धनमा भएका पार्टीहरू देशप्रति गम्भीर भएको देखिँदैन । जनता निराश भएर दैनिक विदेश पलायन भइरहेका छन् ।
एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले जनतामा आस देखाउन नसकेको बताएका छन् । एमालेले सञ्चालन गरेको मध्यपहाडी राजमार्गलक्षित ‘समृद्धिका लागि संकल्प यात्रा’का क्रममा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले अहिलेको सरकारका कारणले जनतामा निराशा बढेको बताए ।
वर्तमान सरकारका कारण निराशा बढेकाले युवाहरू पलायन भइरहेको ओलीले दाबी गरे । ‘आर्थिक उत्पादन वृद्धि भएको छैन । देशको अवस्था नाजुक छ । गठबन्धनमा भएका पार्टीहरू देशप्रति गम्भीर भएको देखिँदैन,’ उनले भने, ‘जनता निराश भएर दैनिक रूपमा विदेश पलायन भइरहेका छन् ।’
गठबन्धन सरकारले जनता अलमल्याउने र भ्रममा पार्ने काम गरेको उनले आरोप लगाए । ‘एमालेले साढे तीन वर्ष सरकार चलाउँदा देशमा सुशासन कायम थियो । आशा जगाएको थियो । विकासको मूल फुटाएको थियो,’ उनले भने, ‘विद्युत् उत्पादन वृद्धि भएको थियो । आकाशमा स्याटेलाइट राख्ने तयारी थियो ।’
ओलीलाई राउटेले दिए कोसी उपहार
एमाले अध्यक्ष केपी ओली सोमबार दैलेखको गुराँस गाउँपालिकामा बस्दै आएका लोपोन्मुख राउटे बस्ती पुगेका थिए । उनलाई राउटे मुखिया सूर्यप्रकाश शाहीले कोसी उपहार दिए । राउटे समुदायको अस्तित्व बचाउँदै जीविकोपार्जनमा सहजता ल्याउन, शिक्षा र स्वास्थ्यमा पहुँच पुर्याउन नीतिगत र कार्यक्रमका हिसाबले सहयोग गर्न एमाले तयार रहेको ओलीले बताए ।