
नेपालीलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरूलाई नेपाल फर्काउन सरकारको पत्राचार
रुसमा मृत्यु भएकाहरू : १. सन्दीप थपलिया (गोरखा) २. रूपक कार्की (वाणगंगा– १, कपिलवस्तु) ३. देवान राई (पोखरा, कास्की) ४. पितम कार्की (पुतलीबजार– ५, स्याङ्जा) ५. राजकुमार रोका (मेलुङ– ६, दोलखा) र, ६. गंगाराज मोक्तान (इलाम– ५, इलाम)
रुस–युक्रेन युद्धमा अहिलेसम्म रुसी सेनामा कार्यरत ६ नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ । युद्धका क्रममा ६ नेपालीको मृत्यु भएको र एकजनालाई युक्रेनी सेनाले बन्दी बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । करिब दुई सय नेपाली रुसी सेनामा कार्यरत रहेको अनुमान छ ।
रुसी सेनाले मस्कोस्थित नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई जानकारी दिएपछि परराष्ट्र मन्त्रालयले मृत्यु र बन्धक नागरिकबारे सोमबार विवरण सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा कार्यरत गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको मृत्यु भएको छ ।
डा. मिलनराज तुलाधर, रुसका लागि नेपाली राजदूत
उहाँहरूको आइडी कार्ड र पासपोर्ट नम्बरका आधारमा नेपाली हुन् भन्ने भएपछि हामीलाई रुसी सेनाले जानकारी दिएको छ । उहाँहरू रुसी सैनिकमा भर्ती भएर युक्रेनसँगको युद्धका क्रममा मारिनुभएको जानकारी आएको छ । तर, मृतकको शवको अवस्थाबारे पनि हामीलाई जानकारी छैन, हामीले रुससँग विस्तृत जानकारी मागेका छौँ ।
‘उहाँहरूको आइडी कार्ड र पासपोर्ट नम्बरका आधारमा नेपाली हुन् भन्ने भएपछि हामीलाई रुसी सेनाले जानकारी दिएको छ । रुसी सेनाले नेपाली राजदूतावासलाई मृतकहरूको मृत्यु प्रमाणपत्रसमेत पठाएको छ,’ रुसका लागि नेपाली राजदूत डा. मिलनराज तुलाधरले नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘उहाँहरू रुसी सैनिकमा भर्ती भएर युक्रेनसँगको युद्धका क्रममा मारिनुभएको जानकारी आएको छ । तर, मृतकको शवको अवस्थाबारे पनि हामीलाई जानकारी छैन, हामीले रुससँग विस्तृत जानकारी मागेका छौँ ।’
नेपाल सरकारले उनीहरूको शव नेपाल पठाउन र परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । ‘रुसी सरकारलाई निजहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको छ,’ परराष्ट्रद्वारा जारी विज्ञप्तिमा छ ।
नेपाल सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न पनि रुस सरकारलाई आग्रह गरेको छ । ‘कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत नेपाल सरकारले रुसी सरकारलाई अनुरोध गरेको छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ । परराष्ट्र मन्त्रालयले कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरूको सेनामा भर्ना नहुन अनुरोध गरेको छ ।
सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा–व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरे जानकारी दिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ । ‘परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्नुहुन सर्वसाधारण सबैमा यस मन्त्रालय हार्दिक अपिल गर्दछ,’ परराष्ट्रले भनेको छ ।
परराष्ट्रले गत साउन १६ गते विज्ञप्तिमार्फत विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा भारत र बेलायतबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको जानकारी गराइसकेको पनि पुनः स्मरण गराएको छ । सरकारको यही नीतिबारे नेपाली राजदूतावासले रुसी विदेश मन्त्रालयलाई औपचारिक जानकारी दिइसकेको राजदूत तुलाधरले बताए ।
‘हामीले जानकारी पाएसम्म रोकेका छौँ । नेपाल सरकारले आग्रह गरिरहे पनि दलालहरूको फन्दामा परेर नेपाली नागरिक रुसको सेनामा भर्ती हुन गएको जानकारी छ । हामीसँग सोध्न आएकाहरूलाई हामीले सम्झाइबुझाई गरेर स्वदेश फर्काउने गरेका छौँ,’ राजदूत तुलाधरले भने । उनले ६ जनाको मृत्यु एकैपटक नभएको जानकारी दिए ।
उनले रुसी सेनामा नेपालीको भर्ती गर्ने नेपाल सरकारको नीति नभएको भन्दै सेनामा रहेका नेपालीको संख्याबारे रुससँग जानकारी मागिएको पनि बताए । ‘कूटनीतिक च्यानलमार्फत हामीले हाम्रा नागरिकको विषयमा पर्याप्त चासो राखेका छौँ, संवादमै छौँ,’ तुलाधरले भने ।
परराष्ट्र मन्त्रालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘भारत र बेलायतबाहेक अन्य देशको सेनामा नागरिकको भर्ती गर्ने नीति नेपाल सरकारको छैन । यो विषय रुस र युक्रेन दुवैलाई जानकारी गराइसकिएको छ ।’
रुसी सेनामा भर्ना नहुन सरकारको पुनः आग्रह
नेपाल सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न पनि रुस सरकारलाई आग्रह गरेको छ । ‘कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउनसमेत नेपाल सरकारले रुसी सरकारलाई अनुरोध गरेको छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ । परराष्ट्र मन्त्रालयले कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरूको सेनामा भर्ना नहुन अनुरोध गरेको छ ।
रुस जान नेपालीलाई सरकारको एड्भाइजरी
सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा–व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरे जानकारी दिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ । ‘परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्नुहुन सर्वसाधारण सबैमा यस मन्त्रालय हार्दिक अपिल गर्दछ,’ मन्त्रालयको विज्ञप्तिमा छ ।
युक्रेनमा विवेक खत्री बन्धक, छुटाउन पत्राचार
रामकाजी खड्का, युक्रेनसमेत हेर्ने जर्मनीका लागि नेपाली राजदूत
युक्रेन युद्धमा भएका कारण सोचेजसरी कुराकानी हुन पाएको छैन । तर, हामीले पत्र पठाएर चासो राखेका छौँ, सम्बन्धित निकायमा नेपालको चासो पुर्याउँछौँ भन्ने जानकारी आएको छ । योबाहेक केही पनि जानकारी छैन ।
परराष्ट्रले रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा रहेको पुष्टि गरेको छ । बर्दियाका खत्री रुसी सेनामा भर्ती भएपछि युक्रेनसँगको युद्धका क्रममा असोज अन्तिम सातादेखि रुसी सेनाको नियन्त्रणमा छन् । उनलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ ।
युक्रेनसमेत हेर्ने जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले खत्रीको रिहाइका लागि राजदूतावासले युक्रेन सरकारलाई पत्र पठाएको बताए । ‘युक्रेन युद्धमा भएका कारण सोचेजसरी कुराकानी हुन पाएको छैन । तर, हामीले पत्र पठाएर चासो राखेका छौँ, सम्बन्धित निकायमा नेपालको चासो पुर्याउँछौँ भन्ने जानकारी आएको छ । योबाहेक केही पनि जानकारी छैन,’ राजदूत खड्काले जर्मनीबाट टेलिफोनमा भने ।
नेपालले युक्रेनमाथि रुसी हमलाको विरोध गरेको थियो । यो सन्दर्भसमेत उल्लेख गर्दै नेपाल सरकारका तर्फबाट युक्रेनलाई खत्रीको रिहाइका लागि चिठी लेखिएको छ ।
युक्रेनको गृह मन्त्रालयका सल्लाहकार एन्टोन गेरासचेन्कोले २ कात्तिकमा ट्विटरमा खत्री युक्रेनी सुरक्षा फौजको नियन्त्रणमा रहेको भन्दै उनको भिडियो सार्वजनिक गरेका थिए । उक्त भिडियोमा खत्रीले घरको आर्थिक अवस्थाका कारण रुसी सेनामा भर्ती भएको बयान दिएका छन् । साथीका कारण रुसी सेनामा भर्ती भएको, तर अब घर फर्किन चाहेको पनि उनले बताएका छन् ।