१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बैंक ब्याजदर बढ्दा बिमा कम्पनीको नाफामा वृद्धि

व्यवसायमा उत्साह छैन, तर नाफामा दोहोरो अंकको वृद्धि

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:१८:oo

आर्थिक शिथिलताका कारण बिमा व्यवसायमा निराशा देखिए पनि बिमा कम्पनीहरूको नाफामा भने दोहोरो अंकको वृद्धि देखिएको छ । चालू आर्थिक वर्ष ०८०/८१ को पहिलो त्रैमासमा जीवन तथा निर्जीवन बिमाहरूको खुद नाफा औसतमा २७ प्रतिशतले बढेको छ ।

हाल नेपालमा १४–१४ वटा जीवन तथा निर्जीवन बिमा कम्पनी सञ्चालनमा छन् । उनीहरूले हालै सार्वजनिक गरेको पहिलो त्रैमासको वित्तीय विवरणसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो । समीक्षा अवधिमा वाणिज्य बैंकहरूको नाफा २८ प्रतिशतले घटेको छ । तर, बिमा कम्पनीहरूको नाफा भने २७ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ । समीक्षा अवधिमा २८ कम्पनीले दुई अर्ब ६९ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा उनीहरूको नाफा दुई अर्ब १२ करोड ८२ लाख रुपैयाँ रहेको थियो । 

बिमा कम्पनीहरूको यो नाफा बिमांकीय मूल्यांकनभन्दा अघिको हो । बिमांकीय मूल्यांकन गर्दा कम्पनीको बिमा कोषको १० प्रतिशतसम्म रकम नाफा–नोक्सान खातामा सार्न सकिन्छ । त्यसले गर्दा बिमा कम्पनीहरूको नाफा थप बढ्न छ । बिमा कम्पनीहरूले आफ्नो व्यवसाय तथा वित्तीय विवरणको लेखापरीक्षण मात्रै गरेर हुँदैन । बिमा दाबी, जोखिमलगायतका विषयलाई समेटेर थप बिमांकीय मूल्यांकन पनि गर्नुपर्ने हुन्छ ।

 जीवन बिमा कम्पनीको नाफामा ३३% वृद्धि 
समीक्षा अवधिमा जीवन बिमा कम्पनीको मात्रै नाफा ३३ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा १४ जीवन बिमा कम्पनीको नाफा एक अर्ब २९ करोड ४८ लाख रुपैयाँ थियो । यसपालि त्यो एक अर्ब ७१ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

जीवन बिमा कम्पनीतर्फ नाफा कमाउने मामिलामा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी पहिलो नम्बरमा छ । उक्त कम्पनीले समीक्षा अवधिमा २४ करोड १३ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । दोस्रो नम्बरमा एसियन लाइफ इन्स्योरेन्सले १६ करोड ६१ लाख ६६ हजार नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सन नेपाल लाइफले भने १६ करोड ५३ लाख २७ हजार नाफा कमाएको छ । 

 निर्जीवन बिमा कम्पनीको नाफामा १८% वृद्धि 
समीक्षा अवधिमा १४ निर्जीवन बिमा कम्पनीको औसत नाफा भने १८ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा उनीहरूको नाफा ८३ करोड ३३ लाख १९ हजार रुपैयाँ थियो । यसपालि उनीहरूको नाफा बढेर ९७ करोड ९२ लाख ८२ हजार रुपैयाँ पुगेको छ । 

निर्जीवनतर्फ नाफा कमाउने मामिलामा नेपाल इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ । पहिलो त्रैमासमा उक्त कम्पनीले १४ करोड ६१ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको छ । दोस्रोमा भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । समीक्षा अवधिमा उक्त कम्पनीले १४ करोड ६१ हजार रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय बिमा कम्पनीले भने १३ करोड ७६ लाख ६५ हजार रुपैयाँ नाफा कमाएको छ । 

 किन बढ्यो नाफा ?
आर्थिक शिथिलताका कारण समीक्षा अवधिमा बिमा व्यवसायमै उत्साह छैन । निर्जीवन बिमाको व्यवसाय पूर्ण रूपमै घटेको छ । जीवन बिमातर्फ पनि पहिलो व्यवसायमा संकुचन आएको छ । पोलिसी सरेन्डर बढ्ने तथा बिमाको पहुँच घट्नेजस्ता नराम्रा संकेत बिमा क्षेत्रमा देखिएका छन् । त्यो अवस्थामा पनि बिमा कम्पनीहरूको नाफा बढेको हो । विशेष गरी बैंकको निक्षेपको ब्याजदर उच्च हुँदा नाफामा वृद्धि देखिएको हो । 

बिमा कम्पनीहरूले आफ्नो लगानीयोग्य पुँजीमध्ये ७० प्रतिशतभन्दा बढी पैसा बैंकको मुद्दती निक्षेपमा राख्छन् । त्यो अवस्थामा मुद्दती निक्षेपबापत आउने ब्याज आम्दानी नै बिमा कम्पनीको मुख्य आम्दानीको स्रोत हो । गत आवमा देखिएको तरलता अभावको अवस्थालाई दृष्टिगत गर्दै बैंकहरूले बढाएको ब्याजदर अझै पनि उच्च नै छ । त्यसकारण बिमा कम्पनीहरूमा ब्याजमार्फत हुने आम्दानी पनि उच्च छ । ‘आर्थिक शिथिलताले गर्दा बिमा कम्पनीहरूको व्यवसाय उत्साहजनक छैन । तर, बैंकको ब्याजदर उच्च हुँदा नाफा भने बढेको देखिन्छ,’ नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ।

ad
ad