१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:५७:oo
Read Time : < 1 मिनेट
समाचार

सहयोगको याचना गर्दै दोलखाकी स्तन क्यान्सरपीडित महिला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:५७:oo

दोलखाकी एक क्यान्सरपीडित महिलाले उपचारका लागि आर्थिक सहयोगको याचना गरेकी छिन्। करिब एक वर्षदेखि स्तन क्यान्सरको उपचार गराइरहेकी भीमेश्वर नगपालिका- ७, मकैबारीकी मनकुमारी राई म‌ंग्रातीले आर्थिक सहयोगको अपिल गरेकी हुन्। 

मंग्रातीको स्तन क्यान्सर पहिचान भएको करिब एक वर्ष भइसकेको छ। उनले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा हरेक दुई-दुई सातामा किमो लिँदै आएकी छिन्। हरेक दुई सातामा किमो दिनुपर्ने र एकपटकको किमोमा ३५ हजारसम्म खर्च हुने भएकाले उपचार खर्च जुटाउनै समस्या भएको उनका श्रीमान् उद्धव मंग्रातीले बताए। 

‘मेरी श्रीमतीलाई रोग लागेको त ४–५ वर्ष नै भइसक्यो, क्यान्सर पहिचान भएको चाहिँ एक वर्ष जति भयो,’ उनले भने, ‘ऋण गरेर ८–१० लाख खर्च गरिसकेँ, अब चाहिँ उपचार खर्च जुटाउन नसक्ने अवस्थामा पुगिसकेको छु।’ 

स्थानीय सरकारले केही सहयोग गरेको भए पनि पर्याप्त नभएको उनले बताए। आर्थिक अवस्था नाजुक भएकै कारण अहिले उपचार गर्न समस्या भइरहेको क्यान्सरपीडित महिलाका श्रीमान् मंग्रातीले गुनासो गरे। 

‘हाम्रो आर्थिक अवस्था धेरै कमजोर छ, एक डेढ वर्षअघि घरमा पनि आगलागी भयो, म आफैँ पनि खुट्टाको बिरामी छु, धेरै हिँडडुल गर्न सक्दिनँ,’ उनले भने, ‘श्रीमतीको उपचार गराउनका लागि हौसलासहित सबैले आ–आफ्नो क्षेत्रबाट आर्थिक सहयोग उपलब्ध गराउनुहुन अनुरोध गर्दछु।’ 

क्यान्सरपीडित महिला र उनको परिवारलाई आर्थिक सहयोगका लागि सामाजिक सञ्जालबाट समेत अपिल गरिएको आफन्त आकाश मंग्रातीले बताए। 

‘उहाँहरूको अवस्था नाजुक छ, उपचार गराउन मात्रै होइन घर व्यवहार चलाउनै मुस्किल छ,’ उनले भने, ‘हामीले गाउँघरमै अलि-अलि सहयोग संकलन गरेर पनि दिएका थियौँ, उहाँहरूलाई सहयोगको खाँचो छ।’ 

सामाजिक सञ्जालमा बैंक खाता तथा मोबाइल नम्बरसमेत राखेर सहयोगको अपिल गरिएको उनले बताए।