१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:४८:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

१० लाख पर्यटकको लक्ष्य भेटिँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:४८:oo

लगातार दुई महिना एक लाखभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएपछि यस वर्ष १० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पूरा हुने देखिएको छ । सन् २०२३ को नोभेम्बरसम्म जहाज चढेर नौ लाख १८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । अन्तिम महिना डिसेम्बरमा ८२ हजार पर्यटक आएमा १० लाख पर्यटक पुर्‍याउने लक्ष्य भेटिनेछ ।

यसअघि सन् २०१९ मा हालसम्मकै धेरै ११ लाख ९७ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । यही गतिमा पर्यटक आगमन बढ्दै गएमा सन् २०२४ भित्र कोभिडअघिकै अवस्थामा पुग्ने अनुमान लगाउन सकिन्छ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउँदै थियो ।

तर, वर्षको सुरुवातदेखि कोभिड महामारी फैलिन थालेपछि विश्व पर्यटन नै थलिएको थियो । यस वर्षको नोभेम्बरमा विभिन्न देशबाट एक लाख आठ हजार ६ सय ३० पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । अघिल्लो महिना अक्टोबरमा एक लाख १७ हजार तीन सय ६ पर्यटक नेपाल भ्रमणमा आएका थिए । पछिल्ला महिनाहरूमा पर्यटक आगमन निरन्तर बढ्दै गइरहेको तथ्यांकले देखाउँछ ।

सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार तीन सय दुई पर्यटक आएका थिए । कोभिड महामारी फैलिन थालेपछि नोभेम्बर २०२० मा एक हजार नौ सय ५६, नोभेम्बर २०२१ मा २६ हजार एक सय ३५ र नोभेम्बर २०२२ मा ७२ हजार ६ सय ५३ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ ।

कुन देशबाट कति पर्यटक ?
नोभेम्बरमा पनि सबैभन्दा धेरै पर्यटक भारतबाटै भित्रिएका छन् । एक महिनामा जहाज चढेर २४ हजार चार सय ४३ भारतीय नेपाल घुम्न आएका छन् । 

दोस्रो नम्बरमा रहेको अमेरिकाबाट ११ हजार चार सय ६१, चीनबाट सात हजार ६ सय एक, युनाइटेड किङडमबाट ६ हजार एक सय ३८, अस्ट्रेलियाबाट पाँच हजार ६०, थाइल्यान्डबाट तीन हजार नौ सय ६२, बंगलादेशबाट तीन हजार सात सय ६१, जर्मनीबाट तीन हजार पाँच सय १२, श्रीलंकाबाट तीन हजार दुई सय २८, फ्रान्सबाट तीन हजार दुई सय पाँच पर्यटक नेपाल घुम्न आएको पर्यटन बोर्डले जनाएको छ ।