Skip This
मूल्य घट्ने पूर्वानुमानमा देशभरका पम्पले २०% मात्रै उठाए तेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Saturday, 27 July, 2024
पेट्रोल–डिजेल खरिद गर्न लामबद्ध उपभोक्ता । फाइल तस्बिर : नयाँ पत्रिका
अजित अधिकारी काठमाडाैं
२o८o मङ्सिर १५ शुक्रबार १२:१५:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

मूल्य घट्ने पूर्वानुमानमा देशभरका पम्पले २०% मात्रै उठाए तेल

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार १२:१५:oo

निर्धारित कार्यतालिकाअनुसार बिहीबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलियम पदार्थ खरिदको नयाँ सूची घटेर आउने अनुमान गर्दै देशभरका पेट्रोलपम्प व्यवसायीले आयल निगमको डिपोबाट निकै कम इन्धन खरिद गरेका छन् । उनीहरूले नाफा–नोक्सान हिसाब गरी ‘गैरव्यावसायिक चरित्र’ देखाउँदा शुक्रबार दिउँसो बजारमा पेट्रोल–डिजेल अभाव हुने उच्च जोखिम छ ।

पछिल्लो १५ दिनमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेका कारण आइओसीले ३० तारिख (बिहीबार)मा पठाउने मूल्य घटेर आउने पम्प व्यवसायीहरू जानकार थिए । त्यसैले उनीहरूले सामान्य अवस्थाको भन्दा न्यून तेल उठाएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए । निगमका अनुसार बिहीबार देशभर मागको तुलनामा मुस्किलले २० प्रतिशत मात्रै पेट्रोलियम व्यवसायीले खरिद गरेका छन् ।

काठमाडौंमा पेट्रोल–डिजेल वितरण गर्ने आयल निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयका प्रमुख अशोक साहका अनुसार  बिहीबार एक सय ८७ किलोलिटर पेट्रोल र एक सय ७५ किलोलिटर डिजेल बिक्री भएको छ । जबकि, सामान्य अवस्थामा काठमाडौंमा दैनिक पेट्रोल सात सय किलोलिटर र डिजेल आठ सय किलोलिटर खपत हन्छ ।

निगमले पम्प व्यवसायीलाई प्रत्येक दिन बिहान खरिद गर्न चाहेको पेट्रोल–डिजेलको परिमाणबराबरको रकम भुक्तानी गर्न लगाएर मात्र तेल दिन्छ । जसकारण बिहान पैसा बुझाएका पम्प व्यवसायीले दिउँसो तेल पाउँछन् । बिहीबार भने बिहानदेखि नै मूल्य घट्ने आकलन गरी उनीहरूले तेल उठाएनन् । व्यवसायीको अनुमानअनुसार नै दिउँसो आइओसीले नयाँ मूल्यसूची पठाउँदा पेट्रोल २.१२ रुपैयाँ र डिजेल ४.०९ रुपैयाँ प्रतिलिटर घटेर आयो ।

मूल्य घट्ने अनुमानका आधारमा देशको सबैभन्दा ठूलो डिपो मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जमा पनि व्यवसायीले न्यून परिमाणमा तेल खरिद गरेका छन् । अमलेखगन्ज डिपो प्रमुख विनीतमणि उपाध्यायका अनुसार बिहीबार सो डिपोबाट पेट्रोल ७५ किलोलिटर र डिजेल तीन सय ८० किलोलिटर वितरण भएको छ । जबकि, सामान्य अवस्थामा पेट्रोल तीन सय र डिजेल नौ सय किलोलिटरसम्म बिक्री हुने गरेको छ ।

कोशीका व्यवसायीले पनि बिहीबार कुल मागको २५ प्रतिशत मात्रै इन्धन खरिद गरेका छन् । निगमको कोशी प्रादेशिक कार्यालय, विराटनगरका प्रमुख पूर्ण रिजालका अनुसार बिहीबार पेट्रोल ५२ किलोलिटर र डिजेल एक सय ७२ किलोलिटर वितरण भएको छ । पूर्वमा दैनिक औसतमा दुई सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर डिजेलको माग हुने गरेको छ ।

लुम्बिनी प्रदेशका पेट्रोलपम्प व्यवसायीले भने बिहीबार एक लिटर पनि पेट्रोल खरिद गरेका छैनन् । डिजेल भने एक सय ९६ किलोलिटर खरिद गरेको आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाकी प्रमुख कमला न्यौपानेले जानकारी दिइन् । उनका अनुसार सो डिपोबाट सामान्य अवस्थामा दैनिक औसतमा साढे चार सय किलोलिटर पेट्रोल र आठ सय किलोलिटर डिजेलको माग हुने गरेको छ । देशभरका पम्प व्यवसायीको छाता संस्था पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले भने मूल्य घट्नेबारे आयल निगमका कर्मचारीले बिहीबार बिहानै सञ्चारमाध्यमबाट जानकारी दिएकाले असर देखिएको बताए । ‘मूल्य घट्दै छ भन्ने कुराले व्यवसायी सशंकित भएका थिए । त्यसकै असर हो,’ अध्यक्ष प्रधानले भने ।

पेट्रोल दुई र डिजेल–मट्टीतेल प्रतिलिटर चार रुपैयाँ घट्यो
नेपाल आयल निगम लिमिटेडले पेट्रोल दुई रुपैयाँ र डिजेल तथा मट्टीतेल समान चार रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । मूल्य घटेपछि काठमाडौंमा पेट्रोल एक सय ७० रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ६० रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

मंगलबारदेखि आयल निगम ऋण र बक्यौतालगायतका सबै दायित्वबाट मुक्त भएकाले यसपटक थोरै दरमा नाफा राखेर ठूलो अन्तरले मूल्य घटाउनुपर्ने दबाब थियो । निगमले ३१ असारदेखि लागू गरेको ‘पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, ०८०’ अनुसार पेट्रोलमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा राख्ने व्यवस्था छ । निगमले ग्यासमा भने प्रतिसिलिन्डर तीन सय रुपैयाँ नोक्सान खेपिरहेको जानकारी दिएको छ ।