Skip This
प्रेरक प्रसंग : चरा र किसानको कथा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १५ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर १५ शुक्रबार o६:oo:oo
Read Time : > 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : चरा र किसानको कथा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १५ शुक्रबार o६:oo:oo

यो गाउँका एउटा किसानको कथा हो । ती किसानको गाउँभन्दा केही पर थोरै खेत थियो । रोपाइँ भएको केही दिनपछि उसको खेतको भित्तामा एउटा चराले गुँड बनायो । सो चराले केही दिनपछि दुइटा अन्डा पार्‍यो र ती अन्डाबाट दुई साना बचेरा निस्के । किसानको खेतवरपर ती बचेरा रमाउँदै हुर्कन थाले । यसैबीच, खेतमा बाली काट्ने वेला आयो । गाउँका सबै किसानले आ–आफ्नो खेतको धान काट्न थाले । एक दिन खेतमा ती बचेराले किसानले ‘ओहो धान त पाकिसकेछ ! भोलि छिमेकीलाई काट्न पठाउनुपर्ला’ भन्दै गरेको सुने । यो सुनेर ती बचेराहरू बढो खिन्न भए । साँझ आमा फर्केपछि ती बचेराले किसानले भनेको कुरा सुनाए र भने, ‘आमा, यहाँ हाम्रो यो नै अन्तिम दिन हो । हामी राति नै यो ठाउँ छोडेर अन्त जानुपर्छ ।’

माउ चराले जवाफ दिन्छे, ‘अहिले नै गइहाल्नुपर्दैन, केटाकेटी हो । भोलि धान काटिन्छ जस्तो लाग्दैन मलाई त ।’ भोलिपल्ट किसानका छिमेकी खेतमा धान काटिदिन आएनन् । माउ चराले भनेको मिल्यो । साँझपख खेतमा आएर हेर्दा धान नकाटिएको देखेपछि किसान गनगनाउन थाल्यो, ‘हत्तेरी, भोलिचाहिँ आफन्तलाई धान काट्न पठाउँछु ।’ चराका बचेरा किसानको कुरा सुनेर फेरि खिन्न भए । राति आमालाई किसानको योजना सुनाए । हिजोजस्तै आज पनि उनले भनिन्, ‘चिन्ता नलेऊ । आज पनि हामी जानुपर्दैन । उसका आफन्त आउँदैनन् ।’ चरीले भनेझैँ किसानका आफन्त पनि धान काटिदिन आएनन् । आज पनि खेत नकाटिएको देखेपछि किसान फतफताउन थाल्यो र भन्यो, ‘भएन, भोलि चाहिँ आफैँ आएर काट्छु ।’

बचेराहरूले यो कुरा पनि आमालाई सुनाए । यो सुनेपछि माउ चरीले भनिन्, ‘बच्चा हो, अबचाहिँ खेत छोड्ने समय आयो । हामी आजै राति यो खेत छोडेर अर्को ठाउँमा जानेछौँ ।’ उनीहरूले सोधे, ‘किन र आमा ?’ ‘नानी हो, अघिल्लो दुईपटक ऊ अरूको भर परेको थियो । त्यसैले उसको धान काटिएन । तर, यसपटक उसले यो जिम्मेवारी आफ्नै काँधमा लिएको छ । त्यसैले ऊ अवश्य आउनेछ ।’ 

त्यो रात चरा र उसका बचेराहरू किसानको खेतबाट उडेर अन्यत्र गए । यो कथाले अरूको मद्दत लिनुमा कुनै खराबी छैन, तर यदि तपार्इं समयमा नै काम गर्न र समयमै पूरा गर्न चाहनुहुन्छ भने त्यो कामको जिम्मेवारी तपाईं आफैँले लिनुपर्छ भन्ने शिक्षा दिन्छ ।