१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका वासिङ्टन
Invalid date format १३:१८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पूर्वअमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
नयाँ पत्रिका
Invalid date format १३:१८:oo

अमेरिकी इतिहासका सबैभन्दा प्रभावशालीमध्येका एक विदेशमन्त्री हेनरी किसिन्जरको सय वर्षको उमेरमा मृत्यु भएको छ। भूराजनीतिक परामर्श संस्था ‘किसिन्जर एसोसियट इन्क’ले एक वक्तव्य जारी गर्दै किसिन्जर बुधबार कनेक्टिकस्थित आफ्नै घरमा बितेको बताएको छ।

किसिन्जर रिचर्ड निक्सन र गेराल्ड फोर्ड दुई राष्ट्रपतिको कार्यकालमा विदेशमन्त्री थिए। उनी जीवनको उत्तरार्द्धसम्म पनि सक्रिय देखिन्थे। उनी ह्वाइटहाउसको बैठकमा सहभागी हुने, नेतृत्व शैली र भूराजनीतिबारे पुस्तक लेख्ने र चिनियाँ नेतासँग भेटघाट गरेको देखिन्थ्यो।

यही वर्ष जुलाईमा उनले बेइजिङको भ्रमण गरेर राष्ट्रपति सी जिनपिङसँग भेटघाट गरेका थिए। त्यस भेटमा सीले किसिन्जरलाई देशको ‘पुरानो मित्र’ सम्बोधन गरेका थिए। किसिन्जरले १९७१ जुलाईमा बेइजिङको गोप्य भ्रमण गरेर चीनसँग अमेरिकाको कूटनीतिक सम्बन्ध स्थापना गर्न र राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमणको बाटो खुलाएका थिए।

अमेरिकाले तत्कालीन भूराजनीतिक शत्रु सोभियत संघविरुद्ध उसँग रुष्ट भएको कम्युनिस्ट चीनलाई प्रयोग गर्ने ‘रियल पोलिटिक्स’ नीतिअन्तर्गत चीनसँग नजिकिएको थियो। तर, अमेरिकासँगको सम्बन्ध सुधारिएपछि चीनमा वैदेशिक लगानीको बाटो खुल्यो, जसले कालान्तरमा चीनलाई आजको विशाल आर्थिक शक्ति बन्न सघायो।

चीनमा किसिन्जरको सकारात्मक छवि भए पनि दक्षिण अमेरिकामा र भियतनाम युद्धको विस्तारमा उनको भूमिकाको धेरै आलोचना हुने गर्छ। भियतनाम युद्धका क्रममा उनले कम्युनिस्टहरू आश्रयस्थान र पैदलमार्ग रहेको छिमेकी कम्बोडिया र लाओसमा भीषण बमबारी गराएका थिए, जसमा दशौँ लाख मानिसको ज्यान गएको थियो।

त्यस्तै, चिली र अर्जेन्टिनामा उनले सैन्य कुलाई समर्थन जनाएका थिए। आलोचकहरू उनलाई युद्धअपराधी मान्ने गर्छन्। यसका बाबजुद भियतनाम युद्धका उत्तरार्द्धमा युद्धविराम गराउन सघाएको भन्दै उनलाई सन् १९७३ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो, जसको धेरै विरोध पनि भएको थियो।