
अन्ततः मंगलबार उद्धारकर्मीहरूले नोभेम्बर १२ देखि उत्तराखण्ड राज्यमा एक सुरुङभित्र फसेका ४१ जना मानिसलाई उद्धार गरे । उद्धारका लागि उच्च प्राविधिक उपकरण मात्र होइन, कानुनको नजरमा अवैध मानिने शिल्प अभ्यास ‘र्याटमाइनिङ’ पनि प्रयोग गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘चार धाम तीर्थक्षेत्र’ जोड्ने महत्वाकांक्षी योजनाको हिस्सा उत्तराखण्डस्थित सिल्क्यारा बेन्ड–बरकोट सुरुङ नोभेम्बर १२ मा भत्किएको थियो । जसका कारण त्यसमा काम गरिरहेका ४१ मजदुर साढे चार किलोमिटरभित्र फसेका थिए ।
यसरी जीवित राखिएको थियो कामदार
भत्किएको एक दिनपछि सुरुङमा फसेका मानिससँग सम्पर्क स्थापित भएको थियो । त्यसपछि सुरुङमा फिटिङ गरिएको एक सानो पानीको पाइपमार्पत श्रमिकलाई अक्सिजन, खाना, पानी र औषधि पठाइएको थियो । सञ्चार–सम्पर्कबाट तिनको स्वास्थ्य निगरानी गर्न एक दर्जन चिकित्सक र मनोवैज्ञानिक सुरुङबाहिर तैनाथ गरिएका थिए । यी सबका बाबजुद मजदुर निस्किने आकारको निकास खोल्न भने समय लाग्यो । यसका पछाडि विभिन्न अवरोध कारण थिए ।
भेन्टिलेसन र सुरक्षा उपायको अभावले यस विधि विवादित बन्यो । सन् २०१४ मा वातावरणीय अदालतले यस प्रक्रियालाई प्रतिबन्ध लगाएको थियो । तर, यो अभ्यास ठूलो मात्रामा असंगठित खानी क्षेत्रमा निरन्तर अस्तित्वमा रहेको मानिन्छ ।
अनि, यसरी गरियो उद्धार
सुरुमा उत्खनन टोलीले सुरुङ भत्केको ठाउँसम्म पुग्न ठाडो र तेर्सो रूपमा मेसिनले खने । पहिलो ड्रिलिङ मेसिनमा समस्या आएर बिग्रियो र दोस्रो ल्याउनुपर्यो । करिब तीनचौथाइ भग्नावशेष ड्रिल गरेपछि दोस्रो मेसिन पनि बिग्रियो । यसपछि, मध्य–भारतका ६ जना खानीमा काम गर्ने व्यक्तिलाई जहाँसम्म दोस्रो मेसिनले खनेको थियो, त्यहाँ पुर्याएर ‘र्याटमाइनिङ’ प्रविधिमार्फत हाते ड्रिलमार्फत बाँकी चट्टानमा ड्रिलिङ गर्न लगाइयो । २४ घन्टाभन्दा बढी समय लगाएर उनीहरूले तीन–तीनजनाको दुई टोलीमा काम गरे । एकजनाले ड्रिलिङ गर्ने र दोस्रोले ड्रिलिङको भग्नावशेष संकलन गरेर तेस्रोलाई दिने र उसले त्यसलाई पाइपबाट बाहिर फाल्ने काम गरे । सोमबारबाट सुरु यस प्रक्रियाबाट मंगलबार साँझसम्म उद्धारकर्ता फसेका कामदारकहाँ पुग्न सके । त्यसपछि उद्धारकर्ताले एक–एक गर्दै ९० सेमि (३ फिट) चौडा स्टिलपाइपभित्र स्ट्रेचरमा कामदारलाई राखेर गुडाउँदै बाहिर निकाले ।
के हो र्याटमाइनिङ प्रविधि ?
र्याटमाइनिङ वा र्याटहोल माइनिङ (मुसाप्वाल खनन) भनेको हातको सहायतामा साँघुरो सुरुङ खन्ने प्रक्रिया हो । यो प्रविधिमा मुसाले जमिनमा प्वाल पारेजस्तै सुरुङ बनाइन्छ । यो अभ्यास भारतमा मुख्यतया उत्तरपूर्वी राज्य मेघालयमा प्रयोग गरिन्थ्यो । यसमा प्वालहरू सामान्यतया कामदारलाई तल ओर्लने र कोइलाको पातलो पत्रहरू निकाल्न मिल्ने आकारको मात्र ठूला बनाइन्छ । यही कारण बच्चाहरूलाई सामान्यतया यो काममा लगाइन्थ्यो । भेन्टिलेसन र सुरक्षा उपायको अभावले यस विधि विवादित बन्यो । सन् २०१४ मा वातावरणीय अदालतले यस प्रक्रियालाई प्रतिबन्ध लगाएको थियो । तर, यो अभ्यास ठूलो मात्रामा असंगठित खानी क्षेत्रमा निरन्तर अस्तित्वमा रहेको मानिन्छ ।