Skip This
आजियाटाले एनसेल छोड्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
मुना कुँवर काठमाडाैं
२o८o मङ्सिर १४ बिहीबार o६:१७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आजियाटाले एनसेल छोड्ने

मलेसियाको स्टक एक्सचेन्ज कम्पनी बर्सा मलेसिया सेक्युरिटिजका अनुसार गत १२ असोजमा नै आजियाटाका सञ्चालकले एनसेलबाट बाहिरिने प्रस्तावलाई स्वीकृत गरेको थियो

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार o६:१७:oo

मलेसियन कम्पनी आजियाटाले दूरसञ्चार सेवा प्रदायक एनसेल कम्पनी छोड्ने निर्णय गरेको छ । नेपालमा व्यावसायिक वातावरण चुनौतीपूर्ण बन्दै गएको र व्यवसाय खस्कँदै गएको भन्दै आजियाटाले एनसेलमा रहेको आफ्नो सेयर बिक्री गर्ने निर्णय गरेको हो । आजियाटाले बुधबार सूचना जारी गरी एनसेलमा रहेको सेयर बिक्री गर्ने प्रस्ताव बोर्डबाट नै पारित भएको जनाएको छ । 

आजियाटा ग्रुपले एनसेलबाट तेस्रो त्रैमासमा २२ अर्ब ७३ करोड ८५ लाखको खुद नोक्सानी व्यहोरेको छ । मलेसियाको स्टक एक्सचेन्ज कम्पनी बर्सा मलेसिया सेक्युरिटिजका अनुसार गत १२ असोजमा नै आजियाटाका सञ्चालकले एनसेलबाट बाहिरिने प्रस्तावलाई स्वीकृत गरेको थियो । स्वीकृत भएको मितिले १२ महिनाभित्र सबै कारोबार टुंगो लगाइसक्ने जानकारी आजियाटाले गराएको थियो । मलेसियाली वित्तीय प्रतिवेदन मापदण्ड (एमएफआरएस) बमोजिम सञ्चालकले एनसेलबाट बाहिरिने निष्कर्ष निकालेको उल्लेख छ । 

आजियाटाले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार एनसेलको प्रतिफल घट्दै गएको छ । यसले आजियाटाको समग्र वित्तीय विवरण प्रभावित भएको उल्लेख गरिएको छ । विवरणअनुसार सन् २०१७ को तुलनामा सन् २०२३ मा आइपुग्दा व्यवसाय २० अर्बले घटेको छ । 

आजियाटाले नेपालमा टेलिकमको लाइसेन्स नवीकरणका लागि करिब १४ अर्ब आठ करोड रुपैयाँ सरकारलाई तिरिसकेको थियो । त्यस्तै, पुँजीगत लाभकर ११ अर्ब ३४ करोड राइट अफ गरेकोसमेत जानकारी गराएको छ । सम्पत्तिको क्षयीकरणबापत एनसेलले झन्डै २९ अर्ब दुई करोडको नोक्सानी व्यहोर्नुपरेको उल्लेख गरेको छ । एनसेलले सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । जब कि कम्पनीले सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

त्यस्तै, सन् २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले २०१८ मा भने ५९ अर्ब ८१ करोड ७० लाख रुपैयाँ कारोबार गरेको थियो । सन् २०१९ मा ५५ अर्ब ३९ करोड ८० लाख रुपैयाँ कारोबार गरेको एनसेलले सन् २०२० मा ४६ अर्ब ८७ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा ४० अर्ब ४२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको विवरणमा उल्लेख छ । 

एनसेलले पछिल्लो समय आफ्नो बजार गुमाउँदै गएको आजियाटा समूहका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेद सुदले जनाएका छन् । यसैका कारण कम्पनीले आफ्नो सम्पत्ति बिक्री गर्ने निर्णय गरेको जनाएको छ । एनसेलमा आजियाटा समूहको ८० प्रतिशत लगानी छ भने २० प्रतिशत नेपाली व्यवसायी सतीशलाल आचार्यको सुनिभेरा क्यापिटलको नाममा छ । आजियाटा जारी गरेको विज्ञप्तिमा नेपालमा व्यावसायिक अवस्था चुनौतीपूर्ण रहेकाले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो । सोही निर्णयअनुसार बिक्रीका लागि राखिएको सम्पत्तिको रूपमा पुनः वर्गीकरण गरिएको जनाएको छ । 

आजियाटा समूहले ०७२ चैत ३० देखि एनसेलसँग व्यावसायिक गाठ जोडेको थियो । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार आजियाटा र एनसेलबीच व्यवसायिक समझदारी सुुरु भएको आव ०७२/७३ मा ५७ अर्ब ७२ करोड रुपैयाँको कारोबार गरेको थियो । तर, आव ०७९/८० मा एनसेलको कारोबार घटेर ३७ अर्ब ४४ करोडमा सीमित भएको छ । आजियाटाले एनसेलबाट आफ्नो लगानी बिक्री गर्ने विषयमा औपचारिक रूपमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नआएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । ‘आजियाटाले गरेको सम्पत्ति बिक्री गर्ने निर्णयको बारेमा हामीलाई जानकारी गराउनुपर्छ भन्ने पनि छैन । तर, सेयर खरिद बिक्री गर्ने समयमा भने प्राधिकरणको पूर्वस्वीकृति भने लिनुपर्नेछ,’ उनले भने ।