
प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजरायल र हमासबीचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ। मध्यस्थकर्ताहरूले दुवै पक्षबीच ‘दिगो’ युद्धविराममाथि जोड दिएका छन्।
प्रारम्भिक चारदिने युद्धविरामको ४८ घन्टाको विस्तारपछि मंगलबार १२ बन्धकको नयाँ समूहलाई गाजाबाट मुक्त गरिएको छ भने इजरायलले ३० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ। बन्दीहरूका लागि बन्धकहरूको अर्को आदान–प्रदानको अपेक्षासँगै विस्तारित सम्झौताको अन्तिम २४ घन्टा बुधबारपछि सुरु हुन्छ। यद्यपि, मध्यस्थकर्ता कतारले उसले थप दिगो व्यवस्थाको अपेक्षा गरिरहेको बताएको छ।
‘अहिले हाम्रो मुख्य ध्यान र आशा एउटा स्थायी युद्धविरामसम्म पुग्ने हो जसले थप वार्ता हुनेछ र अन्ततः यो युद्धको अन्त्य गर्नेछ,’ कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले दोहामा पत्रकारहरूसँग भने, ‘यद्यपि, हामीसँग जे छ त्यसैमा काम गरिरहेका छौँ, अहिले हामीसँग भएको सम्झौताको प्रावधान हो जसले हामीलाई कम्तीमा १० बन्धकको रिहाइको प्रत्याभूति गर्न हमासले त्यतिवेलासम्म युद्धविरामको दिन लम्ब्याउन अनुमति दिन्छ।’
हमास र इस्लामिक जिहादका मास्क लगाएका सशस्त्र लडाकुहरूलाई इजिप्टको सीमानजिकै रफाहमा बन्धकहरू रेडक्रस अधिकारीहरूसमक्ष बुझाएको देखेको एएफपीका पत्रकारले बताएका छन्।
मुक्त गरिएका इजरायली बन्धकहरूमा १७ वर्षीया मिया लिम्बर्गसहित सबै महिला थिए। लिम्बर्ग आफ्नी आमा र काकीसँग इजरायल फर्केकी थिइन्। तीनैजनालाई किबुत्जनिर यित्ज्याकबाट अपहरण गरिएको थियो।
सोमबार रिहा भएकी १२ वर्षीय इटन याहलोमीकी हजुरआमाले पुरुषहरूलाई १६ दिनसम्म एकान्त कारावासमा राखिएको बताइन्।
स्थानीय मिडियाका अनुसार इजरायल सरकारलाई बुधबार रिहा हुने नयाँ बन्धकहरूको एउटा सूची प्राप्त भएको छ। यद्यपि, यसको कुनै आधिकारिक पुष्टि भएको छैन। सम्झौताको सर्तअन्तर्गत अहिलेसम्म ६० इजराइली बन्धकलाई गाजाबाट मुक्त गराइएको छ। सम्झौताको दायराभन्दा बाहिर रहेर एक रुसी–इजरायल, २० थाई र एक फिलिपिनोलाई मुक्त गरिएको छ।
बदलामा एक सय ८० प्यालेस्टिनी महिला र नाबालिग बन्दीलाई रिहा गरिएको छ। रिहा हुनेमा १४ वर्षीय अहमद सलाइमा पनि थिए। इजरायली अधिकारीहरूका अनुसार युद्धविराम सम्झौताले हमासको अक्टोबर ७ को हमलाबाट सुरु भएको युद्धलाई अस्थायी रूपमा रोकेको छ। हमासको उक्त हमलामा इजरायलमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय मानिस मारिएका थिए।
इजरायलले जवाफमा गाजामा गरेको हवाई र स्थल कारबाहीमा करिब १५ हजार मानिसको मृत्यु भएको र गाजाको उत्तरी क्षेत्रको ठूलो भूभाग बस्नलायक नरहेको हमासका अधिकारीहरूले बताएका छन्।