
संयुक्त राष्ट्रसंघले नेपालमा लैगिक हिंसा रोकथामका लागि दिगो लगानी र नवीनतम रणनीतिको महत्वपूर्ण आवश्यकता रहेकोमा जोड दिएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा राष्ट्रसंघका विभिन्न निकायको संयुक्त कार्यक्रममा विभिन्न विकास साझेदार, नागरिक समाज, निजी क्षेत्रलाई सबैभन्दा पहिले हिंसा हुनै नदिनेतर्फ लगानी बढाउन आग्रह गरिएको हो ।
सोमबार ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर ह्याम्डीले लैंगिक हिंसा रोकथाममा लगानी गर्ने साझा प्रतिबद्धतामा जोड दिइन् । ‘महिला र बालिकाको जीवनलाई खतरामा पार्ने हिंसाको ज्वाला निभाउने उत्तरदायित्व हामी सबैको हो । १६ दिने अभियानका अवसरमा म नेपालमा लैगिक हिंसा अन्त्यका लागि आर्थिक र सामूहिक इच्छाशक्ति दुवैमा तत्काल लगानीको आवश्यकता रहेको दर्साउन चाहन्छु,’ उनले भनिन् । छलफलमा उपसभामुख इन्दिरा रानामगर, नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिक लोरेन्जो, बिजनेस इन्क्युबेसन एन्ड इम्प्याक्ट एकेडेमीकी समानता थापा मगरलगायत थिए ।