
सिके राउत जाजरकोट पुग्नु र रवि लामिछाने मधेश झर्नुको राजनीतिक अर्थ के हो ?
त्यस्तो खास अर्थ छ जस्तो लाग्दैन । यसअघि सबैजसो दलका नेताहरू ‘डिजास्टर्स टुरिजम’मा गइसकेका थिए । सिके राउतजी जानुभएको थिएन । त्यसैले, उहाँ अहिले जानुभएको हो । उहाँको उपस्थितिले त्यहाँका भूकम्पपीडितको अवस्थामा खासै प्रभाव पार्लाजस्तो लाग्दैन । रवि लामिछानेजी पहिलेदेखि नै मधेशमा केन्द्रित हुनुहुन्छ । मधेशबाट ‘प्रोमिनेन्ट’ युवा नेता कोही पनि उहाँको पार्टीमा गएको छैन । उहाँ मधेशमा संगठन विस्तारको संकटमा हुनुहुन्छ । त्यसैले, उहाँ अहिले त्यहाँ
बढ्ता केन्द्रित हुनुभएको हो । उहाँहरू यतिखेर ‘पोलिसी’ निर्माणका लागि गम्भीर छलफलमा हुनुहुन्छ । त्यसैले, पनि उहाँ मधेशमा केन्द्रित हुनुभएको हुनुपर्छ ।
यसले पहाड र मधेशको राजनीतिक साइनोलाई जोड्ने सम्भावना कति हुन्छ ?
पटक्कै हुँदैन । नेताहरू जनतामाझ जानु राम्रो हो । तर, जनताका भावना र जनजीविकाका सवाल कार्यान्वयनमा ठूलो खाडल छ । शासक र शासितको भावना प्रबल रहुन्जेल नेताहरू जहाँ–जहाँ पुगे पनि त्यसको कुनै अर्थ हुँदैन । नेतृत्वको सोचमा परिवर्तन आएको छैन । जनजीविकाको सवालमा चिन्ता छैन । अनि, नेताहरू पहाड या मधेशमा पुग्दैमा के फरक पर्छ र ?
ठूला दलहरू अलमलिइरहेको समयमा साना दलहरू ‘मिसन ८४’ अभियानमा लाग्नुले के संकेत गर्छ ?
पुराना दलहरूको आ–आफ्ना संगठन छन् । तर, नयाँ दलहरूको संगठन छैन । त्यसैले, उनीहरू संगठन विस्तारमा लागिरहेका हुन् । तर, उनीहरूको सक्रियकताले पुराना दलहरूलाई च्यालेन्ज भने भइरहेको छ । उनीहरूका सदस्य घट्दै छन् ।