१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १२ मंगलबार
  • Monday, 24 June, 2024
जाजरकोटमा भूकम्पपीडितलाई अस्थायी टहरा बनाउन सघाउँदै कांग्रेस नेता प्रदीप पौडेल
२o८o मङ्सिर १२ मंगलबार o६:१५:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

श्रमदान गर्न जाजरकोट पुगेका कांग्रेस नेता प्रदीप पौडेलले जे देखे

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर १२ मंगलबार o६:१५:oo

त्रिपालभित्र बालबालिका रोइरहेका छन्, वृद्धवृद्धा खोकिरहेका छन्, सुत्केरी चिसोले ग्रसित छन्

महामन्त्रीद्वय (गगन थापा र विश्वप्रकाश शर्मा) प्रभावित क्षेत्र पुगेर आएपछि पार्टीबाट टोली नै खटिएर श्रमदान गर्ने छलफल चल्यो । श्रमदानबाटै हजार अस्थायी घरटहरा बनाउने घोषणा पनि गर्‍यो । जिम्मेवारीपूर्ण ढंगले काम गर्दा राजनीतिक र सामाजिक रूपमा सकारात्मक सन्देश जाने पार्टीको विधिवत् निर्णयसँगै तिहारको भोलिपल्ट मेरो नेतृत्वमा टोली जाजरकोटका लागि हिँड्यो । 

भूकम्पको प्रभावबारे सञ्चारमाध्यमबाट जति जानकारी पाएको थिएँ, त्यहाँ पुग्दा झन् बढी प्रभावित भएको पाएँ । बाहिर ठीकठाक देखिएका घर पनि भित्र बस्नै नहुने गरी भत्किएका छन् । पूर्ण रूपमा भत्किएका घरमा त अन्नबाली सबै नष्ट छन् । प्रभावितहरू भोलि के खाने, राति के ओढ्ने भन्ने चिन्तामा छन् । चर्किएका घरबाट संकलन गरिएका लत्ताकपडा र अन्न बाँकी छन् । भग्नावशेष बनेका घरहरूको दृश्य असाध्यै डरलाग्दो छ । मान्छे तंग्रिनै नसकेको अवस्था छ । 

कोही पनि सहयोग गर्न नआएजस्तो, पीडितहरू असहायजस्तो देखियो । काम कसरी सुरु गर्ने भन्ने अन्योल भयो । किनभने, अधकल्चा घरबाट कुनै ढुंगा बज्रियो भने ज्यान जान सक्ने असुरक्षित अवस्था देखिन्छ । मान्छेहरू एउटै त्रिपालमुनि ६–७ जनासम्म सुत्नुपर्ने, कसैको ओछ्याउने नभएको, कसैको ओढ्ने नभएको अवस्था छ । 

कांग्रेस नेता प्रदीप पौडेल

जाजरकोटको तापक्रम ७ डिग्रीमा झरिसकेको छ । अब केही दिनमा हिउँ पर्छ, शीतलहर चल्छ । त्यसैले प्रभावितलाई न्यानो बनाउन जे–जे उपलब्ध गराउन सकिन्छ, तत्काल गर्नुपर्छ । अस्थायी घरटहरा बनाइहाल्नुपर्छ । यसका लागि राज्यले सुरक्षा संयन्त्र वा  दलहरूका संयन्त्रलाई स्वयंसेवकको भूमिकामा सक्रिय बनाउनुपर्छ । नत्र भूकम्पबाट जोगिएकाहरू जाडोबाट जोगिन नसक्ने अवस्था आयो भने राज्यले सहयोग गरेको ठहरिँदैन ।

त्रिपालमुनि बालबालिकाहरू रोइरहेका छन्, वृद्धवृद्धा खोकिरहेका छन्, सुत्केरीहरू चिसोले ग्रसित छन् । प्रभावित क्षेत्र गरिबीसँगै चेतनाको पक्षबाट पनि धेरै पछाडि देखिन्छ । छरिएका बस्तीहरूमा कम समयमा धेरै योगदान गर्न सक्ने अवस्था थिएन । तर, जति सकिन्छ, प्रयोग गर्नुपर्छ भन्ने लाग्यो । 

सुरुमा राज्यले आफ्नो उपस्थिति देखाएको महसुुस गर्न सकिन्थ्यो । पछिल्लो समय प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेपछि झन् विश्वास बढाएको थियो । तर, अहिलेसम्म पनि रकम कसैले पाउन सकेका छैनन् । स्थानीय  प्रशासनसँग बुझ्दा घोषणा भए पनि अझै दुई हप्ता लाग्ने बुझियो । खाता खोलेपछि पैसा जाने र तथ्यांक तयार गरेर सरकारलाई पठाउने, अनि सरकारले व्यक्तिगत खातामा रकम पठाएपछि निकालेर प्रयोग गर्न पाउने प्रक्रिया नै लामो भयो । विनियोजन भएको रकम पनि तथ्यांक नहुँदा पुगेन भन्ने अवस्था छ । रकम ठ्याक्कै व्यक्तिले प्राप्त नगरेसम्म त राज्यको उपस्थिति महसुस गर्न सक्दैन । जुन कुरा आवश्यक पर्दा पाइँदैन, समय सकिएपछि पाएर के अर्थ ? 

हामी पुग्दा त्यहाँको तापक्रम १५ डिग्री सेल्सियस थियो, फर्किँदा ७ डिग्रीमा झरिसकेको थियो । अब केही दिनमा हिउँ पर्छ, शीतलहर चल्छ । आज (सोमबार) बिहान मात्रै सुत्केरी महिलाको मृत्यु भएको सुनेँ । यो घटनाले त्यहाँ राज्यको भूमिका प्रभावकारी बन्न नसकेको देखाउँछ । राज्यले गरेको कोसिस कामयाब (सफल) नहुने स्थिति बन्ने हो कि ? यसमा राज्यले ध्यान दिन आवश्यक छ । 

आजका दिनमा प्रभावितलाई जाडोमा न्यानो बनाउन लत्ताकपडा, ब्ल्यांकेट, कम्बल, जे–जे उपलब्ध गराउन सकिन्छ, तत्काल गर्नुपर्छ । अस्थायी घरटहरा बनाइहाल्नुपर्छ । यसका लागि राज्यले सुरक्षा संयन्त्र वा राजनीतिक दलको संयन्त्रलाई स्वयंसेवकको भूमिकामा सक्रिय बनाउनुपर्छ । नत्र भूकम्पबाट जोगिएकाहरू जाडोबाट जोगिन नसक्ने अवस्था आयो भने राज्यले सहयोग गरेको ठहरिँदैन । 

पुगेको दिन साँझ परिसकेको थियो । टेन्टमा बसेका केही परिवारसँग राहत पाए–नपाएको विषयमा सोधपुछ मात्रै गरियो । भूकम्पले १० महिने बच्चा गुमाएको घरमा पनि पुग्यौँ । भोलिपल्ट हामीले ‘घर बनाउने सहयोगका लागि आएको, तपाईंहरूसँग भएको निर्माण दिनुहोस्’ भन्यौँ । तर, धेरैले यस्ता सुकिला मान्छेहरूले के गर्लान् ? फोटो खिचाउन आएका हुन् भन्ने ठाने । मिर्गौलासम्बन्धी औषधि सेवन गर्दै आउनुभएका एकजना वृद्ध बाले तपाईंहरूका सुकिला हातले यस्तो काम गर्दैन होला भनेर मुखै फोरेर भन्नुभयो । एकजना वृद्ध बाले मिर्गौलाको औषधि खाइरहनुभएको रहेछ । ३५ सयमा पाउने त्यो औषधि १० हजार पुगेको रहेछ । उहाँले मेरो जीवन अब ३–४ महिना त हो, मैले अर्को घर बनेको देख्न पाउँदिन होला भनेर दर्दनाक पीडा व्यक्त गर्नुभयो । 

तर, काम थालेपछि साथ दिने हातहरू जुट्दै जाने रहेछन् । हामीले जानीनजानी काँटी ठोकेको देखेपछि सीप भएका मिस्त्रीहरू सहयोग गर्न आइपुग्नुभयो । हामीले जुन घरमा काम गथ्र्यौँ, त्यो घरमा जे छ त्यही ल्याएर हामीलाई खुवाउनुहुन्थ्यो । हामी पनि पीडित जसरी टेन्टमा बसेका थियौँ । उहाँहरू आफू नओढेर पनि हामीलाई ओढ्ने–ओछ्याउने ल्याइदिनुहुन्थ्यो । खाजामा मुलाको पात खाँदा मुला पनि खानुस् न भन्नुहुन्थ्यो । फलेका अम्बा टिपेर खानुहोस् भन्नुहुन्थ्यो, काँचा मेवा काटेर खुवाउनुहुन्थ्यो । बिचरा ! उहाँहरू आफैँ के खाऊँ भन्ने अवस्थामा हुनुहुन्थ्यो । हामी हिँड्ने वेलासम्म यति सामीप्यता बढेको रहेछ कि उहाँहरूले रुँदै हामीलाई बिदा गर्नुभएको थियो ।

काम थालेको पहिलो दिन बेलुकासम्म दुई घर बनाएर देखाएपछि उहाँहरूले हामीलाई विश्वास गर्नुभयो । कतिले तपाईंहरूले घर बनाइदिँदा हामीले सरकारले दिएको रकम पनि नपाउने हो कि भनेर पनि सोध्नुभयो । हामीले वडाध्यक्षलाई जमानी राखेर जस्तापाता उधारोमा ल्याएका थियौँ । जस्तापाताकोे रकम कटौती हुन सक्छ भनेर भन्यौँ । जमिन भिराला थिए, खार्न समय लाग्थ्यो, खाल्डो खन्न समय लाग्थ्यो । त्यसपछि बलो, खाँबो, भाटा हाल्न हामीजस्तो प्राविधिक ज्ञान नभएकाले जान्दैनथ्यौँ । हाम्रा मिस्त्रीले सबै खाका बनाउनुहुन्थ्यो । भत्किएका संरचनाबाट सुरक्षित रूपले ढुंगा, खाँबो र भाटाहरू झिकेर घरहरू उभ्याउँदै गयौँ । चौथो दिन त धेरैजना घर बनाइदिन भनी आउनुभयो । हामीले बाँडिएर डेढ सय जति टहरारहरू बनायौँ । संरचना अभावले केही टहरा बार्न सकिएन । त्यसको विकल्पमा टेन्ट र भाटा लगायौँ । उहाँहरूले आफ्नै तरिकाले बार्छौँ भन्नुभयो । सात दिन प्रभावित क्षेत्रमा बिताएका हामीलाई काठमाडौं–जाजरकोट आउजाउमा अरू तीन दिन लाग्यो । 

राजनीतिक दलहरूले देशको बारेमा कुरा गरेर मात्रै भएन, स्वयंसेवकहरूलाई पुर्‍याउन सक्नुपर्‍यो । हाम्रो टिमले डेढ सयको हाराहारीमा अस्थायी घरटहरा बनायो । मिहिनेत गर्दा त हुने रहेछ भन्ने यसले देखाएको छ । सुरुमा महामन्त्रीहरूले दुई अस्थायी टहरा बनाउनुभएको थियो । उहाँहरूकै मोडल र सरकारको मापदण्डअनुसार त्यसलाई निरन्तरता दिएर मेरो नेतृत्वको टोलीले नलगाढ नगरपालिका– ५ रघुनाथ टोलबाट घरटहरा निर्माण सुरु गरेका हौँ । जाजरकोटमा श्रमदानबाट अस्थायी टहरा बनाउने हामी नै पहिलो टोली थियौँ । अहिले पनि कांग्रेसका साथीहरू त्यहाँ हुनुहुन्छ । अरू पार्टीका साथीहरू पनि जानुभएको भन्ने सुनिएको छ । 

मेरो अनुभवमा ०७२ को भूकम्पमा सेना प्रहरी लगाएर छिट्टै भग्नावशेष पन्छाइएको थियो । तर, जाजरकोट भूकम्पमा यस्तो काममा सुरक्षाकर्मी प्रवेश गरेकै थिएन । जसकारण भद्रगोल संरचना देखिएको छ । यसले मानिसको मनोविज्ञानलाई त्रसित बनाएको छ । मान्छेहरू को आउलान् भनेर टुलुटुलु हेरिरहेका छन् । सरकारको अभाव महसुस गरेका छन् । तथ्यांक नबनेर रकम वितरण गर्न नसकिएको विषयमा प्रभावित क्षेत्रमै रहँदा मैले सरकारको ध्यानाकर्षण गराएको थिएँ । आवश्यक सामग्रीका लागि सरकारले सहयोग गर्न चाहनेलाई पनि आह्वान गर्न सक्थ्यो । एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिएको छ, तर प्रणाली प्रभावकारी भएको छैन । सदरमुकाम खलंगाबाट धेरै टाढा राहत पुर्‍याउन सकिएको छैन । कति त अब आफैँले गर्नुपर्ने रहेछ भनेर लाग्नुभएको छ । विद्यालयमा पढाइ सुरु हुन सकेको छैन । 

सरकारले जाजरकोट र रुकुम पश्चिममा मात्र शक्ति केन्द्रित गरेर विपत् व्यवस्थापन गर्न सक्थ्यो । राजनीतिक दलले पनि यो वेला अरू कुरा गर्नुभन्दा प्रभावित क्षेत्रका लागि योजना बनाउन सक्छन् । काठमाडौंको जुलुसभन्दा जाजरकोट र रुकुम पश्चिममा स्वयंसेवक परिचालन गरेर देखाए हुन्थ्यो । त्यसले सकारात्मक सन्देश जान्थ्यो । देशको प्राथमिकतामा जाजरकोट र रुकुम पश्चिमको समस्या परेको देखिएन । मैले विश्वासको मत दिएको प्रधानमन्त्रीको प्रशंसा सुन्न पाइयोस्, पीडितहरूले सरकारबाट हामीले धेरै सहयोग पाएका छौँ भनेको सुन्न पाइयोस् भन्ने मेरो अपेक्षा हो । अरू दललाई पनि मेरो आग्रह– यो वेला अरू कुरामा नलागौँ । दलहरूको धेरै ठूलो सञ्जाल छ, त्यसलाई श्रमदानमा परिचालन गरौँ । राजनीतिमा अविश्वास बढेको यो वेला राजनीतिक दलमा विश्वास बढाउने वातावरण पनि बनाउन सकिन्छ । 

प्रभावित क्षेत्रका ९० प्रतिशत संरचना कामै नलाग्ने छन् । सरकारले छुट्याउने भनेको तीन–चार लाखले त्यस क्षेत्रमा घर बन्ने अवस्था छैन । यही रकममा घर बनाउने हो भने सरकारले प्राविधिक सहयोग उपलब्ध गराउनुपर्छ । 

(भूकम्प प्रभावित जाजरकोटमा कांग्रेस टोलीको नेतृत्व गरी श्रमदान गरेर फर्किएका कांग्रेस केन्द्रीय सदस्य तथा सांसद पौडेलले नयाँ पत्रिकाका केशवप्रसाद पाण्डेसँग गरेको कुराकानीमा आधारित)
 

ad
ad
ad
ad