Skip This
चिसोले ज्यान गुमाउने भूकम्पपीडित १५ पुगे, सुत्केरी र वृद्धाको पालमुनि नै गयो ज्यान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १२ मंगलबार
  • Tuesday, 08 October, 2024
भूकम्पले घरमा क्षति गरेपछि रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ चाइनाबगरमा बस्नका लागि बनाइएका पालका टहरा
मनीष खड्का रुकुम पश्चिम
२o८o मङ्सिर १२ मंगलबार o६:२९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चिसोले ज्यान गुमाउने भूकम्पपीडित १५ पुगे, सुत्केरी र वृद्धाको पालमुनि नै गयो ज्यान

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८o मङ्सिर १२ मंगलबार o६:२९:oo

चिसोबाट थप दुई भूकम्पपीडितको ज्यान गएको छ । जाजरकोटको नलगाड नगरपालिका– ८ सिमकी २५ वर्षीया सुत्केरी शर्मिला विक चदाराको शनिबार र  रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ जंगलगाउँकी ६२ वर्षीया नन्दकली पुनको आइतबार मृत्यु भएको हो । यससँगै चिसोले ज्यान गुमाउने पीडितको संख्या १५ पुगेको छ । 

नलगाड नगरपालिकाको न्यायिक समिति सदस्य हरिबहादुर शाहीका अनुसार ८ कात्तिकमा  प्रादेशिक अस्पताल सुर्खेतमा सुत्केरी भएकी शर्मिला डिस्चार्ज भएर शुक्रबार घर फर्किएकी थिइन् । पालमुनि बसेकी उनको शनिबार मध्यराति मृत्यु भएको शाहीले बताए । ‘शर्मिलालाई सुत्केरी भएको एक महिनासम्म प्रदेश अस्पतालमै राखिएको थियो । अस्पतालले डिस्चार्ज गरेपछि एम्बुलेन्समार्फत घर पुर्‍याए पनि पालमुनि चिसोमा सुत्नुपर्‍यो, राति १ बजेतिर मृत्यु भयो,’ शर्मिलाका श्रीमान् दिनेशलाई उद्धृत गर्दै शाहीले भने । 

शर्मिलाले एक छोरा र एक छोरीलाई जन्म दिए पनि स्वास्थ्यकर्मीले छोरालाई मृत घोषणा गरेका थिए । छोरीको स्वास्थ्य अवस्था भने सामान्य रहेको शाहीले बताए । आमाको ज्यान गएपछि शिशुलाई पाउडर दूध खुवाउन थालिएको छ ।  

त्यस्तै, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ जंगलगाउँकी ६२ वर्षीया नन्दकलीको आइतबार मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताए । भूकम्पले घर बस्न नमिल्ने गरी चर्किएपछि उनी पालमा बस्दै आएकी थिइन् । 

मिर्गौलापीडित नन्दकली प्रादेशिक अस्पताल सुर्खेतमा डायलाइसिस गराइरहेकी थिइन् । पछिल्लोपटक अस्पतालले तिहारताका डायलाइसिसका लागि बोलाए पनि जान सकेकी थिइनन् । उपचार अभाव तथा चिसोका कारण उनको ज्यान गएको वडाध्यक्ष पुनको भनाइ छ । 

१७ कात्तिकको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ६२ हजार घर भत्काएपछि यहाँका बासिन्दा घरबाहिर त्रिपालमुनि बस्दै आएका छन् । मंसिरको चिसोमा त्रिपालले थेग्न नसकेपछि भूकम्पपीडित बिरामी पर्न थालेका छन् । दुई जिल्लामा अहिलेसम्म १५ जनाले ज्यान नै गुमाएका छन् । जाजरकोटमा १२ र रुकुम पश्चिममा तीनजनाले ज्यान गुमाएका हुन् ।

रुकुम पश्चिममा नन्दकली पुनसँगै आठबिसकोट नगरपालिका– ११ की ८० वर्षीया पद्मी ओली र सोही वडाका ७० वर्षीय दत्ते कामीको ज्यान गएको हो । ओलीको ५ मंसिर र कामीको ३० कात्तिकमा ज्यान गएको हो ।

जाजरकोटमा शर्मिला विकसँगै भेरी नगरपालिका– २ का हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुता, नलगाड नगरपालिका– ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, जुनीचाँदे गाउँपालिका– ४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली र बारेकोट गाउँपालिका– १ रामीडाँडाका ७० वर्षीय डुमे पुनको ज्यान गएको छ । त्यस्तै, छेडागाड नगरपालिका– १३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, ४८ वर्षीया पम्फा रावल तथा कुसे गाउँपालिका– ५ की ६५ वर्षीया देवी मल्ल र वडा नम्बर ६ का ५५ वर्षीय गथु शाहीको ज्यान गएको सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिले जनाएका छन् ।