१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १५:५४:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भोटखोलाको स्वास्थ्य शिविरबाट १२ सयभन्दा बढी नागरिक लाभान्वित

Read Time : > 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १५:५४:oo

संखुवासभाको दुर्गम क्षेत्र भोटखोला गाउँपालिकामा आयोजित विशेषज्ञसहित स्वास्थ्य शिविरमा एक हजार दुई सय ४८ सेवाग्राही लाभान्वित भएका छन्।

भोटखोला गाउँपालिकाको आयोजनामा चेपुवा लिङगाम बजार र गोला बजारमा दुई–दुई दिन विशेषज्ञसहितको स्वास्थ्य शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए। उनले जिल्लाको उत्तरी दुर्गम क्षेत्रमा पर्ने भोटखोला गाउँपालिकामा स्वास्थ्यको दृष्टिकोणबाट धेरै पिछडिएकाले पालिकाले नै स्वास्थ्य शिविर आयोजना गरेको बताए।

यही मंसिर ६ र ७ गते चेपुवाको लिंगाममा तथा ८ र ९ गते गोलाबजारमा शिविर सञ्चालन गरिएको हो। भोटखोला गाउँपालिकाका स्वास्थ्य संयोजक फुर्पु भोटेले सो स्वास्थ्य शिविरमा एक हजार दुई सय ४८ जनाले सेवा लिएका बताए। उनका अनुसार, लिङगाममा तीन सय दुई महिला र तीन सय १२ पुरुष गरी पाँच सय  १४ जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो भने गोलामा तीन सय ७६ महिला र दुई सय ५८ पुरुष गरी ६ सय ३४ जनाको स्वास्थ्य चेकजाँच तथा उपचार गरिएको थियो।

शिविरमा सामान्य चेकजाँचसहित इसिजी, नाक, कान, घाँटी, स्त्रीरोग, बालरोग र मुटुरोगको समेत चेकजाँच गरिएको थियो। स्वास्थ्य संयोजक भोटेको अनुसार शिविरमा चेकजाँच गर्दा चारजना मुटुरोगीको तत्कालै अप्रेसन गर्नुपर्ने भएकाले विशेषज्ञ चिकित्सकले काठमाडौं बोलाएका छन्।

त्यसैगरी १४ जना बालबालिकाको जिब्राेको अप्रेसन गर्नुपर्ने देखिएको छ भने नाक, कान र घाँटीको समस्या भएका ३२ जना, ६ जना बच्चाको कान र घाँटीको समस्या र ६६ जनालाई राति सुत्न गाह्रो हुने समस्या देखिएको छ।

पालिका आफैँले स्वास्थ्य शिविरको आयोजना गरेकाले स्वास्थ्यमा पहुँचबाट टाढा रहेका भोटखोलावासीले धेरै लाभ लिएका गोलाका स्थानीय युवा मनोज गुरुङले बताए। उनले स्थानीय सरकारले स्वास्थ्य र शिक्षाको क्षेत्रमा सुविधा दिए आमनागरिक स्वस्थ र शिक्षित रहने बताए।

शिविरमा भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको प्राविधिक सहयोग रहेको थियो भने विपन्नका लागि स्वास्थ्य नेपाल र घुन्सा फाउन्डेसनले सहयोग गरेका थिए।

चीनसँग सिमाना जोडिएको विकट भोटखोला गाउँपालिका कुल ६ हजार पाँच सय ७६ जनसंख्या रहेको छ। सदरमुकाम खाँदबारीदेखि एक सय ६२ किलाेमिटरकाे दूरीमा किमाथांका रहेको छ। सदरमुकाम खाँदबारीदेखि ८० किलाेमिटर बरुण दोभानसम्म मात्रै कच्ची सडकले छोएको छ। सुविधासम्पन्न अस्पताल नहुँदा यो क्षेत्रमा मानिसहरू बर्सेनि विभिन्न चोटपटक र दुर्घटनाबाट अकालमा ज्यान गुमाउन बाध्य छन्।