१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
तस्बिर : एपी
रासस ढाका
Invalid date format १५:१५:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेशमा आमनिर्वाचनअघि ‘हिंसात्मक’ कारबाही, हजारौँ नागरिक पक्राउ

Read Time : > 1 मिनेट
रासस, ढाका
नयाँ पत्रिका
Invalid date format १५:१५:oo

बंगलादेश सरकारले आमनिर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’का लागि विपक्षी दलहरूमाथि व्यापक र हिंसात्मक कारबाही सुरु गरेको ह्युमन राइट्स वाच (एचआरडब्लू)ले सोमबार बताएको छ। उक्त संस्थाका अनुसार कारबाहीका क्रममा करिब १० हजार कार्यकर्ता पक्राउ परेका छन्।

पक्राउ परेका हजारौँका साथै प्रमुख प्रतिपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का धेरैले पनि आरोपको सामना गर्नुपरेको छ। बिएनपीलाई उद्धृत गर्दै उसका ५० लाख सदस्यमध्ये करिब आधाले ‘राजनीतिक प्रेरित अभियोगको सामना गर्नुपरिरहेको’ एचआरडब्लूले उल्लेख गरेको छ। 

‘वरिष्ठस्तरदेखि तल्लोस्तरसम्म कसैलाई नछाडी पक्राउ गरिएको छ,’ बिएनपीका एक कार्यकर्ताले एचआरडब्लूलाई भने। अधिकार समूहले कारागारहरूमा अहिले क्षमताको दुई गुणाभन्दा धेरैलाई राखिएको बताएका छन्।

करिब १७ करोड जनसंख्या भएको बंगलादेशमा आगामी जनवरी ७ मा आमनिर्वाचन हुँदै छ। उक्त निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको ध्यान सत्तामा लगातार चौथो कार्यकाल पूरा गर्नेतर्फ रहेको छ।

बिएनपी तथा अन्य दलहरूले ठूलो स्तरमा विरोध प्रदर्शन गरेर हसिनालाई सत्ता छाड्न र स्वतन्त्र सरकारमार्फत निर्वाचनको माग गरेका छन्। सरकारले ती मागलाई असंवैधानिक भन्दै अस्वीकार गरेको छ।

‘बंगलादेश अधिकारीहरूले विपक्षीलाई समाप्त गर्न र आमनिर्वाचनभन्दा अघि प्रतिस्पर्धा हटाउने स्पष्ट प्रयासमा राजनीतिक विरोधीहरूलाई सामूहिक पक्राउ गरिरहेका छन्,’ न्युयोर्कस्थित एचआरडब्लूले भनेको छ, ‘यो हिंसात्मक निरंकुश कारबाही हो।’ अक्टोबरमा विरोध प्रदर्शन बढेपछि दुई प्रहरी अधिकारीसहित कम्तीमा १६ जनाको मृत्यु भएको र पाँच हजार पाँच सयभन्दा धेरै घाइते भएका बताइएको छ।

एचआरडब्लूको प्रतिवेदनमाथि सरकारका तर्फबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन। तर, अधिकारीहरूले पक्राउ परेकाहरूले विभिन्न हिंसात्मक अपराधका लागि न्यायको सामना गर्नुपर्ने बताएका छन्।

कति मानिसलाई पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले केही बताएको छैन। अक्टोबर २९ देखि भएको देशव्यापी हडताल र यातायात नाकाबन्दीका क्रममा विपक्षीहरूले अधिकांश बससहित करिब दुई सय ९० सवारी जलाएको प्रहरीले आरोप लगाएको छ। हिंसामा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ।

धेरै प्रत्यक्षदर्शीसँगको अन्तर्वार्ताका साथै भिडियो र प्रहरी रिपोर्टको विश्लेषणका आधारमा एचआरडब्लूले आफ्नो प्रतिवेदन तयार गरेको बताएको छ। ‘अत्यधिक बल प्रयोग, ठूलो मात्रामा मनोमानी ढंगले पक्राउ, जबर्जस्ती बेपत्ता, यातना र गैरन्यायिक हत्याका लागि सुरक्षा बल जिम्मेवार रहेको प्रमाण प्राप्त भएको छ,’ प्रतिवेदनमा भनिएको छ।

बंगलादेश विश्वको सबैभन्दा ठूलो तयारी पोसाक निर्यातकर्ता मुलुकमध्येको एक हो। उसको ५५ अर्ब अमेरिकी डलरको कुल निर्यातमा तयारी पोसाकको करिब ८५ प्रतिशत योगदान रहेको छ। धेरै वैश्विक ब्रान्डहरूले बंगलादेशका कारखानाहरूबाट तयारी पोसाक खरिद गर्दछन्।

‘कारबाहीले आर्थिक सहयोग जोखिममा पर्छ भनेर कूटनीतिक साझेदारहरूले स्पष्ट पार्नुपर्छ,’ एचआरडब्लूले भनेको छ। एचआरडब्लूको वरिष्ठ एसिया शोधकर्ता जुलिया ब्लेकनरले यस्तो अवस्थामा विश्वसनीय निर्वाचन हुन नसक्ने बताइन्। ‘सरकारले स्वतन्त्र अभिव्यक्तिलाई दबाउने, स्वेच्छाचारी ढंगले पक्राउ गर्ने, जबर्जस्ती बेपत्ता बनाउने, उत्पीडन र धम्कीको माध्यमबाट विपक्षी, आलोचकहरू र कार्यकर्ताहरूलाई व्यवस्थित रूपमा अक्षम बनाउँछ भने स्वतन्त्र निर्वाचन असम्भव छ,’ उनले भनिन्।

अक्टोबरदेखि अहिलेसम्म कम्तीमा १६ हजार ६ सय २५ सदस्यलाई पक्राउ गरिएको बिएनपीले आइतबार बताएको छ। तीमध्ये अधिकांश नेतृत्वलाई पक्राउ गरिएको छ। विशेष रूपमा बिएनपीका प्रमुख मिर्जा फखरुल इस्लाम आलमगिरलाई पक्राउ गरिएको छ।

‘बंगलादेशले मुलुकको इतिहासमा विपक्षीमाथि यति ठूलो कारबाही देखेको छैन,’ बिएनपीका प्रवक्ता एकेएम वहिदुज्जमानले एएफपीलाई भने, ‘पूरै देशमा त्रास फैलिएको छ।’