मकवानपुर प्रहरीले हेटौँडामा आइतबार ६ किलो लागुऔषध गाँजासहित एक युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ३, लौरीचोककी २० वर्षीया सरिता लामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार लामालाई आइतबार बिहान ४ बजेर ५० मिनेटको समयमा हेटौँडा–१०, बसपार्कबाट पक्राउ गरिएको हो।
बसपार्कमा रहेको स्थायी प्रहरी पोस्टबाट खटिएको प्रहरी टोलीले धनगढीबाट काँकडभिट्टाका लागि छुटेको रात्रि बसबाट लामालाई नियन्त्रणमा लिएको प्रवक्ता भण्डारीले जानकारी दिए।
प्रदेश १–०१–००१ ख ३४११ नम्बरको यात्रुबाहक बसलाई रोकी सुरक्षाजाँच गर्ने क्रममा बसमा सवार सरिताले बोकेको जेब्रा झोलाभित्रबाट प्रहरीले ६ किलो गाँजा बरामद गरेको हो। गाँजासहित सरितालाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान थालिएको प्रवक्ता भण्डारीले जानकारी दिए।