१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १३:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा पक्राउ कार्यकर्ता रिहाइको माग गर्दै राप्रपाद्वारा कञ्चनपुर बन्द

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १३:४६:oo

सहिद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शनिबार कञ्चनपुर बन्द गरेको छ।

शुक्रबार राप्रपा कञ्चनपुरको अगुवाइमा धर्मनिरपेक्षता र गणतन्त्रविरुद्धमा महेन्द्रनगरमा विरोध प्रदर्शन भएको थियो। सो क्रममा राप्रपाका केही नेता-कार्यकर्ताहरूले राजाका पालामा बनेको पार्कभित्र भीमदत्त पन्तको सालिक राखिएको भन्दै सालिक तोडफोड गरेका थिए।

तोडफोडका संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका नेता- कार्यकर्तालाई विनासर्त रिहाइको माग राख्दै राप्रपाले शनिबारदेखि कञ्चनपुर बन्द गरेको छ।

बन्दका कारण महेन्द्रनगरका उद्योगी, व्यवसायी मारमा परेका छन्। केही यातायात भने चलिरहेकै छन्। जिल्ला बन्द भने पनि महेन्द्रनगर बजार क्षेत्रबाहेक जिल्लाका अन्य क्षेत्रमा जनजीवन सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ।

राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्रबहादुर चन्दले पक्राउ परेका नेता-कार्यकर्ता रिहाइ नगर्दासम्म आन्दोलन जारी राख्ने बताएका छन्। अध्यक्ष चन्दले इतिहास मेट्ने काम भएकाले त्यसको प्रतिवाद गर्दा छापामार शैलीमा नेता-कार्यकर्ता पक्राउ गरिएको भन्दै आपत्ति जनाए।

अध्यक्ष चन्दले पक्राउ परेका नेता-कार्यकर्तालाई विनासर्त रिहा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

सहिद भीमदत्त पन्तको सालिक तोडफोड गरेको आरोपमा प्रहरीले सुरुमा नरेश कार्कीसहित तीनजनालाई पक्राउ गरेको थियो। पक्राउ परेका कार्यकर्ता छुटाउन जाँदा थप १५ जना पक्राउ परेका हुन्।

पक्राउ पर्ने अन्यमा राप्रपा कञ्चनपुरका जिल्ला सचिव शिशिर थापा, कोषाध्यक्ष दिनेश श्रेष्ठ, महिला नेतृ हेलेन श्रेष्ठ, लक्ष्मी मल्ल, विद्यार्थी नेता प्रेम रावल, आकाश जोशी, विनोद चन्द, कृष्णबहादुर चन्द, रमेश बाग, कमलेशसिंह ठकुरी, भूपेन्द्रराज पन्त, मोहितप्रसाद पन्त, उपदेश सिंह, विराट विष्ट, कमल चन्द, सुजल खड्का, विवेक चन्द (ठकुरी) रहेका छन्।

कञ्चनपुरका प्रहरी प्रमुुख कमल थापाका अनुसार उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी थालिएको छ। अनुमतिविनै स्थानीय भीमदत्त बाटिका पार्कभित्र प्रवेश गरी उच्छृंखल गतिविधि गरेर सहिदको सालिक तोडफोड गर्ने कार्यविरुद्धमा प्रहरीले कार्बाही गर्ने जनाएको छ।

एमाले, माओवादी र नेकपा विप्लव कञ्चनपुरले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै सहिद भीमदत्त पन्तको सालिक तोडफोड गर्ने अराजक तत्वमाथि कानुनी कार्बाहीको माग अघि सारेका छन्।